कतार विश्वकप छनौट : वेल्सलाई हराउँदै बेल्जियमको शानदार सुरुआत

काठमाडौं, चैत १२

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौटअन्तर्गत आफ्नो पहिलो छनौट खेलमा बेल्जियमले प्रभावशाली जितका साथ सुखद् सुरुआत गरेको छ । गत राति भएको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३–१ ले पराजित गरेको हो । आफ्नो भूमिमा बेल्जियमलाई जिताउन ३ जना स्टार खेलाडीले गोल गरे । बेल्जियमले खेलमा पछि परेको स्थिति उल्टाएर खेल जितेको हो । पाहुना टोली वेल्सका लागि खेलको १०औं मिनेटमा ह्यारी विल्सनले गोल गरेर घरेलु टोलीलाई झट्का थिए । सो गोलमा ग्यारेथ बेलले असिस्ट प्रदान गरेका थिए ।

तर, त्यसपछि बेल्जियम खेलमा लगातार हाबी भयो । खेलको २२औं मिनेटमा केभिन डे ब्रुयानेले पहिलो गोल गरेर खेल बराबरी बनाए भने २८औं मिनेटमा थ्रोगान हाजार्डले गोल गरेर खेल २–१ बनाए । त्यसपछि बेल्जियमले खेलको ७३औं मिनेटमा पेनाल्टी पायो । यसपटक रोमेलु लुकाकुले पेनाल्टी प्रहार गर्दै अग्रता बढाए । त्यसपछि बाँकी समयमा दुवै तर्फबाट थप गोल नभएपछि खेल बेल्जियमले ३–१ ले जित्यो । पहिलो खेलमै राम्रो नतिजा निकालेको बेल्जियमले छनौट यात्रामा निकै राम्रो सुरुआत गर्न सफल भएको छ । नियमित कप्तान इडेन हाजार्ड लामो समयदेखि घाइते रहेको अवस्थामा टोलीले उनको अभाव हुन नदिई राम्रो नतिजा निकाल्न सफल भयो ।

अब यो जितपछि बेल्जियम समूह ‘ई’ मा ३ अंक जोडेर दोस्रो स्थानमा छ । गत राति नै आफ्नो खेलमा इस्टोनियामाथि ६–२ को फराकिलो जित निकालेको चेक रिपब्लिक शीर्ष स्थानमा छ । पराजित वेल्स र इस्टोनिया चौथो र पाँचौं स्थानमा छन् । आफ्नो खेल खेल्न बाँकी रहेको बेलारुस भने तेस्रो स्थानमा छ । यहाँ गत राति भएका सम्पूर्ण १२ वटै खलको अन्तिम नतिजा राखिएको छ–

१. टर्की ४ – २ नेदरल्यान्ड्स
२. फ्रान्स १ – १ युक्रेन
३. ग्रीबाल्टार ० – ३ नर्वे
४. फिनल्यान्ड २ – २ बोस्निया एन्ड हर्जगोभिना
५. लाटभिया १ – २ मोन्टेनेग्रो
६. स्लोभेनिया १ – ० क्रोएसिया

७. बेल्जियम ३ – १ वेल्स
८. सर्बिया ३ – २ आयरल्यान्ड
९. पोर्चुगल १ – ० अजरबैजान
१०. माल्टा १ – ३ रसिया
११. इस्टोनिया २ – ६ चेक रिपब्लिक
१२. साईप्रस ० – ० स्लोभाकिया

प्रकाशित मिति १२ चैत्र २०७७, बिहीबार ०३:२७
Loading...