‘मेस्सी र नेइमार फेरि सँगै खेल्न सक्छन् भने त्यो बार्सिलोना हो’

एजेन्सी, चैत ७

यो सिजनको अन्त्यपछि स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी क्लब छाड्ने तयारीमा छन् । उनलाई फ्रेन्च क्लब पिएसजीले नजिकबाट चासो देखाइरहेको छ । त्यसो त मेस्सी इंग्लिस क्लब म्यानचेस्टर सिटी जान सक्ने चर्चा पनि विगतबाटै छ । सरुवा बजारका पछिल्ला चर्चाहरू अनुसार मेस्सीलाई पिएसजीले भित्र्याउनका लागि तयारी समेत थालिसकेको छ । मेस्सीका लागि कोठा खाली गर्न पिएसजीले अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीलाई बेच्ने तयारी गरेको चर्चा छ । के मेस्सी साँच्चै नै पिएसजी जाँदैछन् । वा, बार्सिलोनामै रहन्छन् ? यो अहिले प्रश्नमै सीमित छ । क्याम्प नोउमा पछिल्लो समयका घटनाक्रम हेर्दा मेस्सी कतै नजाने स्थिति सिर्जना हुँदै गएको देखिन्छ ।

तर, यदि मेस्सी बार्सिलोना छाडेर पिएसजी जाने अवस्था आयो भने त्यहाँ उनले पूर्वसहकर्मी नेइमारसँग पुनः सँगै खेल्नेछन् । अर्थात्, बार्सिलोनामा सँगै छँदाका खास साथी पिएसजीमा सँगै हुन सक्छन् । तर, नेइमारका पूर्वएजेन्ट आन्ड्रे करीले भने नेइमार र मेस्सी पुनः एकसाथ खेल्न सक्छन् भने त्यो ठाउँ पिएसजी नभई बार्सिलोना रहेको बताएका छन् । विगतमा लामो समय नेइमारका एजेन्ट रहेर काम गरेका उनले बार्सिलोनाका नयाँ अध्यक्ष जोन लापोर्टालाई मेस्सी र नेइमारलाई पुनः क्याम्प नोउमा पुनर्मिलान गराउन पनि सुझाव दिएका छन् । यदि त्यसो भए बार्सिलोना फेरि पहिलाकै शान र स्तरमा फर्किने करीले बताएका छन् ।

‘बजारमा मेस्सीको भविष्यलाई लिएर विभिन्न चर्चा छन् । उनको नाम म्यानचेस्टर सिटी र पिएसजीसँग जोडिने गर्छ । तर, मेस्सी बार्सिलोना छाडेर अन्यत्र जाने कुरा अब बदलिसकेको देखिन्छ । किनभने, उनी बार्सिलोनामै नयाँ सम्झौता गर्न गइरहेका छन्,’ करीले एक अन्तर्वार्तामा भनेका छन्, ‘पिएसजीमा मेस्सी र नेइमारको पुनर्मिलन हुने चर्चालाई धेरैले रुचाए । तर, स्थिति बदलिसक्यो । यदि अब नेइमार र मेस्सीले पुनः सँगै खेल्छन् भने त्यो पिएसजीमा होइन, बार्सिलोनामा हो । नेइमार अझै पनि विश्वस्तका एक खेलाडी भएकाले नयाँ अध्यक्ष लापोर्टालाई म क्याम्प नोउमा घनिष्ट मित्रहरूको पुनर्मिलन गराउनका लागि सोच्न अनुरोध गर्छु ।’

यदि नेइमार र मेस्सीले पुनः बार्सिलोनामा सँगै खेले भने त्यसले बार्सिलोनामा पुराना दिन र खुसीका क्षण फर्काउने करीले बताएका छन् । ‘विगतमा नेइमार र मेस्सीले बार्सिलोनामा के–के गरे, त्यो सबैलाई थाहा छ । यदि अझै पनि बार्सिलोनामा उनीहरूले एकसाथ खेले भने त्यहाँ पहिलाकै जस्तो जित र उपाधिको खुसीयाली फर्किनेछ । अहिले पनि बार्सिलोनामा मेस्सीका लागि सबैभन्दा राम्रो पार्टर नेइमारभन्दा अरू कोही हुन सक्ने खेलाडी बजारमा देखिँदैन । बजारमा चर्चा केही खेलाडीका छन् । तर, नेइमार र मेस्सी एकअर्काका लागि सबैभन्दा उत्तम पार्टनर हुन् । मेस्सी र नेइमार खेल्दा जति राम्रो हुन्छ, अरू कुनै खेलाडी मेस्सीसँग खेलेर त्यत्ति हुन सक्दैन ।’

प्रकाशित मिति ७ चैत्र २०७७, शनिबार ११:३६
Loading...