च्याम्पियन्स लिगमा क्वार्टरफाइनलको ड्र आज हुँदै : ड्र बारे सम्पूर्ण जानकारी हेरौं

काठमाडौं, फागुन ६

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनल चरणको ड्र हुँदैछ । अघिल्लो दिन अन्तिम १६ का अन्तिम दुई खेलबाट जर्मन क्लब बार्यन म्युनिख र इंग्लिस क्लब चेल्सी विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेपछि सो चरणको समीकरण पूरा भएको हो । अन्तिम १६ बाट ८ टोली आउट भएका छन् भने ८ टोली उपाधि होडमा अघि बढेका छन् । यसपटक केही हेभिवेट टोली अन्तिम १६ बाटै आउट भएका छन् । क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस र लिओनल मेस्सीको टिम बार्सिलोना दुवै अन्तिम १६ बाट आउट भए । यी दुई खेलाडीमध्ये कोही एक जना पनि एकसाथ क्वार्टरफाइनल नपुगेको यो १३ वर्षपछि पहिलोपटक हो ।

यसपटक सबैभन्दा धेरै इंग्लिस प्रिमियर लिगका ३ वटा टोली क्वार्टरफाइनल प्रवेश गरेका छन् । सबैभन्दा धेरै च्याम्पियन्स लिग जित्ने स्पेनिस टिमको प्रतिनिधित्व अन्तिम आठमा यसपटक एक मात्रै रियल मड्रिडले गरेको छ । स्पेनका बार्सिलोना र एथ्लेटिको मड्रिड सबै आउट भए । त्यसैगरी, जर्मन लिग बुन्डेसलिगाका दुई क्लब पनि अन्तिम आठमा प्रवेश गरेका छन । यसपटक युरोपियन टप–५ भन्दा बाहिरबाट पोर्चुगलको क्लब पोर्टो पनि अन्तिम आठमा प्रवेश गरेको छ । टप–५ लिग बाहिरबाट अघि बढ्ने ऊ मात्रै हो । उसले इटालियन युभेन्टसलाई हराएको थियो । यी हुन् अन्तिम आठमा पुग्ने टोलीहरू–:

Borussia Dortmund (GER)
Liverpool (ENG)
Manchester City (ENG)
Paris Saint-Germain (FRA)
Porto (POR)
Real Madrid (ESP)
Chelsea (ENG)
FC Bayern (GER)

क्वार्टरफाइनलको ड्र युइएफएको केन्द्रीय कार्यालय स्वीट्जरल्यान्डको नियोनस्थित कार्यालयमा आज शुक्रबार हुँदैछ । युइएफएको पूर्वघोषित कार्यक्रमअनुसार ड्र नेपाली समयअनुसार आज अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ । ड्र हुँदाको लाइभ कार्यक्रम युइएफएको अफिसियल युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण गर्ने कार्यक्रम छ । त्यसैगरी, नेपालमा भने सोनी टेन टु एचडीबाट पनि ड्र कार्यक्रमको लाइभ प्रशारण हुनेछ ।

अबका खेलहरू कहिले–कहिले हुन्छन् ?

आज साँझ क्वार्टरफाइनलको ड्र भइसकेपछि पहिलो लेगका खेल अप्रिल ६ र ७ तारिखमा खेलाउने तालिका छ । त्यसपछि दोस्रो लेगमा खेल भने अप्रिल १३ र १४ तारिखमा हुनेछन् । त्यसपछि सेमिफाइनल अन्तर्गत पहिलो लेगका खेल अप्रिल २७ र २८ तारिखमा हुने तालिका छ । दोस्रो लेगका खेल भने मे ४ र ५ तारिखमा खेलाउने तालिका तय छ । त्यसपछि फाइनल खेल आगामी मे २९ तारिखमा हुनेछ । यसपटक फाइनल खेल टर्कीको इस्तानबुलमा हुनेछ । गत सिजनकै फाइनल खेल सो स्थानमा खेलाउने भनिए पनि कोरोना भाइरसका कारण अन्तिम समयमा स्थान सारेर पोर्चुगलको लिस्वनमा आयोजना गरिएको थियो । तर, यसपटक इस्तानबुलमै हुनेछ ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार ०२:३१
Loading...