कतार विश्वकप छनौट : पोर्चुगल आज दोस्रो खेल सर्बियासँग खेल्दै

काठमाडौं, चैत १४

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत पोर्चुगलले आज आफ्नो दोस्रो खेल खेल्दै छ । यो खेलका लागि ऊ सर्बियासँग उसकै भूमिमा उत्रिँदैछ । खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट रेड स्टार रंगशालामा सुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई इटालियन क्लब युभेन्टसको घरेलु मैदानमा १–० ले हराइसकेको छ । सो खेलमा पोर्चुगलले उपहार गोलको मदतमा कठिन जित निकालेको थियो । त्यसपछि उसले दोस्रो खेल आज राति खेल्न लागेको हो ।

तुलनात्मक रूपमा यसअघि पहिलो खेलमा कमजोर टोलीविरुद्ध फितलो प्रदर्शन गरेको पोर्चुगल आज अवे मैदानमा उत्रिँदा उत्कृष्ट प्रदर्शन र उत्कृष्ट नतिजाको खोजीमा हुनेछ । पहिलो खेलमा देखिएको अभाव आज उसले सर्बियाविरुद्ध उसकै भूमिमा खेल्दा पूरा गर्न कोसिस गर्नेछ । पोर्चुगलका लागि यसअघिको अजरबैजानभन्दा सर्बिया तुलनात्मक रूपमा कठिन प्रतिस्पर्धी हो । घरेलु टोलीले आज पोर्चुगललाई कडा टक्कर दिने पक्का छ । यसअघि सर्बियाले भने आफ्नो घरमा आयरल्यान्डलाई ३–२ ले हराएको थियो । उसले लगातार दोस्रो खेल पनि आफ्नै भूमिमा खेल्न लागेको हो । फिफाको नयाँ वरीयतामा पोर्चुगल पाँचौं स्थानमा छ भने ३०औं स्थानमा रहेको छ ।

आज अवे मैदानमा उत्रिँदा प्रशिक्षक फर्नान्डो सान्तोषले पहिलो रोजाइको टोली उतार्ने सम्भावना छ । यसअघि केही मुख्य खेलाडीलाई बेन्चमा राखिएको थियो । आज कप्तान रोनाल्डो, बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज र जुआओ फेलिक्स सहितका खेलाडीले सुरुआत गर्ने सम्भावना छ । आजको खेलमा सर्बिया र पोर्चुगल दुवै लगातार दोस्रो जितको खोजीमा हुँदा यो खेल निकै रोमाञ्चक हुने पक्का छ ।

प्रकाशित मिति १४ चैत्र २०७७, शनिबार ०४:१५
Loading...