लिभरपुललाई उछिन्दै टोटनह्याम शीर्ष चारतर्फ : निकाल्यो महत्त्वपूर्ण जित

काठमाडौं, चैत ९

यो सिजन खराब अवस्थाबाट गुज्रिरहेको इंग्लिस क्लब टोटनह्यामले घरेलु प्रिमियर लिगमा अवस्था सुधार गर्दै लगेको छ । गत राति लिगको २९औं साताको खेलमा उसले एस्टोन भिल्लालाई ०–२ ले हराउँदै अंक तालिकाको छैटौं स्थानमा चढेको छ । टोटनह्यामले लिगका पछिल्ला ५ मध्ये ४ खेलमा स्पष्ट जित निकाल्दा १ खेल हारेको छ । यसअघिको खेलमा ऊ पराजित भएको थियो । गत रातिको जित टोटनह्यामका लागि अंक तालिका सुधार गर्न निकै महत्त्वपूर्ण रह्यो ।

टोटनह्यामका लागि खेलको २९औं मिनेटमा कार्लोस भिनिसियसले गोल गरेर टिमलाई सुरुआती अग्रता दिलाएका थिए । सो गोलमा ब्राजिलियन खेलाडी लुकास मोउराले असिस्ट प्रदान गरेका थिए । खेलमा टोटनह्यामको भन्दा ज्यादा बल पकडमा राखेको घरेलु टोलीविरुद्ध गोल गरेपछि टोटनह्यामलाई दोस्रो गोलका लागि दोस्रो हाफसम्म पर्खिनु परेको थियो, त्यो पनि पेनाल्टी गोल । पहिलो हाफमा टोटनह्यामले गोल गरेबाहेक दुई राम्रा अवसर खेल फालेको थियो ।

तर, दोस्रो हाफको ६८औं मिनेटमा टोटनह्यामले पेनाल्टीको अवसर पायो । जसमा ह्यारी केनले बुलेट सटमा गोल गरेर खेल ०–२ बनाए । त्यसपछि दुवै तर्फबाट थप गोल नभएपछि खेल टोटनह्यामले ०–२ ले जित्यो । अब यो जितपछि टोटनह्यामले २९ खेलबाट ४८ अंक जोडेको छ । उसले साबिक च्याम्पियन लिभरपुललाई २ अंकले पछि पारेको छ । टोटनह्याम अझै चौथो स्थानको चेल्सीभन्दा ३ अंकले पछि रहेको छ । यता, पराजित एस्टोन भिल्ला ४ अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति ९ चैत्र २०७७, सोमबार ०३:१०
Loading...