यसपटक कसले जित्ला च्याम्पियन्स लिग ? : आयो यस्तो सर्वेक्षण नतिजा

काठमाडौं, चैत ८

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा जारी सिजनका लागि क्वार्टरफाइनल (अन्तिम आठ) को ड्र घोषणा भइसकेको छ । यसपटक अन्तिम आठमा सबैभन्दा धेरै प्रिमियर लिगबाट तीन क्लब पुगेका छन् भने जर्मन लिग बुन्डेसलिगाबाट दुई क्लब छन् । त्यसैगरी, फ्रेन्च लिग वान र स्पेनिस ला लिगाबाट एक–एक क्लब पुग्दा युरोपको टप–५ लिगभन्दा बाहिरबाट एक मात्रै टिम पोर्टो पुगेको छ । अघिल्लो सिजनको च्याम्पियन लिभरपुल र गत सिजनको च्याम्पियन बार्यन म्युनिख दुवै अन्ति आठमा छन् । त्यसभन्दा अघिको रियल मड्रिड दुई सिजनपछि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि अन्तिम आठमा केही रोमाञ्चक ड्र परेको छ ।

यसपटक हेभिवेट टोलीहरू स्पेनिस बार्सिलोना, एथ्लेटिको मड्रिड, इटालियन युभेन्टस सहितका टिमहरू अन्तिम १६ बाटै आउट भए । यसपटक गत सिजनका फाइनालिस्ट टोली बार्यन म्युनिख र पिएसजी क्वार्टरफाइनलमै भिड्ने भएका छन् । यी दुईमध्ये एक टिम चाँडै बिदा हुनेछ । अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्ड प्रतिस्पर्धी पाएको छ । सिजन २०१७–२०१८ को च्याम्पियन रियल मड्रिडले सिजन २०१८–२०१९ को च्याम्पियन लिभरपुलसँग क्वार्टरमै भिड्नेछ । त्यसैगरी, पोर्चुगलको क्लब पोर्टो र इंग्लिस क्लब चेल्सी एकअर्काविरुद्ध भिड्नेछन् । क्वार्टरमा सबैभन्दा खतरनाक ड्र पिएसजी र बार्यनबीचको मानिएको छ । त्यसपछि लिभरपुल र रियल मड्रिडको ।

क्वार्टरफाइनलको ड्र घोषणा भएसँगै यसपटक च्याम्पियन को बन्ला ? गत सिजनको च्याम्पियन बन्ला ? वा, सर्वाधिक १३ पटकको च्याम्पियन रियल मड्रिड उपाधिमा फर्किएला ? वा, यसपटक सिटी, पिएसजी, डर्टमुन्डजस्ता कुनै नयाँ टिम च्याम्पियन बन्ला ? यसबारे विभिन्न भविष्यवाणी सुरु भइसकेको छ । क्वार्टरफाइनल चरण पूरा भएर ४ टोली आउट भइसकेपछि यो भविष्वाणी गर्न अझै सजिलो होला । यसैक्रममा, चर्चित संस्था ‘फाइभथर्टीएइट’ले यस सिजनको च्याम्पियन्स लिगको सम्भावित विजेताबारे एक अध्ययन सर्वेक्षण गरेको छ । उसले अन्तिम आठमा पुगेका क्लबहरूको स्थिति, यो सिजनको समग्र प्रदर्शन, घरेलु लिगमा गरेको प्रदर्शन, गत सिजन गरेको प्रदर्शन, हाल टोलीमा रहेका खेलाडीहरूको अवस्था आदि विविध पक्षलाई समेटेर यस्तो सर्वेक्षण तयार पारेको जनाएको छ ।

‘फाइभथर्टीएइट’ले सम्भावित च्याम्पियनको मात्रै भविष्यणाी गरेको छैन, उसले अन्तिम आठबाट सेमिफाइनल पुग्ने कुन टिमको सम्भावना कति छ भनेर पनि प्रतिशतमा भनेको छ । त्यसैगरी, हरेक टिमको क्वार्टरबाट सेमि र फाइनल पुग्ने सम्भावना साथै च्याम्पियन बन्न सक्ने अवस्थाको सर्वेक्षण गरेको छ । जसअनुसार म्यानचेस्टर सिटीलाई ‘फाइभथर्टीएइट’ले यसपटक उपाधिका लागि सबैभन्दा दाबेदार मानेको छ । त्यसपछि दोस्रोमा साबिक विजेता बार्यन म्युनिख र तेस्रो स्थानमा चेल्सीलाई राखेको छ । यहाँ सो अध्ययन प्रतिवेदनको पूरा विवरण उल्लेख छ:–

१. म्यानचेस्टर सिटी;
– सेमिफाइनल पुग्ने सम्भावनाः ७६ प्रतिशत
– फाइनल पुग्ने सम्भावनाः ५५ प्रतिशत
– उपाधि जित्ने सम्भावनाः ३७ प्रतिशत
२. बार्यन म्युनिख
– सेमिफाइनल पुग्ने सम्भावनाः ६० प्रतिशत
– फाइनल पुग्ने सम्भावनाः ३३ प्रतिशत
– उपाधि जित्ने सम्भावनाः १७ प्रतिशत

३. चेल्सी
– सेमिफाइनल पुग्ने सम्भावनाः ५५ प्रतिशत
– फाइनल पुग्ने सम्भावनाः २८ प्रतिशत
– उपाधि जित्ने सम्भावनाः १३ प्रतिशत
४. लिभरपुल
– सेमिफाइनल पुग्ने सम्भावनाः ५२ प्रतिशत
– फाइनल पुग्ने सम्भावनाः २५ प्रतिशत
– उपाधि जित्ने सम्भावनाः ११ प्रतिशत

५. रियल मड्रिड
– सेमिफाइनल पुग्ने सम्भावनाः ५३ प्रतिशत
– फाइनल पुग्ने सम्भावनाः २४ प्रतिशत
– उपाधि जित्ने सम्भावनाः १० प्रतिशत
६. बोरुसिया डर्टमुन्ड
– सेमिफाइनल पुग्ने सम्भावनाः ४१ प्रतिशत
– फाइनल पुग्ने सम्भावनाः १५ प्रतिशत
– उपाधि जित्ने सम्भावनाः ५ प्रतिशत

७. पिएसजी
– सेमिफाइनल पुग्ने सम्भावनाः ४० प्रतिशत
– फाइनल पुग्ने सम्भावनाः १४ प्रतिशत
– उपाधि जित्ने सम्भावनाः ५ प्रतिशत
८. एफसी पोर्टो
– सेमिफाइनल पुग्ने सम्भावनाः २४ प्रतिशत
– फाइनल पुग्ने सम्भावनाः ५ प्रतिशत
– उपाधि जित्ने सम्भावनाः १ प्रतिशत

प्रकाशित मिति ८ चैत्र २०७७, आईतवार १०:२९
Loading...