यी हुन् सर्वाधिक तलब खाने टप–५ खेलाडी र कोच : मेस्सी र सिमोनीको तलब पत्याउनै मुस्किल !

काठमाडौं, चैत १३

फ्रान्सको चर्चित पत्रिका ‘इल एकुइप’ले वर्तमान समयमा सर्वाधिक तलब खाने टप खेलाडी र प्रशिक्षकको नामावली प्रकाशित गरेको छ । सो तथ्यांकअनुसार स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी खेलाडीतर्फ सबैभन्दा धेरै तलब–भत्ता खाने खेलाडी देखिएका छन् । उनले एक वर्षमा जति कमाउँछन्, उनीपछिका दोस्रो स्थानमा रहेकाले यसको आधाभन्दा पनि कम कमाउँछन् । मेस्सीले अहिले पनि एक वर्षमा कूल १२६ मिलियन युरो कमाउँदै आएका छन्, जुन सबैभन्दा बढी हो । उनीपछि दोस्रो स्थानमा रहेका इटालियन युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको वार्षिक कमाइ निकै कम छ ।

रोनाल्डोको एक वर्षको कमाइ मात्रै ५४.३६ मिलियन युरो छ । यो मेस्सीको भन्दा ७१.६४ मिलियन कम हो । यसरी हेर्दा रोनाल्डोले एक वर्षमा जति कमाउँछन्, उनका खास प्रतिस्पर्धी मेस्सीले त्यसको दोब्बरभन्दा पनि बढी कमाउँछन् । सूचीको तेस्रो स्थानमा हाल फ्रेन्च क्लब पिएसजीमा रहेका ब्राजिलियन स्टार नेइमार छन् । उनले हाल एक वर्षमा कूल ३६.७ मिलियन युरो कमाइ गर्छन् । नेइमारको कमाइ रोनाल्डो र मेस्सीको भन्दा बहुतै कम छ । नेइमारले जति कमाउँछन्, मेस्सीले त उनको भन्दा करिब चार गुणा बढी कमाइ गछन् । यहाँ टप–५ कमाइ गर्ने खेलाडीको सूची छ–

१. लिओनल मेस्सी – १२६ मिलियन युरो
२. क्रिस्टियानो रोनाल्डो – ५४.३६ मिलियन युरो
३. नेइमार – ३६.७ मिलियन युरो
४. लुइस स्वारेज – ३४.८ मिलियन युरो
५. एन्टोनी ग्रीजम्यान – ३४.८ मिलियन युरो

यता, प्रशिक्षकतर्फ पनि सर्वाधिक कमाउनेको सूची प्रकाशित भएको छ । जसमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडका डिएगो सिमोनी सबैभन्दा अगाडि छन् । हालसम्म एथ्लेटिकोबाट कुनै पनि ठूला उपाधि जित्न नसकेका उनले एक वर्षमा ४३.२ मिलियन कमाइ गर्छन् । जबकि, रियल मड्रिडलाई तीन सिजनमा तीन पटक नै च्याम्पियन्स लिग जिताएका जिनेदिन जिदानको कमाइ भने मात्रै १६.८ मिलियन युरो छ । जिदान टप–५ को सबैभन्दा पुछारमा रहेका छन् । सिमोनीको कमाइ यो समयकै सबैभन्दा बेस्ट कोच मानिएका इंग्लिस क्लब म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाको भन्दा पनि दोब्बर नै बढी छ । हेरौं सूची–

१. डिएगो सिमोनी – ४३.२ मिलियन युरो
२. पेप ग्वार्डिओला – २२.६ मिलियन युरो
३. जोजे मोउरिन्हो – १७ मिलियन युरो
४. योर्गेन क्लोप – १७ मिलियन युरो
५. जिनेदिन जिदान – १६.८ मिलियन युरो

प्रकाशित मिति १३ चैत्र २०७७, शुक्रबार ०४:३५
Loading...