३६ वर्षका रोनाल्डो फुटबल इतिहासकै महान कीर्तिमान नजिक

काठमाडौं, चैत १०

पोर्चुगलका कप्तानसमेत रहेका फरवार्ड क्रिस्टियानो रानाल्डो फुटबल इतिहासमै अर्को ऐतिहासिक कीर्तिमान नजिक पुगेका छन् । हाल अन्तर्राष्ट्रिय ड्युटीका लागि पोर्चुगलको टोलीमा सामेल भएका ३६ वर्षका रोनाल्डो अब केही खेलपछि नै अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन् । उनले पोर्चुगलको टोलीका लागि हालसम्म कूल १०२ गोल गरिसकेका छन् । अलिकै अवस्थामा उनी इतिहासकै दोस्रो सर्वाधिक गोलकर्ता हुन् भने सक्रिय खेलाडीमध्ये पहिलो हुन् । तर, रोनाल्डोलाई अब नयाँ इतिहास रच्नका लागि धेरै समय वा धेरै खेलको प्रतीक्षा गर्नुपर्ने छैन ।

फुटबल इतिहासमा सबैभन्दा धेरै अन्तराष्ट्रिय गोलको रेकर्ड इरानका अली डेईका नाममा रहेको छ । हाल ५२ वर्ष पुगका डेईले आफ्नो करिअरभरि इरानका लागि कूल १०९ गोल गरेका थिए, जुन इतिहासकै सबैभन्दा धेरै हो । उनले कूल १४९ खेल खेल्दै १०९ गोल गरेका थिए । पोर्चुगलका रोनाल्डो अब डेईको सो दुर्लभ रेकर्ड तोड्नबाट मात्रै ८ गोलले टाढा छन् भने रेकर्ड बराबरी गर्नका लागि उनलाई अब मात्रै ७ गोल पुग्छ । यस वर्ष २०२१ मा थुप्रै अन्तर्राष्ट्रिय खेल हुने भएकाले रोनाल्डो यसै वर्ष यो रेकर्ड भंग गर्ने पक्का छ ।

भोलिबाट युरोपियन महादेशमा कतार विश्वकप–२०२२ का लागि छनौट खेल सुरु हुँदैछन् । रोनाल्डो अहिले त्यसकै लागि राष्ट्रिय टोलीमा छन् । छनौट खेलअन्तर्गत पहिलो चरणमा पोर्चुगलले ३ वटा खेल खेल्ने तालिका छ । रोनाल्डोले यी सबै खेलमा सहभागिता जनाउँदै टोलीको कप्तानी गर्नेछन् । यी ३ खेल खेल्दा रोनाल्डोले सकेसम्म धरै गोल गरेर डेईको रेकर्ड बराबरी गर्ने वा तोड्ने दाउमा हुनेछन् । यदि रोनाल्डोले ३ वटै खेलमा उत्कृष्ट लयका साथ प्रदर्शन गरे उनले यी ३ खलबाटै ७ वा ८ गोल गरेर डेईलाई भेट्ने सम्भावना प्रबल छ । यदि यी खेलबाट सम्भव भए पनि यी पछिका खेलबाट त्यो हुने नै छ । गत वर्ष रोनाल्डोले दुई खेलबाटै ६ गोल गरेका थिए ।

रोनाल्डोले पोर्चुगलका लागि हालसम्म कूल १७० खेलबाट १०२ गोल गरेका छन् । सोक्रममा उनले कूल ४१ असिस्ट गरेका छन् । त्यसैगरी, उनले हालसम्म ९ ह्याट्रिक गरेका छन् । राष्ट्रिय टोलीबाट उनले दुई उपाधि पनि जितेका छन् । पोर्चुगलले विश्वकप छनौटमा यस चरणमा अरबैजान, सर्बिया र लक्जेमवर्गविरुद्ध गरी ३ वटा खेल खेल्ने तालिका रहेको छ । पहिलो खेल भने बुधबार राति अजरबैजानविरुद्ध हुनेछ ।

प्रकाशित मिति १० चैत्र २०७७, मंगलवार ०९:११
Loading...