काठमाडौं, भदौ २५
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले अर्जेन्टिनाले फराकिलो जित निकालेको छ । आज बिहान अमेरिकाको टेक्सास सहरमा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४–० ले स्तब्ध बनायो । अर्जेन्टिनाको फराकिलो जितमा इटालियन इन्टर मिलानाट खेल्ने फरवार्ड लौटारो मार्टिनेजले रोमाञ्चक ह्याट्रिक गरे ।
अर्जेन्टिनाले गरेका ४ वटै गोल पहिलो हाफमा गरेको थियो । मार्टिनेजले पहिलो हाफमा मात्रै ३९ मिनेटको बीचमा आफ्नो हयाट्रिक पूरा गरेका थिए । उनले खेलको १७, २२औं र ३९औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । त्यसपछि मार्टिनेजलाई दोस्रो हाफको सुरुमै सब्सिच्युट गरिएको थियो ।
अर्को १ गोल ३३औं मिनेटमा लियान्ड्रो पाराडेसले पेनाल्टीबाट गोल गरे । पहिलो हाफमा ४–० को अग्रता लिएकोमा दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अर्जेन्टिनाले ४–० ले जित्यो ।
प्रकाशित मिति २५ भाद्र २०७६, बुधबार ०४:०६