मेस्सीको ऐतिहासिक रेकर्ड तोड्ने बाटोमा लेवान्डोस्की : सम्भावना कति ?

काठमाडौं, चैत ९

जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की गत सिजन झैं यस सिजन पनि शानदार लयमा छन् । ३२ वर्षका पोलिस फरवार्ड उनी अहिले युरोपियन गोल्डेन बुट दौडमा सबैभन्दा अगाडि छन् । जारी सिजन अन्त्यतिर पुग्दै गर्दा लेवान्डोस्कीले बुन्डेसलिगामा हालसम्म २५ खेलबाट ३५ गोल गरिसकेका छन् । गोल्डेन बुट दौडमा अहिले उनी एक्ला दाबेदार हुन् । उनीपछि दोस्रो स्थानमा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी रहेका छन् । जसमा रोनाल्डोले सिरी ए लिगमा २३ गोल र मेस्सीले पनि बार्सिलोनामा २३ नै गोल गरेका छन् ।

यो सिजन उत्कृष्ट लयमा रहेका लेवान्डोस्की बार्सिलोनाका मेस्सीका नाममा रहेको सिंगल सिजनको सर्वाधिक लिग गोलको दुर्लभ कीर्तिमान भंग गर्ने बाटोमा स्पष्ट रूपमा अघि बढेका छन् । मेस्सीले बार्सिलोनामा सिजन २०११–१२ मा ला लिगामा कूल ५० गोल गरेका थिए । उनले सो सिजन मात्रै ३७ खेलबाट ५० गोल गरेका थिए । युरोपियन शीर्ष लिगको इतिहासमा एकै सिजनमा कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोलको कीर्तिमानी मेस्सीकै नाममा छ । र, यसलाई लिग फुटबलमा दुर्लभ मानिएको छ । मेस्सीपछि रियल मड्रिडमा छँदा रोनाल्डोले सिजन २०१४–१५ मा ३५ खेलबाट ४८ गोल गरेका थिए, जुन दोस्रो कीर्तिमानी हो । तर, लिगमा सिंगल सिजनमा ५० गोलको आँकडा छुने मेस्सी एक मात्रै हुन् ।

मेस्सीबाहेक विगतमा र त्यसयता पनि कुनै पनि खेलाडीले शीर्ष लिगमा एकै सिजनमा घरेलु लिगमा ५० गोल गर्न सकेका छैनन् । सो रेकर्ड आजसम्म पनि मेस्सीकै नाममा छ । तर, यसपटक लेवान्डोस्कीले मेस्सीका नाममा रहेको सो रेकर्ड भंग गर्ने सम्भावना बढेको छ । बुन्डेसलिगामा २६ खेल सकिँदा लेवान्डोस्कीले २५ खेल खेल्दै ३५ गोल गरिसकेका छन् । लिगमा अझै ८ खेल बाँकी नै छन् । बुन्डेसलिगामा ३४ खेल मात्रै हुने भए पनि बाँकी ८ खेलबाट लेवान्डोस्कीले गोल गर्दै मेस्सीको रेकर्ड भंग गर्ने सम्भावना उच्च छ । बुन्डेसलिगामा ३४ खेल हुँदा अन्य लिगमा भने ३८ खेल हुन्छन् ।

गोल गर्ने मामिलामा निकै आक्रामक रूपमा अघि बढिरहेका लेवान्डोस्कीले पछिल्ला ४ खेलमध्ये दुई खेलमा त ह्याट्रिक नै हानेका छन् । पछिल्ला ४ खेलबाट मात्रै उनले दुई ह्याट्रिक सहित ९ गोल गरेका छन् । यही गतिमा अघि बढ्दै गए र उनले लिगमा बाँकी ८ सबै खेल खेले थप१६ गोल गरेर मेस्सीका नाममा रहेको रेकर्ड भंग गर्ने सम्भावना उच्च छ । तर, त्यसका लागि उनले बाँकी खेलमध्ये कति खेल खेल्छन् र ती खेलबाट कति धेरै गोल गर्न सक्छन् भन्ने कुराले निर्भर गर्नेछ । पछिल्ला ४ खेलबाट ९ गोल गरेका लेवान्डोस्कीलाई मेस्सीको रेकर्ड तोड्न ८ खेलबाट १६ गोल चाहिन्छ भने बराबरी गर्न १५ गोल ।

यदि उनले ८ खेलबाट १६ गोल गरे मेस्सीको नाममा रहेको ऐतिहासिक रेकर्ड भंग हुनेछ । तर, यो उति सजिलो पनि छैन । र, असम्भव पनि छैन । लेवान्डोस्की अहिले जसरी लगातार गोल गरिरहेका छन्, त्यसमा ब्रेक नलागे यसपटक मेस्सीको रेकर्ड तोडिन सम्भावना सबैभन्दा प्रबल छ । सम्भवतः लेवान्डोस्कीको अबको लक्ष्य युरोपियन गोल्डेन बुट जित्नु मात्रै नभएर ५० भन्दा धेरै गोल गरेर मेस्सीको रेकर्ड भंग गर्नु पनि हो । त्यसका लागि उनी बाँकी ८ सबै खेल खेल्न तयार छन् ।

प्रकाशित मिति ९ चैत्र २०७७, सोमबार १३:१४
Loading...