‘मार्का’ भन्छ– एक अवस्थामा मात्रै रियलले रोनाल्डो फर्काउँछ

एजेन्सी, चैत १३

स्पेनिस क्लब रियल मड्रिडले आगामी समर सिजनमा पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोलाई एक फरक अवस्थामा मात्रै पुनः फर्काउने सम्भावना देखिएको छ । रियल मड्रिड निकट पत्रिका ‘मार्का’मा प्रकाशित रिपोर्टअनुसार यदि समर सिजनमा रियलले चाहेका प्रमुख युवा खेलाडी अनुबन्ध गर्न नसके रोनाल्डो फर्काउने योजनालाई ‘प्लान सी’ मा रियलले राख्नेछ । समर ट्रान्सफरमा रियलले फ्रेन्च क्लब पिएसजीका केलियन एमबाप्पे र जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्डमध्ये एक खेलाडी अनुबन्ध गर्न चाहेको छ । तर, रियलका लागि यी दुईमध्ये कुनै एक खेलाडी भित्र्याउन पनि आर्थिक हिसाबले सजिलो भने छैन ।

रिपोर्टअनुसार रियल मड्रिडको पहिलो प्राथमिकतामा २२ वर्षीय युवा खेलाडी एमबाप्पे छन् । लामो समयदेखि रियल मड्रिडसँग जोडिँदै आएका उनलाई रियलले नयाँ सिजनका लागि योजनामा राखेको छ । यदि उनलाई भित्र्याउन नसकिने अवस्थामा रियलको ‘प्लान बी’मा भने डर्टमुन्डका २० वर्षीय गोल मेसिस खेलाडी हल्यान्ड रहेका छन् । हल्यान्डलाई रियलकै कट्टर प्रतिस्पर्धी बार्सिलोनाले समेत भित्र्याउन चाहेकाले रियल यसबाट शसंकित देखिएको छ । तर, एमबाप्पे अनुबन्ध गर्न सके रियल हल्यान्ड गुमाउन तयार देखिन्छ । किनभने, रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको रोजाइमा सबैभन्दा पहिला एमबाप्पे रहेका छन् ।

यदि समरमा यी दुईमध्ये कुनै एक खेलाडी अनुबन्ध गर्न नसक्ने स्थितिमा भने रियलले तेस्रो विकल्पमा पूर्वखेलाडी रोनाल्डोको फिर्तीलाई स्वीकार्ने सम्भावना छ, त्यो पनि पहिलाको भन्दा तलब कटौती गरेर । हल्यान्ड र एमबाप्पे अनुबन्धलाई रियलले सफल बनाउन नसके त्यो बेला रोनाल्डो रियल फर्किने बाटो सजिलो गरी खुला हुने धेरैको विश्लेषण पनि छ । रोनाल्डो यो सिजनपछि इटालियन युभेन्टस छाडेर स्पेन फर्किन इच्छुक रहेका छन् । उनी सन् २०१८ मा रियलबाट ११६ मिलियन युरोमा युभेन्टस गएका थिए ।

प्रकाशित मिति १३ चैत्र २०७७, शुक्रबार १५:०६
Loading...