६ गोल खाएपछि सोसिडाडका कोचले भने– ‘मेस्सीलाई रोक्न सक्ने यो संसारमै कोही छैन’

एजेन्सी, चैत १०

स्पेनिस ला लिगा फुटबलमा दुई दिनअघि बार्सिलोनाले पाँचौं स्थानको रियल सोसिडाडलाई ६–१ को फराकिलो अन्तरमा हरायो । सो खेलमा बार्सिलोनालाई जिताउन कप्तान लिओनल मेस्सी र सर्जिनो डेस्टले २–२ गोल गरे । बार्सिलोनाले लामो समयपछि सोसिडाडविरुद्ध एकै खेलमा ६ गाल गरे फराकिलो जित निकाल्यो । सो खेलपछि सोसिडाडका प्रशिक्षक एम्यानोल एल्गुसिलले मेस्सीको खुलेर तारिफ गरे । मेस्सीको उत्कृष्ट प्रदर्शनबाट प्रेरित बार्सिलोनाले आफ्नो टिमविरुद्ध ६ गोल हानेपछि उनले मेस्सीलाई रोक्न सक्ने खेलाडी, प्रशिक्षक वा टिम संसारमै नरहेको बताए ।

‘मेस्सीलाई रोक्न कठिन मात्रै हैन, असम्भव छ । मेरो विचारमा कुनै पनि प्रशिक्षक, टिम वा खेलाडीसँग उनलाई रोक्ने क्षमता छैन । उनले यो कुरा लामो समयदेखि लगातार मैदानमा देखाउँदै आइरहेका छन् । शारीरिक रूपमा बलियो छउन्जेले उनले यो देखाउनेछन्,’ एल्गुसिलले खेलपछि भने, ‘आज उनले जे गरे, मैले त्यसलाई आश्चार्यजनक मानिनँ । किनभने, उनले यो सधैं गर्ने गर्छन् । उनले यस्तो अरूसँग खेल्दा गर्छन्, हामीविरुद्ध पनि गरेर देखाए ।’

एल्गुसिलले आफूहरूलाई हराएर बार्सिलोनाले उपाधि जित्न सक्षम छ भनेर देखाएको तर लिगमा रियल मड्रिड पनि उपाधि होडमा रहेको बताए । ‘बार्सिलोनाले पछिल्ला खेल जसरी खेलिरहेको छ, त्यसबाट ऊ अझै पनि ला लिगा जित्न सक्षम छ भन्ने देखिन्छ । तर, मेरो विचारमा बार्सिलेना र रियल दुवै एकै अवस्थामा उपाधि होडमा उभिएका छन् । बार्सिलोनाले अझै लिग जित्न सक्छ भने रियल मड्रिडले पनि सक्छ,’ एल्गुसिलले भने, ‘किनभने, बार्सिलोनाका आगामी खेल रियल मड्रिडका भन्दा कठिन छन् । अन्तिम खेलसम्म नै प्रतिस्पर्धा रहने सम्भावना मैले देखेको छु । एथ्लेटिको मड्रिडका लागि लिग च्याम्पियन बन्ने यो सबैभन्दा राम्रो समय आएको छ ।’

प्रकाशित मिति १० चैत्र २०७७, मंगलवार १६:०८
Loading...