पेनाल्टी गोलबिनाको ह्याट्रिक : रोनाल्डोभन्दा मेस्सी दोब्बरले अघि, हेरौं तथ्यांक

काठमाडौं, चैत ६

पोर्चुगल तथा इटालियन युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिना तथा स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीबीच दशकौंदेखि फुटबल जगतमा पेचिलो प्रतिस्पर्धा छ । यी दुई खेलाडीबीच जति प्रतिस्पर्धा छ, त्योभन्दा पेचिलो र गरमागरम प्रतिस्पर्धा त यिनका फ्यानले बनाएका छन् । यी दुई खेलाडी सन् २००९ देखि २०१८ सम्म ला लिगामा सोझो प्रतिस्पर्धी भएर खेले । यसबाहेक दुवै आज पनि युरोपियन प्रतियोगिता र अन्तर्राष्ट्रिय फुटबलमा पनि प्रतिस्पर्धी नै रहेका छन् । यी खेलाडीले आ–आफ्नो करिअरमा १७ वर्षे लामो यात्रा बिताइरहँदा अझै पनि उच्च स्तरमा खेलिरहेका छन् । र, दशकौंदेखि यी दुईबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

यी दुई खेलाडीबीच टिम उपाधि, व्यक्तिगत अवार्डमा मात्रै प्रतिस्पर्धा छैन, व्यक्तिगत गोल संख्या, असिस्ट संख्यादेखि लिएर खेलको समग्र प्रदर्शन पनि सधैं प्रतिस्पर्धा र चर्चाको विषय बन्ने गर्छ । आज रोनाल्डो ३६ वर्षका भए र मेस्सी ३४ वर्षका । मेस्सीले १७ वर्षदेखि लगातार बार्सिलोनाबाट खेलिरहेका छन् भने रोनालडोले पोर्चुगिज क्लब स्पोर्टिङ, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस रियल मड्रिड हुँदै अहिले इटालियन युभेन्टसमा छन् । यसरी हेर्दा मेस्सीको भन्दा रोनाल्डोको करिअर ज्यादा चुनौतीपूर्ण र उत्तारचढावपूर्ण रहेको स्पष्टै छ । किनभने, मेस्सीले सधैं एकै क्लबमा एकै टिमका साथ मात्रै खेल्दै आए ।

आजसम्म मेस्सीले करिअरमा ६ पटक बालोन डिओर र ६ पटक युरोपियन गोल्डेन बुट जितेका छन् । तर, उनले आजसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनन् । मेस्सीले चारपटक युरोपियन च्याम्पियन्स लिग उपाधि जितेका छन् । यता, रोनाल्डोले पाँचपटक बालोन डिओर र चारपटक युरोपियन गोल्डेन बुट जितेका छन् । उनले मेस्सीले कहिल्यै जित्न नसकेको दुई अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । त्यसैगरी, रोनाल्डोले मेस्सीको भन्दा एकपटक बढी अर्थात् कूल पाँचपटक च्याम्पियन्स लिग जितेका छन् । त्यो पनि फरक–फक क्लबबाट । आज मेस्सी ला लिगा इतिहासकै सर्वाधिक गोलकर्ता हुन् भने रानाल्डो युरोपियन च्याम्पियन्स लिग र अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीमध्ये १०२ गोलका साथ सर्वाधिक गोलकर्ता हुन् । यी दुवै मामिलामा मेस्सी नै पछि छन् ।

रोनाल्डो र मेस्सीमध्ये ह्याट्रिकमा को बलियो ?

