नेपालमै पहिलोपटक लन्च भयो नेपाली विद्यार्थीले बनाएको ‘गरुडा रकेट’

काठमाडौं, चैत ८

नेपालमै पहिलोपटक रकेट लन्च भएको छ, त्यो पनि नेपाली विद्यार्थीले बनाएको । सिन्धुलीको भिमानबाट नेपालको पहिलो रकेट लन्च भएको हो । इन्जिनियरिङका विद्यार्थीहरूको समूहले बनाएको रकेटलाई शनिबार पहिलोपटक प्रक्षेपण गरिएको हो । सो ऐतिहासिक रकेटलाई ‘गरुडा’ नाम दिइएको थियो । यसअघि नेपालमा कहिल्यै कुनै पनि प्रकारको रकेटको प्रक्षेपण भएको थिएन ।

तर, सो रकेटको परीक्षण अपेक्षाअनुसार सफल भने भएन । १० हजार फिट एलजीएलको उचाइमा पुग्ने अनुमान गरिएको सो रकेट परीक्षण प्रक्षेपण क्रममा करिब डेढ सय मिटर आकाशमा उडेर दुर्घटना भएको थियो । हावाका कारण रकेट दुर्घटना भएको रकेट बनाउने विद्यार्थीले बताएका छन् । ‘लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो,’ तामाङले भने, ‘मोटरमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन । हावाका कारणले फर्कियो, ‘ गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए ।

रकेट निर्माण तथा प्रक्षेपणमा संलग्न विद्यार्थीको समूहले हाल देखिएका समस्या तथा कमजोरीमा सुधार गरेर आगामी महिना पुनः सोही रकेटलाई प्रक्षेपण गर्ने बताएका छन् । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुने स्पेसपोर्ट अमेरिका कप–२०२१ मा सहभागिता जनाउनका लागि नेपाली विद्यार्थीले यस्तो रकेट बनाएका हुन्, जसलाई ‘गरुडा’ नाम दिएको हो ।

विद्यार्थीका अनुसार लन्च प्याड, हावाको बहाव र मोटरमा फ्युल बर्न राम्रोसँग नहुँदा प्रक्षेपण क्रममा रकेट दुर्घटना भएको हो । ७.४२ फिट उचाइको उक्त रकेटको ब्यास ६ इन्च छ । नेपाली युवाको समूहले गरेको परीक्षण प्रक्षेपणमा नेपाली सेनाले पनि सघाएको थियो । रकेट बनाउने काममा संलग्नहरूका अनुसार नेपाली सेनाले फेरि विद्यार्थीलार्य सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यस्तै, राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुनले पनि आफ्ना तर्फबाट अझै सहयोग गर्ने बताएका थिए । नेपालमै नेपाली विद्यार्थीले रकेट परीक्षण गर्नुलाई नयाँ युगको सुरुआत भन्दै यसले नयाँ सम्भावनाको ढोका खुलेको बताए । युवा विद्यार्थीको यो आविष्कार र कामलाई आफू र आफ्नो आविष्कार केन्द्रले सधैं सबैखाले सहयोग गर्ने प्रतिबद्धता केन्द्रका पुनले जनाएका छ ।

प्रकाशित मिति ८ चैत्र २०७७, आईतवार ०४:२६
Loading...