‘३६ वर्षको उमेर नो प्रोब्लेम : रोनाल्डोलाई कसैले छुन सक्दैन’

एजेन्सी, चैत ११

लगातार तीन सिजन युरोपियन च्याम्पियन्स लिगमा लक्ष्य र योजनाअनुसार सफलता पाउन नसकेपछि इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोको भविष्य इटालीमा अनिश्चित बन्दै गएको चर्चा र विश्लेषण छ । कतिपयले रोनाल्डो आफैंले यो सिजनपछि क्लब छाड्न सक्ने विश्लेषण गरिरहेका छन् भने सरुवा बजारमा युभेन्टसले नै रोनाल्डोलाई कम मूल्यमा बेच्न सक्ने चर्चा छ । ठूला उपाधि जित्न नसक्ने अवस्थामा युभेन्टस महँगा रोनाल्डोलाई राखेर आर्थिक बोझ खेपिराख्ने पक्षमा युभेन्टस नहुने बताइन्छ । रोनाल्डोले गत फेब्रअुरीमा मात्रै ३६औं जन्मदिन मनाएका थिए ।

तर, पोर्चुगिज खेलाडीको भविष्य इटालीमा अनिश्चित बन्दै गएका बेला क्लबका उपाध्यक्ष पाभेल नेडभेडले रोनाल्डो युभेन्टसमा ‘छुनै नसकिने खेलाडी’ रहेको बताउँदै उनी सरुवाका लागि उपलब्ध नरहेको बताएका छन् । हालै इटालियन मिडियासँगको एक ताजा अन्तर्वार्तामा बोल्दै क्लबका लिजेन्ड खेलाडीसमेत रहेका उनले रोनाल्डो नयाँ सिजन पनि क्लबमा रहने स्पष्ट पारे । त्यत्ति मात्रै हैन, रोनाल्डोको उमेर ३६ वर्षको भए पनि उनी आज पनि क्लबमा उनी सबैभन्दा प्रमुख खेलाडी रहेकाले उनीबिना युभेन्टसको कल्पना अहिले नै नगरिएको पनि बताए । रोनाल्डोको सरुवासँग सम्बन्धित सबैखाले चर्चालाई उपाध्यक्षले खारेज गरिदिएका छन् ।

‘रोनाल्डो प्राविधिक र प्रतिष्ठाका हिसाबले अहिले पनि फुटबल इतिहासकै सर्वाधिक ठूलो स्टेजमा छन् । उनको प्रदर्शनको स्तर, संकल्प र मेहनतमा आज पनि कमी छैन । उनले १२० खेलमा १०० भन्दा बढी गोल र ४० भन्दा बढी असिस्ट गरेका छन् । यो तथ्यांकको मूल्य कति हो ?,’ नेडभेडले भनेका छन्, ‘रोनाल्डो आज ३६ वर्षका भए । तर, हाम्रा लागि उनको उमेर कुनै समस्या छैन । उनी आज पनि युभेन्टसमा छुनै नसकिने खेलाडी हुन् । उनी अरूका लागि उपलब्ध छैनन् । बाहिरका चर्चा र हल्लामा कुनै सत्यता छैन ।’

च्याम्पियन्स लिगको असफलताको कारण रोनाल्डो एक्लै नरहेको उपाध्यक्षले बताएका छन् । रोनाल्डो एक्लैले नखेल्ने भएकाले उनले आफ्नो स्तरबाट शतप्रतिशत योगदान दिएको भन्दै नेडभेडले आलोचना खेपिरहेका रोनाल्डोको बचाउ गरे । ‘च्याम्पियन्स लिग ? हामीले सोचेअनुसार लक्ष्यमा पुग्न सकेनौं । तर, यसको पूरा दोष रोनाल्डो हैनन् । उनले सधैं १०० प्रतिशत योगदान दिएका छन् । हार वा जित दुवैमा सिंगो टिम हुन्छ,’ नेडभेडले भनेका छन्, ‘हाम्रा लागि यो नै अन्तिम च्याम्पियन्स लिग होइन । हामी नयाँ सिजनमा नयाँ ढंगले तयारी गर्नेछौं । र, त्यहाँ फेरि पनि रोनाल्डो टोलीका प्रमुख खेलाडी हुनेछन् ।’

नेडभेडले रोनाल्डो र प्रशिक्षक आन्ड्रेया पिर्लो दुवै नयाँ सिजनमा रहने बताए । ‘क्लबले रोनाल्डो र पिर्लोलाई राम्रोसँग बुझेको छ । यो सिजन हामी के–के जित्छौं भन्ने कुराले अब को रहन्छ र को रहँदैन भनेर निर्भर गर्दैन । जब हामी नयाँ सिजन थाल्नेछौं, त्यहाँ रोनाल्डो र पिर्लो दुवै आ–आफ्नो जिम्मेवारीमा हुनेछन्,’ नेडभेडले भने, ‘नयाँ सिजनमा हामीले कसरी तयारी गर्नुपर्छ, त्यो हामीलाई थाहा छ । विश्वकै सर्वोत्कृष्ट खेलाडी हामीसँग छन्, हामी खुसी छौं । रोनाल्डो अझै लामो समय हामीसँगै हुनेछन् ।’

प्रकाशित मिति ११ चैत्र २०७७, बुधबार १३:३९
Loading...