‘च्याम्पियन्स लिगमा रियल मड्रिडको ह्याट्रिक बार्सिलोनाका लागि ठूलो चोट’

एजेन्सी, चैत १३

स्पेनिस क्लब बार्सिलोनाले सन् २०१५ मा ट्रिबेल उपाधि जित्दा एक युरोपियन च्याम्पियन्स लिग पनि थियो । तर, जाभीको अन्तिम कप्तानी सिजनलाई शानदार बनाएको बार्सिलोनाले त्यसपछि पुनः च्याम्पियन्स लिग जित्न सकेको छैन । जित्नु त परकै कुरा, ऊ एकपटक पनि फाइनल पुग्न सकेको छैन । त्योभन्दा दुःख र पीडादायी कुरा त बार्सिलोना त्यसयता जतिपटक आउट भयो, हरेक पटक लज्जास्द हार भोग्दै आउट भयो । सिजन २०१५–१६ यता च्याम्पियन्स लिगमा बार्सिलोनाको रेकर्ड पल्टाउने हो भने निकै खराब, लज्जास्पद र कहालीलाग्दो देखिन्छ ।

जबकि, सोही अवधिमा बार्सिलोनाको खास प्रतिस्पर्धी रियल मड्रिडले त च्याम्पियन्स लिगमा सनसनीपूर्ण रूपमा ह्याट्रिक नै हान्यो । उसले २०१६, २०१७ र २०१८ मा लगातार तीन सिजन यो उपाधि जित्दा बार्सिलोनाले दुई सिजन ला लिगामा चित्त बुझायो भने एकपटक कोपा डेल रे कपमा मात्रै । बार्सिलोना लगातार च्याम्पियन्स लिगमा बेइज्जतीपूर्ण हार भोग्दै आउट हुँदै गर्दा आफ्नो खास प्रतिस्पर्धी रियलले लगातार तीन सिजन युरोपकै ठूलो उपाधि जित्नु बार्सिलोनाका लागि ‘ठूलो चोट र यातना’ भएको बार्सिलोनाकै पूर्वकप्तान कार्लेस पुयोलले बताएका छन् । उनले हालसालै एक अन्तर्वार्तामा कुरा गर्दै यस्तो भनाइ राखेका हुन् ।

‘२०१५ पछि बार्सिलोनाका लागि च्याम्पियन्स लिग निकै खराब रह्यो । म त यसलाई खराब भन्दा पनि पीडादायी र अपमानजनक भन्छु । किनभने, बार्सिलोना यी ६ वर्षमा जसरी हरेकपटक लज्जास्पद तरिकाले प्रतियोगिताबाट आउट हुँदै थियो, त्यही बेला रियल मड्रिड ह्याट्रिक उपाधि जित्दै थियोे । युरोपको ठूलो उपाधिमा रियलले ह्याट्रिक गर्नु बार्सिलोनाका लागि ठूलो चोट र यातना थियो,’ पुयोलले भनेका छन्, ‘६ वर्ष बित्दै गर्दा बार्सिलोना आज पनि त्यही खराब समयसँग जुधिरहेको छ । रियल मड्रिड अर्को उपाधितर्फ अघि बढेको छ ।’

पुयोलले यसपटक पनि रियलले च्याम्पियन्स लिग जिते आफू आश्चार्यमा नपर्ने बताएका छन् । ‘रियल मड्रिडसँग अहिले क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलहरू छैनन् । तैपनि, उनीहरूसँग मजबुत टोली छ । र, त्यो टोलीसँग च्याम्पियन्स लिग कसरी खेल्नुपर्छ र कसरी जत्नुपर्छ भन्ने धेरै राम्रो अनभुव छ । उनीहरू सबथोक हारेर पनि यो उपाधि जित्न मन पराउँछन् । यदि रियलले यसपटक पनि यो उपाधि जिते म आश्चार्यमा पर्नेछैन,’ पुयोलले भने, ‘उनीहरूसँग जिदानजस्ता राम्रा कोच छन्, रामोसजस्ता कमान्डर कप्तान छन् । म अझै पनि रियल मड्रिडको प्रतिस्पर्धी हुँ हिजो खेलाडी हुँदाजस्तै । तर, उनीहरूले च्याम्पियन्स लिगमा जे प्राप्त गरेका छन्, त्यो सधैं उच्च सम्मानका निम्ति लायक छ ।’

पुयोलले बार्सिलोनाजस्तो क्लबले ६ वर्षसम्म च्याम्यिन्स लिगको फाइनल पनि नपुग्नु नसुहाउने कुरा रहेको बताए । टोलीमा लिओनल मेस्सीजस्ता महान् खेलाडी भए पनि च्याम्पियन्स लिगमा पछिल्ला सिजनहरू बिर्सनालायक रहेको उनले बताए । ‘लियोजस्ता विश्वकै उत्कृष्ट खेलाडी भएको क्लब ६ वर्षमा एकपटक पनि च्याम्पियन्स लिगको फाइनल पुग्न सक्दैन भने यो नसुहाउने कुरा हो । म आशा राख्छु– नयाँ सिजन बार्सिलोनाले टोलीलाई नयाँ ढंगले बनाउनेछ । र, च्याम्पियन्स लिगको खुसी फर्काउनेछ,’ पुयोलले भने ।

प्रकाशित मिति १३ चैत्र २०७७, शुक्रबार १६:१६
Loading...