ला लिगामा आज सेल्टा भिगो र रियल मड्रिड भिड्दै : रियललाई दोस्रो स्थानमा चढ्ने मौका

काठमाडौं, चैत ७

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको रियल मड्रिडले आज सिजनको २८औं खेल खेल्दै छ । यो खेलका लागि रियल १०औं स्थानको सेल्टा भिगोको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ठीक ९ बजेबाट सुरु हुनेछ । आजको खेल यी दुवै टोलीका लागि २८औं साताका खेल हुनेछ । हालको अवस्थामा लिगमा कूल ११ खेल मात्रै बाँकी छन् । अब यी खेलबाट यो सिजनको च्याम्पियन को बन्ने भन्ने कुराको टुंगो लाग्नेछ । रियल यी बाँकी खेलबाट अझै पनि उपाधि जित्न सकिन्छ भन्ने दाउमा रहेको देखिन्छ ।

हाल अंक तालिकामा रियल कूल ५७ अंकसहित तेस्रो स्थानमा रहेको छ । ऊ ताजा अवस्थामा समान खेल खेलेको लिग लिड एथ्लेटिको मड्रिडभन्दा ६ अंक र दोस्रो स्थानको बार्सिलोनाभन्दा २ अंकले पछि परेको छ । रियलले पछिल्ला ५ खेलमध्ये ३ खेल जितेर २ खेल बराबरी गरेको छ । यता, आज रियललाई आफ्नो घरमा स्वागत गर्न लागेको सेल्टा भने अहिले अंक तालिकामा ३४ अंकसहित १०औं स्थानमा रहेको छ । उसले लिगका पछिल्ला ५ खेलमध्ये मात्रै २ खेल जितेर २ खेल बराबरी गर्दा १ खेल भने हारेको छ ।

आज अवे मैदानमा उत्रिँदा जिनेदिन जिदानको टोली स्पष्ट जितको खोजीमा हुनेछ । उपाधि होडमा कायमै रहन उसलाई अबका हरेक खेलमा जित आवश्यक छ । आजको जितपछि रियल बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा चढ्ने हुँदा पनि रियललाई आज स्पष्ट जित आवश्यक छ । आज ३ अंक जोड्न सके उसले बार्सिलोनालाई १ अंकले पछि पार्दै लिग लिडर एथ्लेटिकोसँगको दूरी पनि ३ मा छोट्याउनेछ । तर, त्यसबेला एथ्लेटिको र बार्सिलोनासँग एक खेल बाँकी नै हुनेछ ।

यसै साता मात्रै युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको रियल आज ठूलो ऊर्जा र आत्मविश्वासका साथ यो खेलमा सहभागी हुनेछ । अन्तिम १६ को दोस्रो लेगमा उसले इटालियन एटलान्टालाई आफ्नो मैदानमा ३–१ र समग्रमा ४–१ ले हराएर क्वार्टरफाइनल प्रवेश गरेर उसले इंग्लिस क्लब लिभरपुल प्रतिस्पर्धी पनि पाएको छ । लिभरपुलसँग क्वार्टरको पहिलो लेगको खेल आफ्नो घरमा खेल्नुअघि ला लिागमा दुई खेल्ने रियलले यी दुवै खेलमा उत्कृष्ट नतिजा निकालेर लिगमा सुधार गर्ने दाउमा छ । आज सेल्टासँग खेलेर शनिबार आफ्नै घरमा एइबारसँग खेलेपछि रियलले लिभरपुलको सामना गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति ७ चैत्र २०७७, शनिबार ०४:२०
Loading...