६ मिनेटमा ३ गर्दा बार्यनको फराकिलो जित : लेवान्डोस्कीले हाने शानदार ह्याट्रिक

काठमाडौं, चैत ७

जर्मन लिग बुन्डेसलिगा फुटबल प्रतियोगितामा लिग लिडर बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । आज शनिबार भएको लिगको २६औं साताको खेलमा बार्यन १० खेलाडीमा सीमित भए पनि उसले आफ्नो घरेलु मैदानमा स्टटगार्टविरुद्ध ४–० को फराकिलो जित निकाल्न सफल भयो । खेलको १२औं मिनेटमै बार्यनका डिफेन्डर अल्फोन्सो डेभिस सोझै रातो कार्ड पाएर मैदान छाडेपछि बार्यन चाँडै १० खेलाडीमा सीमित भएको थियो । तर, उसले एक खेलाडी कम भएको अवस्थामा पनि फराकिलो जित निकाल्न सफल भयो ।

आफ्नो घरेलु मैदानमा लिगको आठौं स्थानको स्टटगार्टविरुद्ध ४–० को जित निकाल्नेक्रममा बार्यनले मात्रै ६ मिनेटको बीचमा ३ गोल ठोकेको थियो । आजको खेलमा बार्यनका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले शानदार ह्याट्रिक गरे । लेवान्डोस्कीले पहिलो गोल गरेको मात्रै २२ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए । ३२ वर्षका लेवान्डोस्कीले आज एक गोल देब्रे खुट्टा, अर्को गोल दाहिने खुट्टा र अर्को हेडिङ गोलसहित पर्फेक्ट ह्याट्रिक गोल गरेर आफ्नो लय कायमै राखे ।

यो सिजन सुरुआतबाटै शानदार लयमा रहेका लेवान्डोस्कीले आज गरेको ३ गोलसँगै यो सिजन गरेको कूल लिग गोल संख्या ठीक ३५ पुगेको छ । यसअघि नै उनका नाममा बुन्डेसलिगामा ३२ गोल थियो । यो सिजन युरोपका शीर्ष लिगमा ३० गोल नघाउने उनी एक मात्रै खेलाडी हुन् । उनीभन्दा पछि दोस्रो स्थानमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो २३ गोलसहित रहेका छन् । अहिलेकै अवस्थामा अब लेवान्डोस्कीले रोनाल्डोलाई ठीक १२ गोलले पछि पारेका छन् । लेवान्डोस्की यो सिजन युरोपियन गोल्डेन बुटमा एकल दोबदारीसाथ लिड गरिरहेका छन् ।

बार्यनका डेभिसले विपक्षी खेलाडीमाथि खराब फउल गरेपछि खेलको १२औं मिनेटमा सोझै रातो कार्ड पाएर मैदान छाड्नु परेको थियो । त्यसपछि लेवान्डोस्कीले खेलको १७औं मिनेटमा सेर्गे गेनाब्रीको पासमा पोस्ट नजिकैबाट बललाई जाली चुमाउँदै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २२औं मिनेटमा पहिलो गोलमा असिस्ट दिएका गेनाब्रीले गोल गरेपछि घरेलु टोलीले अग्रता दोब्बर बनायो । सो गोलमा जर्मन खेलाडी लिरोए सानेले निकै राम्रो असिस्ट प्रदान गरेका थिए । सानेको पासमा गेनाब्रीले कुनै गल्ती नगरी बललाई पोस्टको दिशा दिएका थिए ।

गेनाब्रीले गोल गरेको अर्को मिनेटमै बार्यनका लागि लेवान्डोस्कीले अर्को गोल थपे । यसपटक लेवान्डोस्कीले स्टटवार्टका डिफेन्डरका माझबाट हेडिङमार्फत् दर्शनी गोल गरे । उनको गोलमा थोमस मुलरले पास मिलाएका थिए । त्यसपछि खेलको ३९औं मिनेटमा बार्यनका लागि लेवान्डोस्कीले चौथो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । लवान्डोस्कीले बटम कर्नर च्याप्दै १८ यार्ड टाढाबाट हानेको कडा प्रहारले सोझै जाली चुमेको थियो । सो खेलपछि पहिलो हाफमा बार्यनले ४–० को अग्रता बनायो । तर, दोस्रो हाफको समयभरि दुवै टोलीबाट कुनै गोल नहुँदा खेल बार्यनले पहिलो हाफकै अग्रता बचाएर ४–० ले जित्यो ।

अब यो जितपछि बार्यनले लिगका २६ खेलबाट कूल ६१ अंक जोडेको छ । उसले समान खेलपछि दोस्रो स्थानको आरबी लेइपजिगलाई अझै पनि ४ अंकले पनि पछि छाड्न सफल भएको छ । दुवैले समान २६–२६ खेल खेलेका छन् । यता, बार्यनसँग पराजित स्टटगार्ट भने ३६ अंकसहित आठां स्थानमा यथावत रहेको छ । लिगमा अब अन्तिम ८ खेल मात्रै बाँकी रहेका छन् । हालकै अवस्थामा बार्यन यो सिजन पनि उपाधि होडमा सहज अवस्थामा छ ।

प्रकाशित मिति ७ चैत्र २०७७, शनिबार १६:१०
Loading...