कतार विश्वकप छनौट : कोपा अमेरिका क्षेत्रको स्थगित खेलका लागि यस्तो निर्णय हुँदै

एजेन्सी, चैत ११

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि साउथ अमेरिकी महादेशमा हुनुपर्ने छनौट प्रतियोगिता स्थगित भएको छ । साउथ अमेरिकी महादेश क्षेत्रबाहेक अन्य सबै महादेशमा आज रातिबाट छनौट खेल सुरु हुँदैछन् । तर, साउथ अमेरिकी क्षेत्रमा भने स्थगित खेल कहिलेबाट खेलाउने भन्ने अझैसम्म निर्णय भएको छैन । दुई साताअघि दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) ले अफिसियल निर्णय गर्दै तत्कालका लागि छनौट खेल स्थगित गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको असर र कोरोना प्रोटोकलका अनुसार छोटो समयमा छनौट खेल खेलाउन नसक्ने भएपछि प्रतियोगिता नै स्थगित गर्नु परेको थियो ।

अन्य महादेशमा छनौट खेल सुरु भइसक्दा साउथ अमेरिकी क्षेत्रमा खेल कहिलेबाट हुने भन्ने अनिश्चय बढिरहेका बेला कोन्मेबोलले यसबारे केही दिनमा निर्णय गर्ने तयारी गरेको छ । ब्राजिलियन र अर्जेन्टिनी मिडियाका अनुसार कोरोना प्रोटोकल पालना गर्दै कोन्मेबोलले होम एन्ड अवे अवधारण छाडेर ‘न्यूट्रन भेन्यु’मा प्रतियोगिता सञ्चाल गर्ने तयारी गरेको छ । यसको अर्थ सो क्षेत्रका १० वटा देशले आफ्नो भूमि र विपक्षीको भूमिमा खेल्नुपर्ने खेल अब सो क्षेत्रभन्दा बाहिर खेल्नुपर्ने छ । रिपोर्टअनुसार कोन्मेबोलले साउथ अमेरिकी क्षेत्रका विश्वकप छनौट खेल पनि युरोपमा खेलाउने गरी तयारी गरेको छ ।

त्यसो त युरोपियन छनौट खेल नै अहिले होम एन्ड अवे अवधारणामा छैनन् । कोरोना प्रोटोकलको बाध्यात्मक परिस्थितिअनुसार युइएफएले युरोपका छनौट खेल पनि पायक परेका स्थानहरूमा गराउने निर्णय गरेअनुसार त्यसैअनुसार हुने भएका छन् । आज रातिबाट हुने थुप्रै खेल फरक–फरक देशमा सञ्चालन हुँदैछन् । जस्तो कि, पोर्चुगल र अजरबैजानबीचको खेल पोर्चुगलमा हुनुपर्ने थियो । तर, यो खेल आज राति इटालीमा हुँदैछ । साउथ अमेरिकी क्षेत्रमा पनि यसरी नै युरोपियन क्षेत्रमा खेल खेलाउन सकिने उपायलाई कोन्मेबोलले प्रयोग गर्न लागेको हो ।

कोन्मेबोलले एक साताभित्रमा सो क्षेत्रका छनौट खेल कुन मिति र कहाँ–कहाँ खेलाउने भनेर निर्णय गर्नेछ । युरोपियन क्षेत्रको छनौट खेल सकिएपछि छोटो समयका खेल खेलाउने गरी व्यस्त खेल तालिका बनाउनुपर्ने बाध्यता अहिले आयोजकलाई छ । साउथ अमेरिकी क्षेत्रका अधिकांश खेलाडी युरोपियन फुटबलमा हुने भएकाले पनि सबैलाई पायक पर्ने गरी युरोपमै खेल सञ्चालन गर्दा सजिलो हुने ठानेर आयोजकले यस्तो निर्णय गर्न लागेको बताइएको छ । साउथ अमेरिकी बाहेक अन्य महादेशका देशले यस महिनाभरिमा ३–३ वटा छनौट खेल खेल्नेछन् ।

प्रकाशित मिति ११ चैत्र २०७७, बुधबार १५:०७
Loading...