तेस्रो स्थानको लियोनलाई हराउँदै पिएसजी शीर्ष स्थानमा उक्लियो : चम्किए एमबाप्पे

काठमाडौं, चैत ९

फ्रेन्च लिग वान फुटबलमा यो सिजन सुरुआतबाटै संघर्ष गरिरहेको साबिक च्याम्पियन पिएसजी सिजन अन्त्यतिर पुग्दै गर्दा शीर्ष स्थानमा चढेको छ । गत राति लिगको ३०औं साताको खेलमा पिएसजीले तेस्रो स्थानको लियोनमाथि २–४ को प्रभावशाली जित निकाल्दै उपाधि होडमा लिड लिएको हो । लियोनलाई उसकै घरेलु मैदानमा हराउन युवा स्टार केलियन एमबाप्पे नायक बने । उनले उत्कृष्ट प्रदर्शनका साथ २ गोल गरेपछि पिएसजीले दबाबपूर्ण खेलमा महत्त्वपूर्ण जित निकालेर शीर्ष स्थानमा उक्लिन सफल भयो ।

पिएसजीका लागि पहिलो गोल खेलको ५२औं मिनेटमा एमबाप्पेले गरेका थिए । त्यसपछि ३२औं मिनेटमा ड्यानिलो पेरेरियाले गोल गरेर अग्रता दोब्बर बनाए । त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ ४७औं मिनेटमा एन्जल डि मारियाले गोल गरेपछि पिएसजी जिततर्फ अघि बढेको थियो । तेस्रो गोल गरेको ५ मिनेटमै पिएसजीले चौथो गोल हान्यो । यसपटक एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ०–४ को स्थितिमा पुराएका थिए । पिएसजी क्लिन सिटसहितको जितको नजिक पुगेको थियो ।

तर, त्यसपछि घरेलु टोली लियोनले लगातार २ गोल हान्यो । ६२औं मिनेटमा इस्लाम स्लिमनीले गोल गरेर भने ८१औं मिनेटमा म्याक्सवेल कोर्नेटले गोल गरेपछि पिएसजीको जित २–४ मा खुम्चियो । अब यो जितपछि पिएसजीको खातामा ३० खेलपछि ६३ अंक बनाएर शीर्ष स्थानमा चढेको छ । पराजित लियोन समान खेलपछि ६० अंकका साथ तेस्रो स्थानमा यथावत छ । अब पिएसजी र दोस्रो स्थानको लिलेको समान अंक भए पनि गोलअन्तरमा पिएसजी शीर्ष स्थानमा छ ।

प्रकाशित मिति ९ चैत्र २०७७, सोमबार ०२:४८
Loading...