यो एक अवस्थामा मात्रै हल्यान्डले यो सिजनपछि डर्टमुन्ड छाड्नेछन्

एजेन्सी, चैत ९

जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्डले आफ्नो भविष्यबारे मुख खोलेका छन् । डर्टमुन्ड छाड्ने र नयाँ क्लबमा जाने विषयमा सोच्ने र निर्णय गर्ने बेला आइनसकेको हल्यान्डले बताएका छन् । नर्वेका २० वर्षीय गोल मेसिन खेलाडीलाई भित्र्याउन स्पेनका दुई कट्टर प्रतिस्पर्धी क्लबहरू रियल मड्रिड र बार्सिलोना गम्भीर भएर लागेका छन् । सबैभन्दा अगाडि बार्सिलोना देखिन्छ । यी दुईबाहेक इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटी पनि दौडमा छ । तर, सरुवा बजारका चर्चाअनुसार हल्यान्डको नयाँ गन्तव्य बार्सिलोना र रियलमध्ये एक हुनेछ ।

तर, हल्यान्डले यसबारे आफ्नो भनाइ राखेका छन् । क्लब फुटबल विश्राम भएर अन्तर्राष्ट्रिय ड्युटीमा जानुअघि हल्यान्डले जर्मन पत्रिका ‘बिल्ड’सँग कुरा गर्दै डर्टमुन्डसँग अझै आफ्नो सम्झौता ३ वर्ष बाँकी रहेको बताएका छन् । ‘क्लबसँग मेरो सम्झौता अझै ३ वर्ष बाँकी छ । त्यसैले मैले यसबारे सोच्न थालेको वा चिन्ता गरेको छैन,’ हल्यान्डले भनेका छन्, ‘अहिले म यहाँ खुसी छु । यो क्लबसँगको सम्झौता र दायित्वप्रति म बफादार हुनुपर्छ । मलाई लाग्छ, यसबारे कुरा गर्ने समय भएको छैन । ’

तर, हल्यान्डले सांकेतिक रूपमा आफैंले यो जनाउ दिएका छन् कि, यो सिजन कसरी बित्छ, त्यसअनुसार नयाँ परिस्थिति सिर्जना हुन सक्छ । रिपोर्टअनुसार यदि डर्टमुन्ड अर्को सिजनका लागि युरोपियन च्याम्पियन्स लिगमा छनौट हुन सकेन भने हल्यान्डले क्लब छाड्ने पक्का छ । च्याम्पियन्स लिग खेल्न नपाउने स्थितिमा हल्यान्ले १०० प्रतिशत क्लब छाड्ने दाबी ‘बिल्ड’ले गरेको छ । ‘यो सिजन कसरी बित्छ, म त्यो हेर्नेछु । त्यहाँ कुनै नयाँ कुरा हुन थुप्रै वर्ष लाग्नेछ भन्ने मेरो अडान होइन । तर, जे हुन्छ, सही समयमा हुन्छ । यदि यो समय चाँडै आयो भने हुने कुरा हुनेछ,’ हल्यान्डले घुमाउरो पारामा भनेका छन् ।

जर्मन मिडियाको रिपोर्टले हल्यान्डको सम्भावित सरुवाबारे भनेको छ– ‘यदि यो सिजन सकिँदा डर्टमुन्ड शीर्ष चारमा रहन असफल भयो र अर्को सिजन च्याम्पियन्स लिग खेल्न नपाउने स्थितिमा हल्यान्डले समरमा क्लब छाड्ने निश्चित छ । यो नै उनको सरुवाको मुख्य कारण त होइन । तर, एक प्रमुख भने हो । त्यसैले हल्यान्डको भविष्य के हुन्छ भन्ने कुरामा अहिले खेलाडी आफैं र क्लब डर्टमुन्ड पनि स्पष्ट छैनन् । उनीहरू दुवै पक्ष यो सिजन कसरी सकिन्छ भन्ने कुरा पर्खिरहेका छन् । यदि उनीहरू च्याम्पियन्स लिगमा छनौट भए पनि हल्यान्डको सरुवा यही सिजन हुने सम्भावना आधा कम हुन्छ । तर, डर्टमुन्ड च्याम्पियन्स लिगबाट बाहिर भए त्यो ९९ प्रतिशत हुनेछ ।’

बुन्डेसलिगामा डर्टमुन्ड हाल टेबलको पाँचौं स्थानमा मात्रै रहेको छ । उसले लिगका २६ खेल सकिँदा कूल ४३ अंक बनाएको छ । ऊ चौथो स्थानको फ्रान्टफुर्टभन्दा ४ अंकले पछि छ । चौथो स्थानको फ्रान्कफुर्ट भने तेस्रो स्थानको उल्भ्सवर्गभन्दा ४ अंकले पछि छ । बुन्डेसलिगामा अब अन्तिम ८ खेल मात्रै बाँकी छन् । बाँकी ८ खेलबाट सुधार गर्दै डर्टमुन्डले सिजन सकिँदासम्म शीर्ष चारमा रहनुपर्ने दबाब छ । यो अंकगणितीय हिसाबले अझै सम्भावना छ । किनभने, ८ खेल बाँकी रहेको अवस्थामा हुँदा फ्रान्कफुर्टले कहीं न कहीं अंक गुमाउन सक्छ । त्यसो त डर्टमुन्डले पनि बाँकी खेलमा अंक गमाउन सक्छ । तर, डर्टमुन्डको अबको लक्ष्य टप–४ तय गर्नु नै हो ।

प्रकाशित मिति ९ चैत्र २०७७, सोमबार १४:४७
Loading...