कतार विश्वकप छनौट : लेवान्डोस्कीको गोलमा पोल्यान्ड हंगेरीसँग हारबाट बच्यो

काठमाडौं, चैत १३

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत आफ्नो पहिलो खेलमा पोल्यान्ड हारबाट मुस्किलले बचेको छ । गत राति भएको खेलमा हंगेरीले आफ्नो भूमिमा पाहुना टोली रोवर्ट लेवान्डोस्कीको टिम पोल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै दुईपटक अग्रता लिए पनि बचाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । फेरेन्स पुस्कास रंगशालामा भएको खेलमा हंगेरीले खेलको ५२औं मिनेटमा पुग्दा पोल्यान्डविरुद्ध २–० को अग्रता लिएको थियो । तर, त्यसपछि पोल्यान्ड खेलमा फर्कियो ।

खेलको छैटौं मिनेटमै हंगेरीका लागि रोनाल्ड सल्लाईले पहिलो गोल गरेका थिए । त्यसपछि ५२औं मिनेटमा अडाम जलाईले दोसो गोल गरेर खेल २–० बनाए । तर, त्यसपछि पोल्याल्डले २ मिनेटमा २ गोल फर्कायो । खेलको ६०औं मिनेटमा क्रिस्टोफ पाईटेकले गोल गरे भने लगत्तै ६१औं मिनेटमा कमिल जजविकले गोल गरेर खेल २–२ बनाए । त्यसपछि हंगेरीले खेलमा फेरि अग्रता बनायो । ७८औं मिनेटमा विली ओर्बानले गोल गरेर खेल ३–२ बनाएका थिए ।

तर, खेलको ८२औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल ३–३ मा सकियो । घरेलु टोली हंगेरी खेलको ९४औं मिनेटमा १० खेलाडीमा झरेको थियो । आफ्नो भूमिमा खेलमा दुई–दुई पटक अग्रता लिएर पनि बचाउन नसक्दा हंगेरीले अन्ततः अंक बाँड्न बाध्य भयो । अब हंगेरी १ अंकसहित समूह ‘आई’ चौथो स्थान र १ अंक नै भएको पोल्यान्ड चौथो स्थानमा छ ।

प्रकाशित मिति १३ चैत्र २०७७, शुक्रबार ००:३१
Loading...