शानदार जितसहित चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा : एथ्लेटिको मड्रिड आउट

काठमाडौं, चैत ५

स्पेनिस लिग ला लिगाको लिग लिडर एथ्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै आउट भएको छ । गत राति भएको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा एथ्लेटिको इंग्लिस क्लब चेल्सीसँग २–० ले पराजित भयो । चेल्सीको घरेलु मैदानमा दोस्रो लेग पनि हारेपछि एथ्लेटिको समग्रमा ३–० ले पराजित हुँदै प्रतियोगिताबाटै आउट भयो भने चेल्सी शानदार जितसहित क्वार्टरफाइनल प्रवेश गर्न सफल भयो । यसअघि पहिलो लेगमा चेल्सीले एथ्लेटिकोलाई उसैको घरमा ०–१ ले हराएको थियो । तर, दोस्रो लेगमा नतिजा उल्ट्याउने लक्ष्यसाथ चेल्सीको घरेलु मैदान उत्रिएको पाहुना टोलीको कुनै सिप नचल्दा उसले च्याम्पियन्स लिगबाट बिदा हुनु परेको हो ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि खेलको ३४औं मिनेटमा हाकिम जियाचले गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । चेल्सीको द्रुत आक्रमणमा सो गोल गरेको थियो । टिमो वार्नरले मैदानको तल्लो भागबाट दिएको क्रस पासमा जियाचले सजिलैसित गोल गरे । निकै चलाखीपूर्वक वार्नरले एथ्लेटिकोका ३ जना डिफेन्डरका माझबाट बल छिराएर अनर्माृ रहेका जियाचलाई बल सप्लाई गरेका थिए, जसमा जियाचले कुनै गल्ती नगरी गोल गरेर पाहुना टोली एथ्लेटिकोलाई ठूलो संकटमा धकेलिदिएका थिए । एथ्लेटिकोले डिफेन्समा कमजोरी गर्दा सो गोल खान पुगेको थियो । घरेलु टोलीले पाएको पहिलो अवसरको ठीकठाक सदुपयोग गर्दै महत्त्वपूर्ण गोल निकाल्न सफल भयो ।

गोल खाएपछि नतिजा उल्ट्याउनका लागि झनै दबाबमा परेको एथ्लेटिकोले खेलमा लगातार आक्रमण बुने पनि सकेन । खेलको ८१औं मिनेटमा एथ्लेटिको १० खेलाडीमा सीमित भयो । डिफेन्डर स्टेफान सेभिच सोझै रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए । त्यसपछि ९० मिनेटपछि थप भएको समयको चौथो मिनेटमा चेल्सीका सब्सिच्युट खेलाडी इमर्सन पाल्मेइरीले मैदान छिरेको केही मिनेटमै गोल गरेपछि चेल्सीको जित पक्का भयो । उनको गोलमा पुलिसिचले असिस्ट गरेका थिए । पहिलो लेग ०–१ र दोस्रो लेग २–० ले जितेपछि चेल्सी समग्रमा ३–० को प्रभावशाली जितसहित प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गर्न सफल भयो ।

प्रकाशित मिति ५ चैत्र २०७७, बिहीबार ००:५५
Loading...