कतार विश्वकप छनौट खेल्ने जर्मनीको टोली घोषणा : केही मुख्य खेलाडी आउट, को–को परे ?

काठमाडौं, चैत ६

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा सुरु हुन लागेको छनौट खेल खेल्न जर्मनीले आफ्नो सिनियर टोली घोषणा गरेको छ । प्रमुख प्रशिक्षक जोआचिम लोले आज आगामी तीन खेलका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् । यसपटक टोलीमा ३ जना मुख्य खेलाडीलाई छाडेर बाँकी खेलाडीलाई डाकिँदा केही युवा खेलाडी पनि टोलीमा परेका छन् । स्पेनिस क्लब बार्सिलोनामा पहिलो रोजाइमा खेल्ने गोलकिपर मार्क आन्द्रे टर स्टेगेनलाई यसपटक टोलीमा डाकिएको छ । उनी जर्मनीको राष्ट्रिय टोलीमा लगातार दोस्रो रोजाइमा रहँदै आएका छन् । उनी राष्ट्रिय टोलीमा परे पनि खेल्न भने पाएका छैनन् ।

यसपटक पनि पहिलो रोजाइका गोलकिपरमा बार्यन म्युनिखका म्यानुएल निउरलाई डाकिएको छ । तर, यसपटक फरवार्ड थोमस मुलरलाई टोलीमा राखिएको छैन । त्यसैगरी, बोरुसिया डर्टमुन्डबाट खेल्ने फरवार्ड मार्को रेउसलाई पनि टोलीमा राखिएको छैन । फ्रेन्च क्लब पिएसजीबाट खेल्ने मिडफिल्डर जुलियन ड्राग्सलर, बोरुसिया डर्टमुन्डबाट खेल्ने जुलियन ब्रान्डटलाई पनि टोलीमा राखिएको छैन ।

यता, रक्षापंक्तिमा बोरुसिया डर्टमुन्डका इम्री च्यान, बार्यन म्युनिखका निकालस सुले, इंग्लिस क्लब चेल्सीका एन्टानियो रुडीगरसहितका खेलाडी परेका छन् । मिडफिल्डमा बार्यनकै सेर्गे गेनाब्री, लियोन गोरेट्जा र जोसुवा किमिच पर्दा इंग्लिस क्लब म्यानचेस्टर सिटीका इकाए गुन्डोगान, इंग्लिस क्लब चेल्सीका काई हार्भट्ज र स्पेनिस रियल मड्रिडका टोनी क्रुसलाई यसपटक टोलीमा डाकिएको छ ।

यता, यसपटक फ्रन्ट लाइनमा रेउस र मुलरलाई छाडेर बार्यन म्युनिखका १८ वर्षीय युवा खेलाडी जमल मुसियालालाई टोलीमा डाकिएको छ । बार्यनकै लिरोए साने र इंग्लिस क्लब चेल्सीका टिमो वार्नरलाई पनि टोलीमा समावेश गरिएको छ । यसपटक जर्मनीको फ्रन्ट लाइन सम्हाल्ने जिम्मा यी नै खेलाडीमाथि हुनेछ । मुलर र रेउस यसअघि लगातार टोलीको मुख्य हिस्सा बन्दै आएका थिए । जर्मनीले यस महिनाको अन्तिममा विश्वकप छनौट अन्तर्गत पहिलो चरणमा ३ खेल खेल्नेछन् ।

जसमा पहिलो खेल मार्च २५ तारिखमा आइसल्यान्डसँग आफ्नो भूमिमा खेल्ने तालिका छ । त्यसपछि दोस्रो खेल रोमानियासँग उसकै भूमिमा खेल्नेछ भने यस चरणको अन्तिम तथा तेस्रो खेल आफ्नो भूमिमा नर्थ म्याकेडोनियासँग खेल्नेछ । विश्वकप छनौटमा जर्मनीसहित अर्मानिया, आइसल्यान्ड, लिच्टेन्स्टेइन, नर्थ म्याकेडोनिया र रोमानिया रहेका छन् । यस समूहमा जर्मनी मात्रै फिफा वरीयताको उच्च स्थानको टोली हो ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार १२:५०
Loading...