रोनाल्डोको ‘बौद्धिक रणनीति’को प्रशिक्षकले गरे खुलासा : ‘बूढो भयो’ भन्नेलाई दिए जवाफ

एजेन्सी, चैत १३

पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक फर्नान्डो सान्तोषले आफ्ना मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डोको खेल शैलीबारे टिप्पणी गरेका छन् । टोलीका कप्तान समेत रहेका रोनाल्डोको मैदानमा आक्रामक खेल किन हुँदैन भन्ने विषयमा खुलाएका छन् । दुई महिनाअघि ३६औं जन्मनिद मनाएका रोनाल्डो पछिल्लो मैदानमा अन्य युवा खेलाडीजस्तो उच्च सक्रियतामा र आक्रामक तरिकाले नखेल्नुलाई उनको ‘बौद्धिक रणनीति’ भनेर कोचले भनेका छन् । कतिपयले ‘रोनाल्डो अब बूढो’ भयो भनेर भन्न थाल्दै गर्दा रोनाल्डोलाई उनी १७ वर्षको छँदादेखिन ै प्रशिक्षण दिएका सान्तोषले शान्त जवाफ दिएका छन् ।

दुई दिनअघि फिफा विश्वकपका लागि युरोपियन छनौट खेलअन्तर्गत पोर्चुगलले तुलनात्मक रूपमा कमजोर टोली अजरबैजानसँग फितलो प्रदर्शन गर्दा उपहारमा पाएको गोलको मदतमा १–० को साँघुरो जित निकाल्यो । सो खेलमा रोनाल्डोले कूल ६ पटक प्रहार गरे पनि गोल गर्न सकेनन् । अब पोर्चुगलले भोलि दोस्रो खेल सर्बियासँग उसकै घरमा खेल्दै छ । सो खेलअघि मिडियासँग कुरा गर्दै सान्तोषले रोनाल्डो अहिले मैदानमा आक्रामक शैलीको खेल खेल्नुभन्दा चोट र खराब फउलको खतराबाट बचेर खेलिरहेको बताए । मुखमा ठूला र महत्त्वपूर्ण खेल रहेकाले गम्भीर चोट लागिहाले मैदान फर्किन लामो समय पर्खिनुपर्दा महत्त्वपूर्ण प्रतियोगिता छुट्ने भएकाले रोनाल्डोले बौद्धिक रणनीतिसाथ खेलिरहेको सान्तोषले बताएका छन् ।

‘क्रिस्टियानो १७ वर्ष हुँदादेखि नै मैले उनलाई प्रशिक्षण दिएको छु । हामी एकअर्कालाई धेरै राम्रोसँग जान्दछौं । तपाईंहरू उनको बदलिँदो खेल शैलीको कुरा गरिरहनुभएको छ । यो त उनको बौद्धिक रणनीति हो । क्रिस्टियानो अहिले ३६ वर्षका भए । र, अगाडि महत्त्वपूर्ण प्रतियोगिता छन् । यस वर्ष युरो कप र अर्को वर्ष विश्वकप छ । करिअरको यस्तो समयमा उनी गम्भीर चोटबाट बच्नका लागि सचेत छन् । कुनै ठूलो चोट परे मैदान फर्किन वर्षौं लाग्न सक्छ । र, उनले महत्त्वपूर्ण प्रतियोगिता गुमाउनेछन् । त्यसैले चोटको खतराबाट बच्दै सधैं फिट रहेर टोलीलाई सघाउने सोचका साथ उनी ५–६ वर्षअघिको जस्तो वा भनौं युवाको जस्तो आक्रामक शैलीमा अहिले खेल्दैनन् । यो त उनको बौद्धिक रणनीति हो ।’

सान्तोषले अघि थपे, ‘म पनि यही चाहन्छु । उनी २०–२२ वर्षको जस्तो युवा अब होइनन् । उनी उमेरको एक खास विन्दुमा छन् । यो उमेरमा खेलाडी ठूलो चोटबाट पीडित बने करिअर नै लगभग सकिन्छ । र, क्रिस्टियानो यस्तो खतराबाट सकेसम्म बच्दै खेल्नुपर्छ । उनी नखेली मैदानबाहिर बस्न कहिल्यै चाहँदैनन् । पछिल्ला वर्ष उनले यही सोचका साथ खेलिरहेका छन् । यो राम्रो पनि हो । शारीरिक र प्राविधिक हिसाले आफूलाई सही तरिकाले व्यवस्थापन गरेर मैदानमा कसरी खेल्नुपर्छ भन्नेमा उनी आफैं जान्दछन् । चोट लागे लाग्छ निको भएर खेलौंला भनेर भन्नलाई ३५–३६ वर्षको खेलाडीसँग अब पर्खेर खेल्ने समय छैन नि !’

प्रकाशित मिति १३ चैत्र २०७७, शुक्रबार ०६:१०
Loading...