‘मेस्सीले विश्वकप जित्न सक्दैनन्, यसपालिको कोपा अमेरिका अन्तिम मौका’

एजेन्सी, चैत १०

अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीले क्लब बार्सिलोनाका लागि आजसम्म कूल ३४ उपाधि जितिसकेका छन् । त्यहींबाट उनले ६ वटा बालोन डिओर, ६ वटा गोल्डेन बुट जितिसकेका छन् । आज मेस्सीलाई कम्तीमा पनि सबैले फुटबल दुनियाँका थुप्रै महान् मध्येका एक खेलाडीका रूपमास्वीकार्छन्, यसमा दुईमत नै छैन । तर, उनै मेस्सीले आजसम्म आफ्नो देशबाट केही पनि जित्न सकेका छैनन् । उनले उमेर समूहबाट ओलम्पिकमा उपाधि जिते पनि सिनियर टोलीबाट आजसम्म उनका नाममा जिरो उपाधि नै हो । जसका कारण अर्जेन्टिनामा मेस्सीको बेला–बेला चर्को आलोचना हुने गर्छ । उनले देशलाई केही न केही उपाधि जिताउन् भन्ने धेरैको चाहना छ ।

मेस्सीसहितको अर्जेन्टिना एकपटक विश्वकपको फाइनलसम्म पुग्यो भने दुईपटक कोपा अमेरिकाको फाइनलमा पुग्यो । तर, यी तीनवटैमा मेस्सीले देशलाई उपाधि जिताउन सकेनन् । आफ्नै कप्तानीमा तीन–तीनपटक फाइनल पुगेर पनि पराजित हुनु सम्भवतः मेस्सीका लागि दुर्भाग्य नै होला । सन् २०१६ मा त मेस्सीले कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा आफ्नै कारणले हारेपछि निराश र विचलित बनेर सन्यास नै लिएका थिए । तर, पछि उनले सन्यास फिर्ता लिए । मेस्सी अहिले पनि अर्जेन्टिनाका कप्तान हुन् । उनकै कप्तानीमा अर्जेन्टिनाले यस वर्ष कोपा अमेरिका र अर्को वर्ष फिफा विश्वकप खेल्दैछ । चाँडै ३४ वर्ष पुग्ना लागेका मेस्सीका लागि यी दुई प्रतियोगिता करिअरका अन्तिम प्रतियोगिता हुनेछन् । के मेस्सीले यीमध्ये कुनै एक उपाधि देशका लागि जित्न सक्लान् ?

बार्सिलोनामा विगतमा कुनै बेला सँगै खेलेका लिजेन्ड खेलाडी इरिक अबिडालले मेस्सीको अन्तर्राष्ट्रिय करिअर र उपाधिबारे धारणा राखेका छन् । हालसालै एक ताजा अन्तर्वार्तामा कुरा गर्दै फ्रेन्च खेलाडी अबिडालले मेस्सीका लागि यस वर्ष हुने कोपा अमेरिका प्रतियोतिगा देशको जर्सीमा उपाधि जित्ने अन्तिम अवसर रहेको बताएका छन् । अबिडालले मेस्सीले विश्वकप जित्न नसक्ने भन्दै यस वर्ष कोपा उनका लागि केही न केही जित्ने अन्तिम मौका रहेको बताएका छन् । अबिडालले मेस्सीलाई २०२२ को विश्वकप भन्दा पनि यस वर्षको कोपामा ध्यान दिन पनि सुझाव दिएका छन् ।

‘मेस्सीको प्रतिभा र योगदानमा मैले कहिल्यै शंका गरिनँ । सायद कसैले गर्दैन । उनी अद्भुत प्रतिभा भएका खेलाडी हुन् । उनले बार्सिलोनामा जित्न बाँकी केही छैन । तर, अर्जेन्टिनामा उनी आजसम्म पनि उपाधिविहीन हुनु फुटबलकै लागि ठूलो दुर्भाग्यपूर्ण हो,’ अबिडालले भनेका छन्, ‘तीन–तीनपटक ठूला प्रतियोगिताको फाइनलमा पुगेर पनि चुक्नु यो भाग्यकै खेलबाड पनि हो कि ! मेस्सीले देशको जर्सीमा आजसम्म केही पनि जित्न नसक्दा म दुःखी छु । उनी आजसम्म अन्तर्राष्ट्रिय उपाधिविहीन हुनुपर्ने खेलाडी होइनन् । यो एकदमै अस्वभाविक छ, अस्वीकार्य छ । मेस्सी २०१४ मै विश्व च्याम्पियन बन्नुपर्थ्यो । तर ….. ।’

अबिडालले २०२२ को विश्वकप अर्जेन्टिनाका लागि नरहेको भन्दै मेस्सीले यस वर्षकै कोपा अमेरिका जित्न सबैखाले प्रयास गर्नुपर्ने बताए । ‘मेरो विचारमा मेस्सी र अर्जेन्टिनाका लागि २०२२ को विश्वकप होइन । यदि मेस्सीसँग अझै पनि अर्जेन्टिनालाई आफ्नो नेतृत्वमा च्याम्पियन बनाउने सपना र संकल्प छ भने उनलाई यस वर्षको कोपा अमेरिका अन्तिम मौका हो,’ अबिडालले भनेका छन्, ‘मेस्सीले जति गर्न सक्छन्, यसमै गर्नुपर्छ । देशका लागि जति दिन सक्छन्, यसै वर्ष दिनुपर्छ । किनभने, यसपटकको कोपा देशका लागि केही न केही जितेर फुटबल बिसाउन उनका लागि अन्तिम अवसर हो ।’

प्रकाशित मिति १० चैत्र २०७७, मंगलवार १२:४७
Loading...