कतार विश्वकप छनौट : पहिलो खेलमा पोर्चुगल आज अजरबैजानसँग भिड्दै

काठमाडौं, चैत ११

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि आज रातिबाट युरोपियन महादेशमा छनौट खेल सुरु हुँदैछन् । कतार विश्वकप यात्रामा सहभागी हुन टिकट काट्नका लागि आजबाट युरोपका ५२ वटा देशले छैनाट खेल सुरु गर्न लागेका हुन् । आज पहिलो दिन विभिन्न १२ वटा खेल हुँदैछन् । आज हुने खेलमध्ये एक खेलमा पोर्चुगल र अजरबैजानको खेल पनि हुनेछ । यो खेलमाथि धेरैको नजर हुनेछ । क्रिस्टियानो रोनाल्डोले यसपटक पनि पोर्चुगिज टोलीको कप्तानी गर्नेछन् ।

छनौट प्रतियोगितामा पोर्चुगल समूह ‘ए’मा परेको छ । सो समूहमा पोर्चुगल र अजरबैजानसँगै लक्जेमवर्ग, आयरल्यान्ड र सर्बिया रहेका छन् । पोर्चुगलले यस चरणमा जम्मा ३ खेल खेल्नेछ । छनौट खेल सकिँदा सबै देशले १०–१० वटा खेल खेल्नेछन् । पोर्चुगलले यस महिनामा अजरबैजानसँगै सर्बिया र लक्जेमवर्गसँग गरी ३ खेल खेल्नेछ । यस समूहमा पोर्चुगल र सर्बियालाई तुलनात्मक रूपमा बलिया टोलीमा रूपमा हेरिएको छ । आज हुने पोर्चुगल र अजरबैजानको खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

कोरोना भाइरसको महामारी र कोरोना प्रोटोकलका अनुसार विश्वकप छनौटका खेल होम एन्ड अवे मैदानमा नभई न्यूट्रन भेन्युमा हुनेछन् । कोरोना प्रोटोकलले प्रभाव नपार्ने कतिपय अवस्थामा भने सम्बन्धित देशहरूकै मैदानमा खेलहरू हुनेछन् । यसअनुसार पोर्चुगल र अजरबैजानबीच आज हुने खेल इटालीमा हुनेछ । यो खेल रोनाल्डोको क्लब युभेन्टसको घरेलु मैदान टुरिनस्थित युभेन्टस रंगशालामा हुनेछ । दुवै टोलीले २ दिनदेखि नै सोही मैदानमा प्रशिक्षण गरिरहेका छन् ।

विश्वकप छनौट खेलका लागि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले प्रमुख रोजाइका खेलाडीलाई टोलीमा समावेश गरेका छन् । कप्तान रोनाल्डोसँगै बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, जुआओ फेलिक्स, जुआन कान्सेलो, आन्ड्रे सिल्भा, पेपे, राफाएल गुरेरियो, रुबेन डियाजसहितका स्टार खेलाडीहरूले पोर्चुगललाई नेतृत्व दिनछन् । कप्तान रोनाल्डो यसपटक केही महत्त्वपूर्ण लक्ष्यसाथ छनौट खेलमा सहभागी हुँदैछन् ।

प्रकाशित मिति ११ चैत्र २०७७, बुधबार ०३:०४
Loading...