‘फेरि च्याम्पियन्स लिग जित्ने भए’ यी तीन खेलाडी भित्र्याउन बार्सिलोनालाई पुयोलको सुझाव

एजेन्सी, चैत १३

स्पेनिस फुटबल क्लब बार्सिलोनाले सन् २०१५ मा च्याम्पियन्स लिग जितेयता पुनः यो उपाधि जित्न सकेको छैन । पछिल्ला ६ वर्षमा ऊ एकपटक पनि फाइनल पुग्न सकेको छैन । त्योभन्दा ठूलो कुरा त बार्सिलोनायी ६ वर्षमा हरेकपटक बेइज्जतीपूर्ण हार भोग्दै आउट भएको छ । पछिल्लो ६ वर्ष बार्सिलोना ५–२, ८–२, ४–० र ३–०, ३–० र २–० को अन्तरमा पराजित हुँदै आउट भएको छ । युरोपकै सबैभन्दा ठूलो प्रतियोगिता जित्न नसकिरहेका बेला पूर्वकप्तान कार्लेस पुयोलले क्लबको बोर्डलाई केही खेलाडी भित्र्याउन सुझाव दिएका छन् । यदि च्याम्पियन्स लिगको रौनक र खुसी क्याम्प नोउमा फर्काउने भए राम्रा खेलाडी खेलाडीमा लगानी गर्नुपर्ने बताएका छन् ।

हालसालै एक अन्तर्वार्तामा कुरा गर्दै बार्सिलोनाका लिजेन्ड खेलाडी समेत रहेका पुयोलले पछिल्ला वर्ष टोलीमा देखिएको समस्या र अभावको गम्भीरतापूर्वक अध्यन गरेर खेलाडी अनुबन्धमा उचित निर्णय लिनुपर्ने बताएका छन् । बार्सिलोनाले पछिल्ला वर्ष खेलाडी किन्न र बेच्नमा परिपक्व निर्णय गर्न नसक्दा सोचेअनुसार उपलब्धि प्राप्त हुन नसकेको पुयोलले बताए । ‘पछिल्ला ३–४ वर्ष खेलाडी किनबेचमा क्लबले गरेका कामलाई मैले नजिकबाट नियालिरहेको छु । यसक्रममा बोर्डले पटक–पटक अपरिपक्क निर्णय गर्दै आयो । खेलाडीका लागि ठूलो लगानी गरियो । तर, त्यसअनुसार सफलता प्राप्त भएन । ठीक त्यही समयमा रियल मड्रिडले पुरानै टोलीका साथ च्याम्पियन्स लिगमा ह्याट्रिक उपाधि जित्यो । बार्सिलोनाले यसबाट पाठ सिक्न सकेन,’ पुयोलले भने ।

च्याम्पियन्स लिगमा लगातारको असफलता अन्त्य गर्न आगामी समरमा क्लबले केही राम्रा खेलाडी ल्याउनुपर्ने बताए । उनले ३ जना खेलाडीलाई प्राथमिकतासाथ अनुबन्ध गर्न सुझाव दिएका छन् । ‘आउने समर ट्रान्सफरमा कुन–कुन खेलाडीलाई बाहिर पठाउनुपर्छ र कस्ता खेलाडी अनुबन्ध गर्नुपर्छ भन्नेमा बोर्डले विवेक लगाउनुपर्छ । हाल टोलीमा रहेका केही खेलाडीलाई बाहिर पठाएर नयाँ बोर्डले नयाँ खेलाडीमा लगानी गर्नुपर्छ । यदि म बोर्डमा थिएँ भने अर्लिङ अल्यान्ड र लौटारो मार्टिनेजमध्ये एक, जोसुवा किमिच र माथिस डि लिग्टलाई सबैभन्दा पहिला साइन गर्थें । अनि मात्रै अरू । यी ३ खेलाडी बार्सिलानोलाई चाहिने खेलाडी हुन् । मेरो विचारमा हल्यान्डका लागि आर्थिक समस्या हुन्छ भने मार्टिनेज दोस्रो बेस्ट विकल्प हो ।’

पुयोलले भनेका हल्यान्ड जर्मन क्लब बोरुसिया डर्टमुन्ड र मार्टिनेज इटालियन इन्टर मिलानका खेलाडी हुन् भने किमिच बार्यन म्युनिखका । डि लिग्ट इटालियन युभेन्टसका हुन् । यीमध्ये बार्सिलोनाले अहिले पनि हल्यान्डलाई भने ताकिरहेको छ । तर, प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यान भने हल्यान्डको साटो फ्रेन्च क्लब लियोनका मेम्फिस डिपे र इंग्लिस क्लब लिभरपुलका जर्जिन्हो विज्नाल्डुममा चासो देखाइरहेका छन् । यी दुवै जना कोम्यानकै देश नेदरल्यान्ड्सका खेलाडी हुन् । कोम्यानले बार्सिलोना आएबाटै डिपेका लागि त पटक–पकट जोड दिँदै आएका छन् ।

पुयोलका अनुसार बार्सिलोनाले फ्रन्ट लाइनमा एकजना प्रतिभाशाली फरवार्ड र बाँकी डिफेन्समा सुधार गरे धेरै राम्रो हुने बताउँछन् । ‘बार्सिलोनाको मुख्य समस्या रक्षापंक्ति हो । राम्रा डिफेन्डर ल्याएर यसलाई ठीक पार्नुपर्छ । यसबाहेक फ्रन्ट लाइनमा एकजना गोलकर्ता राम्रा खेलाडी ल्याउन सके बार्सिलोना मजबुत टिम बन्छ । मिडफिल्ड त अहिले पनि राम्रो छ । यदि बार्यन म्युनिखका किमिच यहाँ आए भने बार्सिलोनाका लागि उनले धेरैथोक दिनेछन्,’ पुयोलले भने, ‘बोर्डले सकेसम्म सानो बजेटमा टोलीलाई बनाउने गरी सोच्नुपर्छ । ठूलो लगानीले मात्रै राम्रोे हुँदैन भन्ने यहाँ र अन्य क्लबमा पनि देखिएको छ ।’

प्रकाशित मिति १३ चैत्र २०७७, शुक्रबार ०८:३०
Loading...