यी प्रमुख दुई सर्तमा रियल मड्रिडले रोनाल्डोलाई फर्काउन सक्छ

काठमाडौं, चैत ७

इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो यो सिजनको अन्त्यपछि पूर्वक्लब रियल मड्रिड फर्किने चर्चा बढेको छ । युभेन्टससँग तीन सिजन बिताउँदा पनि च्याम्पियन्स लिग जित्न नसकेपछि रोनाल्डो आफैं निराश छन् भने क्लबले पनि उनलाई बिदा गर्न सक्ने चर्चा सुरु भएको हो । सन् २०१८ मा युभेन्टसले ३३ वर्षका रोनाल्डोलाई ११६ मिलियन युरो मूल्यमा रियलबाट भित्र्याएको थियो । रोनाल्डोले च्याम्पियन्स लिग जित्न सघाउने लक्ष्यसाथ युभेन्टसले भित्र्याए पनि त्यसअनुसार युरोपियन प्रतियोगितामा प्रगति नहुँदा अहिले रोनाल्डो र युभेन्टस दुवै निराश छन् । यो सिजन युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट भएपछि इटालीमा रोनाल्डोको भविष्य नै अनिश्चित बनेको छ ।

जसका कारण रोनाल्डो रियल मड्रिड फर्किने चर्चा अहिले लगातार बढ्दो छ । फुटबलको सरुवा बजारमा रोनाल्डो पुनः स्पेन फर्किन सक्ने र नसक्नेमा विभिन्न विश्लेषण तथा बहसहरू जारी छन् । धेरैले यसलाई सम्भावित भनेका छन् । रियलकै प्रशिक्षक जिनेदिन जिदानले समेत रोनाल्डोको फिर्तीलाई सम्भावित भनेपछि यो विषय झन् चर्चाको विषय बनेको छ । रियलका केही अधिकारीले पनि यसलाई सकारात्मक भनेका छन् । रियलका केही मुख्य खेलाडी खास गरी कप्तान सर्जियो रामोसले पनि रोनाल्डो पुनः स्पेन फर्किंदा आफूलाई खुसी लाग्ने बताएका छन् । केही मिडियाले त रोनाल्डोलाई युभेन्टसले फ्री ट्रान्सफरमा छाड्न सक्ने सम्भावना रहेको पनि औंल्याएका छन् ।

स्पेनको चर्चित पत्रिका ‘मार्का’ले प्रकाशित गरेको ताजा रिपोर्टअनुसार रोनाल्डोलाई केही खास अवस्था र सर्तमा रियल मड्रिडले फर्काउन सक्छ । रोनाल्डो आफैं पनि रियल फर्किन इच्छुक रहेकाले यी दुई पक्षबीच केही कुरा छाडेर भए पनि सम्झौता बन्ने सम्भावना रहेको बताइएको छ । ३६ वर्षका रोनाल्डोलाई रियलले फर्काउन दुई सर्त राख्ने ‘मार्का’ ले जनाएको छ । पहिलो– पहिलाको तलबमा कटौती । बढ्दो उमेरका रोनाल्डोलाई पुनः अनुबन्ध गर्नुपर्दा रियलले रोनाल्डोसँग थोरै तलबको सर्त राख्नेछ । २०१८ मा रोनाल्डोले रियल छाडनुअघि ३३ मिलियन युरो तलब प्रतिसिजन लिन्थे ।

तर, अब रियलले रोनाल्डोलाई पहिलाकै जति तलब–सुविधा दिन सक्दैन । कोरोना भाइरसका कारण बढ्दो आर्थिक संकट साथै रोनाल्डोको बढ्दो उमेरले गर्दा पनि रियल रोनाल्डोलाई सकेसम्म कम तलबमा सहमत गराउने प्रयास रियलले गर्नेछ । क्लबका सर्वाधिक सफल खेलाडी भएकाले रियलले रोनाल्डोलाई सकेसम्म कम तर सम्मानित तलबमा सहमत गराउनका लागि प्रस्ताव राख्नेछ । यदि घट्दो तलबमा रोनाल्डो सहमत भए भने यी दुई पक्षबीच डिल फाइनल बन्न सक्ने विश्लेषण गरिन्छ । यस विषयमा रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेजले पनि यसअघि खास खुलासा गरेका थिए ।

दोस्रो सर्त– छोटो अवधिको सम्झौता । रोनाल्डो पुनः रियल मड्रिड फर्किनका लागि रियलले उनीसँग छोटो अवधिको सम्झौताका लागि प्रयास गर्नेछ । रिपोर्टअनुसार रियलले रोनाल्डोको उमेर ३९ वर्ष हुँदासम्मका लागि सम्झौता गर्न सक्छ । यदि यो सिजन सकिएपछि रोनाल्डो र रियलीच दोस्रोपटक अनुबन्धका लागि डिल भयो भने रोनाल्डोले कम्तीमा तीन सिजनका लागि सम्झौता गर्न सक्छन् । रोनाल्डोलाई उनको उमेर ३९ वा बढीमा ४० वर्षसम्म सम्मानजनक भूमिकाका साथ टोलीमा स्थान दिन रियल तयार हुन सक्छ । यदि रोनाल्डो रियल फर्किए उनले त्यहींबाट करिअर अन्त्य गर्ने सम्भावना बढ्नेछ ।

प्रकाशित मिति ७ चैत्र २०७७, शनिबार १२:५५
Loading...