‘पागल बनाउने’ रोनाल्डोको त्यो हेडिङ गोल, जसले जित्यो सिजनकै बेस्ट गोलको अवार्ड

काठमाडौं, चैत ९

इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गत सिजनका लागि बेस्ट गोलको अवार्ड जितेका छन् । सिजन २०१९–२० अन्तर्गत सिरी ए लिगमा भएका सबै गोल मध्येबाट रोनाल्डोले गरेको बहुचर्चित हेडिङ गोललाई सिजनकै बेस्ट गोलका रूपमा घोषणा गरेर अवार्ड प्रदान गरिएको हो । गत सिजन सिरी ए लिगमा रोनाल्डोले साम्पडोरियाविद्ध बहुचर्चित हेडिङ गोल गरेका थिए । उनले जमिनबाट २.५६ मिटर माथि उफ्रिएर गरेको अपत्यारिलो सो हेडिङ गोलले सिजकै सर्वोत्कृष्ट गोलको अवार्ड जितेको हो ।

इटालियन फुटबल संघले हरेक वर्ष आयोजना गर्ने अवार्ड घोषणा तथा विरणमा सभामा रोनाल्डोको सो गोल सिजनकै बेस्ट गोल घोषित भएको हो । बेस्ट गोलकर्ता बनेका रोनाल्डोले गत सिजन २०१९–२० का लागि सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि जिते । गत सिजन रोनाल्डो सिरी ए लिगमा ३३ खेलबाट कूल ३१ गोल गर्दै ९ गोलमा असिस्ट प्रदान गरेका थिए । रोनाल्डोकै प्रेरणादायी प्रदर्शनमा युभेन्टसले लगातार नवौंपटक घरेलु लिग जितेको थियो ।

रोनाल्डोले साम्पडोरियाविरुद्ध गरेको सो गोल फुटबल संघका अफिसियल प्राविधिक र फ्यान भोटिङ दुवै पद्धतिबाट बेस्ट गोलका रूपमा छानिएको संघले जनाएको छ । जारी सिजन रोनाल्डोले घरेलु लिगमा २४ खेलबाट २३ गोल र ५ असिस्ट गरेका छन् । तर, युभेन्टस यो सिजन उपाधि होडमा कठिन अवस्थामा छ । गत राति बेनेभेन्टोसँग घरेलु मैदानमा अप्रत्यासित हार भोगेपछि युभेन्टसको लगातार १०औं सिजन लिग च्याम्पियन बन्ने सपनामाथि पानी पोखिने भएको छ ।

प्रकाशित मिति ९ चैत्र २०७७, सोमबार ०७:४२
Loading...