कीर्तिमानको सूचीमा अर्को कीर्तिमान : मेस्सीले रचे नयाँ इतिहास

काठमाडौं, चैत ९

स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले नयाँ इतिहास रचेका छन् । अर्जेन्टिनाका ३३ वर्षीय फरवार्ड मेस्सी अब क्लब बार्सिलोनाको इतिहासमै सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । गत राति ला लिगामा बार्सिलोनाले अवे मैदानमा रियल सोसिडाडसँग खेल्दा सो खेल मेस्सीका लागि ७६८औं खेल थियो, जुन ऐतिहासिक हो । चाँडै ३४ वर्ष पुग्न लागेका मेस्सीका नाममा अब १२१ वर्ष पुरानो क्लबको इतिहासमै सबैभन्दा धेरै खेल खेल्न खेलाडीको नयाँ इतिहास बनेको छ ।

गत राति लिगको २८औं साताको खेलमा बार्सिलोनाले अवे मैदानमा सोसिडाडसँग खेल्दा बार्सिलोनाले १–६ को फराकिलो जित निकालेको थियो । सो खेलमा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल र १ गोलमा असिस्ट प्रदान गरेका थिए । मेस्सी खेलको म्यान अफ् द म्याच समेत घोषित भएका थिए । सो खेलमा सहभागी भएसँगै मेस्सी क्लबका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका हुन् । मेस्सी सन् २००४ देखि लगातार बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका छन् ।

यसअघि सर्वाधिक खेलको रेकर्ड पूर्वकप्तान स्पेनिस खेलाडी जाभी हर्नान्डेजका नाममा थियो । उनले आफ्नो करिअर दौरान कूल ७६७ खेल खेलेका थिए । यसअघि बार्सिलोनाले ला लिगामै हुएस्काविरुद्ध आफ्नो घरेलु मैदानमा खेल्नेक्रममा मेस्सीले जाभीको कीर्तिमानसँग बराबरी गरेका थिए । सो खेलक्रममा बार्सिलोनाका पूर्वकप्तान र हालका कप्तान मेस्सी संयुक्त रूपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेको अवसरमा क्याम्प नोउ रंगशालामा विशेष तयारी साथ सम्मान समेत दर्शाइएको थियो । सो खेलपछि मेस्सीले गत राति अर्को खेल खेलेपछि उनले जाभीलाई पछि पार्दै आफू एकल सर्वाधिक क्याप पूरा गर्ने खेलाडी बने ।

जाभीले सिजन १९९८–९९ सिजनबाट बार्सिलोनाको सिनियर टोलीमा खेलेका थिए । उनले डेब्यु सिजनदेखि लगातार १७ वर्ष बार्सिनामा खेलेपछि सन् २०१५ मा बार्सिलोना छाडेर कतारी क्लब अल सदामा अनुबनध भएका थिए । उनी अहिले सोही क्लबको प्रशिक्षक छन् । सोक्रममा जाभीले बार्सिलोनाका लागि कूल ७६७ खेलबाट ५५ गोल गरेका थिए । यता, मेस्सीले सिजन २००४–०५ बाट लगातार बार्सिलोनामा खेलिरहेका छन् । मेस्सीले पनि १७औं सिजन बिताउनेक्रममा जाभीले बनाएको ७६७ खेलको रेकर्ड भंग गर्दै आफ्नो नाममा लखाएका हुन् ।

१३ वर्षको उमेरमा सन् २००० सालमा बार्सिलोनामा अनुबन्ध भएका मेस्सीले यस क्लबका लागि आजसम्म ७६८ खेल खेल्दै सबैखाले प्रतियोगिताबाट कूल ६६३ गोल गरेका छन् । उनले बार्सिलोनामा लागि आजसम्म २९० गोलमा असिस्ट पनि गरेका छन् । मेस्सी बार्सिलोनाको इतिहासमा अब सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक असिस्ट गर्ने खेलाडी बनेका छन् । त्यत्ति मात्रै हैन, उनी सर्वाधिक ३४ उपाधि जित्न खेलाडी पनि बनेका छन् । बार्सिलोनाको इतिहासमा मेस्सीले जति उपाधि अन्य कुनै पनि खेलाडीले जितेका छैनन् ।

प्रकाशित मिति ९ चैत्र २०७७, सोमबार ०६:२८
Loading...