बार्सिलोनामा मेस्सीले बनाएका यी पाँच रेकर्ड, जुन तोड्न असम्भव छन्

काठमाडौं, चैत १०

स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी दुई दिनअघि क्लबको इतिहासमै सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बने । ला लिगामा रियल सोसिडाडविरुद्धको खेल मेस्सीका लागि सबैखाले प्रतियोगिताबाट खेलेको समग्रमा ७६८औं खेल थियो । यसअघि सो रेकर्ड पूर्वकप्तान जाभी हर्नान्डेजका नाममा थियो । तर, सोसिडाड विरुद्धको खेल खेलेपछि ३४ वर्षका मेस्सी अब १२१ वर्ष पुरानो बार्सिलोनाको इतिहासमै सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । मेस्सी सन् २००४ देखि लगातार बार्सिलोनामा खेलिरहेका छन् । उनी अहिले १७औं सिजन बिताइरहेका छन् ।

सोसिडाडविरुद्ध खेलपछि मेस्सीका नाममा सर्वाधिक क्यापको कीर्तिमान सहित अन्य थुप्रै कीर्तिमान बनेका छन् । बार्सिलोनाको इतिहासमा मेस्सीले बनाएका मुख्य पाँच कीर्तिमानको चर्चा यहाँ गरिएको छ । क्लब बार्सिलोना र फिफाको आफ्नो अफिसियल मिडियाले पनि मेस्सीको कीर्तिमानबारे चर्चा गरेका छन् । मात्रै १३ वर्षको उमेरमा सन् २००० सालमा बार्सिलोना पुगेका मेस्सी आजकै दिनमा पनि क्लबका एक महान् र लिजेन्ड खेलाडीका रूपमा स्थापित भइसकेका छन् । मेस्सीको युग सुरु भएपछि बार्सिलोनाले जति सफलता पाएको छ, त्यत्ति त्यसअघि कुनै पनि खेलाडीको पालामा क्लबले पाएको थिएन ।

जादुयी खेल कौशल र प्रतिभाका धनी मेस्सीजस्ता खेलाडी बार्सिलोनाले फेरि सायदै पाउला । पाए पनि थुप्रै वर्ष पर्खिनुपर्ला । सिंगै करिअर बासिलोनामा बिताउँदै गरेका मेस्सीले करिअरमा यस्ता असंख्य कीर्तिमान बनाएका छन्, जसको चर्चा सजिलै र थोरै समयमा गर्न सकिँदैन । मेस्सीले १७ वर्षे करिअर दौरान बार्सिलोनामा कूल ६ पटक बालोन डिओर, ६ पटक युरोपियन गोल्डेन बुट, ७ पटक पिचिची अवार्ड जितेका छन् । टिमका रूपमा उनले चार च्याम्पियन्स लिग उपाधि र १० ला लिगा गरी कूल ३४ उपाधि जितेका छन् । मेस्सी ला लिगा इतिहासमै एक खेलाडीका रूपमा सबैभन्दा धेरै १० पटक ला लिगा जित्ने खेलाडी हुन् । मेस्सी ला लिगाको इतिहासकै सर्वाधिक गोलकर्ता र असिस्टकर्ता खेलाडी पनि हुन् ।

यो सिजनको अन्त्यपछि बार्सिलोना छाड्ने तयारीमा रहेका मेस्सीले क्याटलान कलबमा बनाएका रेकर्ड भवियष्मा कुनै पनि खेलाडीले तोड्न करिब–करिब असम्भव जस्तै नै छन् । मेस्सीले बार्सिलोनामा १७ वर्षमा के–के गरे अनि के–के दिए भनेर उनको निजी तथ्यांकले नै बताउँछ । भविष्यमा कोही नयाँ खेलाडी आउँछ र मेस्सीले बनाएका रेकर्डहरू भंग गर्ला भनेर आजका दिनसम्म पत्याउन वा आशा राख्न पनि कठिन हुन्छ । किनभने, मेस्सीले बार्सिलोनामा बनाएका तथ्यांक र राखेका रेकर्ड बहुतै अपत्यारिला छन् । मेस्सीका मुख्य पाँच कीर्तिमान तल हेरौं:–

सर्वाधिक खेल – ७६८ (यो बढ्नेक्रममा छ)
सर्वाधिक गोल – ६६३
सर्वाधिक असिस्ट – २९१
सर्वाधिक ह्याट्रिक – ४८
सर्वाधिक उपाधि – ३४

प्रकाशित मिति १० चैत्र २०७७, मंगलवार १०:४०
Loading...