कतार विश्वकप छनौट : आइसल्यान्डमाथि जर्मनीको शानदार जित

काठमाडौं, चैत १३

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले प्रभावशाली जितका साथ छनौट यात्रामा सुखद् सुरुआत गरेको छ । गत राति भएको आफ्नो पहिलो खेलमा जर्मनीले पाहुना टोली आइसल्यान्डमाथि ३–० को शानदार जित निकालेको हो । आफ्नो भूमिमा भएको खेलमा जर्मनीलाई जिताउन ३ जना फरक–फरक खेलाडीले गोल गरे भने सर्जियो गेनाब्रीले २ र लिरोए सानेले १ गोलमा असिस्ट गरे ।

जर्मनीले खेलको दोस्रो मिनेटमै लियोन गोरेट्जाको गोलबाट अग्रता लिएको थियो । सो गोलमा गेनाब्रीले असिस्ट गरेका थिए । त्यसपछि सातौं मिनेटमा युवा खेलाडी काई हार्भट्जले गोल गरेर खेल २–० बनाए । सो गोलमा सानेले असिस्ट गरेका थिए । त्यसपछि तेस्रो गोल भने जर्मनीले दोस्रो हाफमा पनि मात्रै हान्यो । यसपटक इकाई गुन्डोगानले गोल गरे । उनको गोलमा पनि गेनाब्रीले नै असिस्ट दिएका थिए । पहिलो खेलमा गेनाब्रीले उत्कृष्ट प्रदर्शनका साथ टिमका लागि २ गोलमा असिस्ट दिएर योगादन गरे ।

गुन्डोगानको गोलपछि खेलमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि खेल जर्मनीले ३–० ले जित्यो । जर्मनीले आइसल्यान्डको पोस्टमा कूल १५ पटक आक्रमण बुन्दा ५ सट अन टार्गेट हान्यो भने ८२ प्रतिशत बल आफ्नो पकडमा रोखेको थियो । अब यो जितपछि जर्मनी ३ अंकसहित समूह ‘जे’ को शीर्ष स्थानमा छ । सो समूहमा आफ्ना खेल जितेका रोमानिया र अर्मानिया पनि ३–३ अंकका साथ दोस्रो र तेस्रो स्थनमा रहेका छन् ।

प्रकाशित मिति १३ चैत्र २०७७, शुक्रबार ००:४५
Loading...