हल्यान्ड ताक्नेलाई ठूलो झट्का : डर्टमुन्डले तोक्यो महँगो ‘रिलिज क्लज’ !

एजेन्सी, चैत १४

जर्मन क्लब बोरुसिया डर्टमुन्डले आफ्ना स्टार फरवार्ड अर्लिङ हल्यान्डका लागि महँगो रिलिज क्लज तोकेको छ । आफ्ना खेलाडीमाथि युरोपका ठूला क्लबहरूले लगातार नजर लगाएपछि डर्टमुन्डले २० वर्षीय फरवार्डका लागि निकै महँगो १८० मिलियन युरो रिलिज क्लब तोकेको हो । चर्चित खेल सञ्चार संस्था ‘इएसपिएन’का अनुसार रिलिज क्लज पूरा गर्न तयार क्लब र उनीहरूको प्रस्तावमाथि अब डर्टमुन्ड छलफल गर्न खुला भएको छ । अब नर्वेका हल्यान्डलाई अनुबन्ध गर्न कुनै पनि क्लबले १८० मिलियन युरो तिर्नुपर्नेछ ।

यसअघि डर्टमुन्डका खेल निर्देशक सेबासटिएन केहलले एक अन्तर्वार्तामा कुरा गर्दै हल्यान्ड अब २५० मिलियन युरो मूल्यका खेलाडी भएको बताएका थिए । तर, डर्टमुन्ड अब आफ्ना खेलाडीलाई १८० मिलियन युरोसम्ममा छाड्न तयार भएको छ । यो मूल्य पनि हल्यान्डका लागि धेरै नै महँगो हो । किनभने, ‘ट्रान्सफर मार्केट’का अनुसार हल्यान्डको हालको मार्केट भ्यालु ११० मिलियन युरो मात्रै रहेको छ । तर, डर्टमुन्डले भने त्यो भन्दा ७० मिलियन बढी रकमसहित रिलिज क्लज कायम गरेको हो ।

‘इएसपिएन’ले हल्यान्डलाई नबेच्ने सोचका साथ डर्टमुन्डले महँगो मूल्य तोकेको हो । किनभने, डर्टमुन्ड हल्यान्डलाई बेच्न चाहँदैन । यदि बेच्नु परे पनि उसले सकेसम्म महँगो मूल्य लिन प्रयास गर्नेछ । गत वर्ष जाडोन सान्चोको केसमा पनि डर्टमुन्डले यस्तै गरेको हो । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले सान्चोमाथि चासो देखाएपछि डर्टमुन्डले इंग्लिस प्ले मेकरका लागि १२० मिलियन युरो रिलिज क्लज तोकेको थिए । जुन रकम तिर्न क्लबहरू तयार भएनन् । सान्चो अहिले पनि डर्टमुन्डमै रहेका छन् ।

कोरोना भाइरस महामारी र त्यसबाट उत्पन्न आर्थिक संकटबीच अहिलेकै स्थितिमा युरोपका जस्तै धनी र ठूला क्लबले पनि डर्टमुन्डले कायम गरेको १८० मिलियन युरोको रिलिज क्लज तिरेर हल्यान्डलाई अनुबन्ध गर्न सक्ने स्थिति छैन । हल्यान्डमाथि स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना जोडदार रूपमा लागेका छन् । त्यसैगरी, इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि हल्यान्डलाई चाहेको चर्चा छ । यी सबैभन्दा अगाडि बार्सिलोना रहेको छ । बार्सिलोनाका नयाँ अध्यक्ष जोन लापोर्टाले त हल्यान्डलाई ऋण काडेर भए पनि भित्र्याउने बताउँदै आएका छन् ।

गत समर सिजनमा अस्ट्रियन क्लब रेड बुल साल्जवर्गबाट हल्यान्ड २३ मिलियन युरोमा डर्टमुन्डमा अनुबन्ध भएका थिए । डर्टमुन्ड पुगेदेखि नै हल्यान्डले शानदार लयमा खेलिरहेका छन् । उनले हालसम्म सो क्लबका लागि कूल ४९ खेलबाट ४९ नै गोल गरेका छन् । जारी सिजन मात्रै उनले ३१ खेलबाट ३३ गोल र ५ गोलमा असिस्ट प्रदान गरेका छन् । वर्तमान समयमा २० वर्षका हल्यान्ड सबैभन्दा उच्च मार्केट भ्यालु भएका खेलाडीमध्ये एक हुन् । उनीभन्दा अघि फ्रेन्च क्लब पिएसजीका केलियन एमबाप्पे रहेका छन् । उनको मार्केट भ्यालु १८० मिलियन युरो रहेको छ ।

प्रकाशित मिति १४ चैत्र २०७७, शनिबार ०४:४७
Loading...