रोनाल्डोको भन्दा दोब्बर भन्दा पनि धेरै कमाउँछन् मेस्सी : यी हुन् धेरै कमाउने ५ खेलाडी

एजेन्सी, चैत ८

वर्तमान फुटबल जगतमा सर्वाधिक कमाइ गर्ने खेलाडीको सूची सार्वजनिक भएको छ । ‘फ्रान्स पब्लिकेसन’ले प्रकाशित गरेको ताजा तथ्यांकअनुसार स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । केही समयपछि ३४ वर्ष पुग्न लागेका उनले अहिले पनि एक वर्षमा १०० मिलियन पाउन्ड भन्दा पनि बढी कमाइ गर्छन्, जुन सबैभन्दा धेरै हो । यता, मेस्सीका खास प्रतिस्पर्धी पोर्चुगल तथा इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो भने मेस्सीभन्दा निकै पछि देखिएका छन् । रोनाल्डो जति कमाउँछन्, मेस्सीले त्यसको दोब्बरभन्दा पनि धेरै कमाउँछन् ।

रिपोर्टअनुसार बार्सिलोनाका मेस्सीले अहिले प्रतिसाता २.१ मिलियन पाउन्ड कमाइ गर्छन् । जबकि, रोनाल्डाले भने प्रतिसाता ९ लाख पाउन्ड मात्रै कमाइ गर्छन् । यसरी हेर्दा रोनाल्डोको भन्दा मेस्सीले दोब्बरभन्दा पनि धेरै कमाइ गरेको देखिन्छ । प्रतिसाता रोनाल्डोले भन्दा मेस्सीले १२ लाख पाउन्ड बढी कमाइ गर्छन् । मेस्सीले एक सातामा २१ लाख पाउन्ड कमाइ गर्दा रोनाल्डोले मात्रै ९ लाख पाउन्ड कमाउने गरेको तथ्यांकबाट देखिन्छ । यो निकै ठूलो अन्तर हो । यो फुटबलबाट हुने कमाइ मात्रै हो । फुटबलबाहेक समग्र कमाइमा भने मेस्सीभन्दा रोनाल्डो अघि रहेको रिपोर्टहरूले देखाउँछन् ।

प्रतिवर्षको कमाइ हेर्दा मेस्सीले एक वर्षमा १०८.२ मिलियन पाउन्ड कमाउँछन् । रोनाल्डोले भने ४६.७ मिलियन पाउन्ड मात्रै कमाइ गर्छन् । प्रतिसाता रोनाल्डोको भन्दा १२ लाख पाउन्ड बढी कमाइ गर्ने मेस्सीले वर्षभभरिमा भने रोनाल्डोको भन्दा ६१.५ मिलियन पाउन्ड बढी कमाइ गर्छन् । त्यसैगरी, मेस्सी र रोनाल्डोभन्दा पछि तेस्रो स्थानमा हाल फ्रेन्च क्लब पिएसजीमा रहेका ब्राजिलियन नेइमार रहेका छन् । उनले प्रतिसाता ६ लाख पाउन्डभन्दा बढी कमाइ गर्छन् भने वर्षभिरमा उनले ३१.५ मिलिलन पाउन्ड कमाइ गर्छन् । नेइमार सरुवा बजारमा फुटबल इतिहासकै सर्वाधिक महँगा खेलाडी हुन् ।

त्यसैगरी, चौथो स्थानमा बार्सिलोना तथा फ्रान्सका फरवार्ड एन्टोनी ग्रीजम्यान रहेका छन् । उनले प्रतिसाता करिब ६ लाख पाउन्ड कमाउँदा वर्षभिमा भने २९.९ मिलियन पाउन्ड कमाइ गर्छन् । त्यसपछि पाँचौं स्थानमा गत समर सिजनमा बार्सिलोनाबाट एथ्लेटिको मड्रिडमा गएका फरवार्ड लुइस स्वारेज छन् । उनले पनि प्रतिसाता बार्सिलोनामा ग्रीजम्यानले जति नै कमाइ गर्छन् भने वार्षिक कमाइ पनि ग्रीजम्यान र स्वारेजको बराबरी नै रहेको तथ्यांकले देखाउँछ । पूरा सूची तल हेरौं–

प्रकाशित मिति ८ चैत्र २०७७, आईतवार १३:३७
Loading...