यी दुई खेलाडीले आजसम्म गरेको ह्याट्रिक गोलको विषयमा यहाँ चर्चा गरौं । आजसम्म रोनाल्डोले कूल ५७ ह्याट्रिक गरेका छन् । उनले यो क्लब र देशका लागि गरेको कूल ह्याट्रिक हो । यता, मेस्सीले हालसम्म क्लब बार्सिलोना र देशका लागि गरी कूल ५४ ह्याट्रिक गरेका छन् । ताजा अवस्थामा मेस्सी रोनाल्डोभन्दा ३ ह्याट्रिकले मात्रै पछि छन् । तर, ह्याट्रिक गोलमा पेनाल्टीबिना गोल गर्नेमा भने रोनाल्डोभन्दा मेस्सी धेरै अघि छन् । फुटबलको तथ्यांक संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था ‘ओप्टा’का अनुसार रोनाल्डोले समग्रमा मेस्सीको भन्दा धेरै ह्याट्रिक गरे पनि पेनाल्टीबिनाको ह्याट्रिक भने मेस्सीले नै धेरै गरेका छन् ।

यदि पेनाल्टी गोल सामेल भएको ह्याटिक छाडेर बाँकी ह्याट्रिक गणना गर्ने हो भने मेस्सीका नाममा कूल ४० ह्याट्रिक छ । तर, रोनाल्डोका नाममा मात्रै २७ छ । पेनाल्टी गोलबिनाको हयाट्रिक मेस्सीले रोनाल्डोका भन्दा १३ पटक बढी गरेका छन् । यसरी हेर्दा रोनाल्डोले गरेका कूल ह्याट्रिकमध्ये ३० ह्याट्रिकमा पेनाल्टी गोल सामेल छ । तर, मेस्सीले गरेका कूल ५४ ह्याट्रिकमध्ये मात्रै १४ ह्याट्रिकमा मात्रै पेनाल्टी गोल सामेल छ । यो तथ्यांकले ह्याट्रिक मामिलामा रोनाल्डोभन्दा मेस्सी बढी प्रभावशाली रहेको देखिन्छ । समग्रमा रोनाल्डो मेस्सीभन्दा अगाडि भए पनि पेनाल्टी गोलबिनाको ह्याट्रिक संख्यामा भने उनी पछि नै छन् ।

यता, ‘ओप्टा’कै अर्को तथ्यांकअनुसार ‘पर्फेक्ट ह्याट्रिक’को मामिलामा भने फेरि मेस्सी जिरो छन् भने रोनाल्डो रेकर्डधारी खेलाडी नै हुन् । पर्फेक्ट ह्याट्रिक भन्नाले हेडिङ, देब्रे खुट्टा र दाहिने खुट्टाले फरक–परक तरिकाले ३ गोल गर्नुलाई पर्फेक्ट ह्याट्रिक भनिन्छ । यसमा दाहिने खुट्टाले पेनाल्टी गोल गरे पनि त्यसलाई पर्फेक्ट ह्याट्रिकमै गणना गरिन्छ । पर्फेक्ट ह्याट्रिकको तथ्यांक हेर्दा चैं रोनाल्डोले आजसम्म कूल ९ पटक यस्ता पर्फेक्ट ह्याट्रिक गरेका छन्, जुन फुटबल इतिहासकै सबैभन्दा बढी हो । अन्य खेलाडी उनको छेउछाउ पनि छैनन् ।

यता, यस्तो ह्याट्रिक मेस्सीले भने आजसम्म एउटा पनि गर्न सकेका छैनन् । रोनाल्डोले गरेका कूल ५७ ह्याट्रिकमधये ९ पटक हेडिङ, दाहिने खुट्टा र देब्रे खुट्टाले गरेका छन् । तर, मेस्सीले आजसम्म १ पटक पनि हेडिङ गोलसहित ह्याट्रिक गर्न सकेका छैनन् । यो एकदमै अफिसियल तथ्यांक हो । यसरी हेर्दा पेनाल्टीबिनाको ह्याट्रिकमा रोनाल्डोभन्दा मेस्सी करिब दोब्बरले अघि छन् भने पर्फेक्ट ह्याट्रिकको मामिलामा भने रोनाल्डो इतिहासकै रेकर्डधारी हुँदा मेस्सी भने आजसम्म पनि जिरोमै छन् ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार ०६:२८
Loading...