काठमाडौं, चैत १२
नेपालमा जारी थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली नेपाल बराबरीमा रोकिएको छ । आज बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सीमित पाहुना टोली किर्गिस्तानसँग नेपाली टोली गोलरहित बराबरीमा रोकिएको हो । यस खेलमा नेपालको सिनियर टोली खेलेको थियो भने किर्गिस्तानको यु–२३ टोली खेलेको थियो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले खेल नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा किर्गिस्तानको ओलम्पिक टोलीसँग बराबरीमा चित्त बुझायो ।
खेलको ५७औं मिनेटमा किर्गिस्तानका कप्तान टासिभ कामोलिदिन दोहोरो पहेंलोका साथ रातो कार्ड पाएर मैदान छाडेपछि पाहुना टोली १० खेलाडीमा सीमित भएको थियो । तैपनि, नेपालले त्यसको फाइदा उठाउन सकेन । नेपालले पहिलो हाफमा पटक–पटक गोलका अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा गोलविहीन बन्न पुगेको हो । अब यो बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । यता, किर्गिस्तानको पनि फाइनल पुग्ने सम्भावना जीवितै छ ।
आज यी दुई टोली बराबरीमा रोकिएसँगै बंगलादेश भने फाइनल प्रवेश गरिसकेको छ । अब नेपालले पहिलो खेलबाट १ अंक जोडेको छ । किर्गिस्तानको खातामा २ खेलबाट १ अंक छ । बंगलादेशले पहिलो खेल जितेर ३ अंक बनाएको छ । नेपालले अब आफ्नो दोस्रो खेल शनिबार पाहुना टोली बंगलादेशसँग खेल्ने तालिका छ । सो खेल जिते नेपाल फाइनल पुग्नेछ ।
प्रकाशित मिति १२ चैत्र २०७७, बिहीबार १३:४३