रियल मड्रिड ब्याक इन द क्वार्टरफाइनल : यात्रा च्याम्पियन्स लिगको १४औं उपाधितर्फ

काठमाडौं, चैत ४

स्पेनिस महारथि रियल मड्रिडलाई ‘युरोपियन च्याम्पियन्स लिगको राजा’ भन्ने गरिन्छ । किनभने, यो प्रतियोगितामा रियल जत्तिको सफल अरू कुनै टिम छैन । उपाधि नै गन्दा पनि रियल सर्वाधिक १३ पटक जित्ने एक्लो टिम हो । धेरै उपाधि जित्ने दोस्रो टिमले मात्रै ७ पटक जितेको छ । रियलपछि दोस्रो धेरै जित्ने टिम इटालियन एसी मिलान हो । उसले कूल ७ पटक यो उपाधि जित्दा त्यसपछि जर्मन क्लब बार्यन म्युनिख र इंग्लिस क्लब लिभरपुलले समान ६–६ पटक जितेका छन् । स्पेनिस बार्सिलोना त यो सूचीको टप–४ मा पनि छैन । रियल मड्रिड एक मात्रै यस्तो टिम हो, जसले च्याम्पियनस लिगको इतिहासमै दुई–दुईपटक ह्याट्रिक गरेको छ । लगातार तीनपटक र लगातार पाँच पटकसम्म यो उपाधि जित्ने दुर्लभ रेकर्ड पनि रियलकै नाममा छ । पछिल्लोपटक रियलले सन् २०१६ देखि २०१८ को बीचमा ह्याट्रिक उपाधि जितेको थियो ।

यस्तो इतिहास भएको रियल सन् २०१८ पछि भने अन्तिम १६ भन्दा अघि बढ्न सकेन । दुई सिजन ऊ लगातार अन्तिम १६ बाटै आउट भयो । २०१८ मा लिभरपुललाई हराएर उपाधि जितेपछि २०१८–१९ मा रियललाई अन्तिम १६ मा डच क्लब आयाक्सले आउट गरायो भने सिजन २०१९–२० मा उसलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीले अन्तिम १६ बाटै आउट गरायो । तर, यसपटक रिययले फरक कथा सिर्जना गरेको छ । लगातार तीन सिजन उपाधि जितेपछि लगातार दुई सिजन अन्तिम १६ बाटै आउट भएपछि ऊ यसपटक ठीकठाक क्वार्टफाइनल प्रवेश गरेको छ । रियल २०१८ मा च्याम्पियन बनेयता पहिलोपटक क्वार्टरफाइनल पुगेको हो ।

गत राति अन्तिम १६ को दोस्रो लेगको खेलमा इटालियन एटलान्टालाई ३–१ तथा समग्रमा ४–१ ले हराउँदै रियल क्वार्टरफाइनल प्रवेश गरेको हो । रियलले यसपटक युरोपको एक आक्रामक टिम एटलान्टालाई हराएर उपाधितर्फ एक कदम अघि बढेपछि उसले यसपटक पनि उपाधि जित्नका लागि सही दिशा समातेको छ । क्रिस्टियानो रोनाल्डो र गोलकिपर केलर नाभासले क्लब छाडेपछि दुई सिजन संघर्ष गरेको रियल यो सिजन च्याम्पियन्स लिगमा राम्रो गरी अघि बढिरहेको छ । ऊ अन्तिम आठमा प्रवेश गरेपछि प्रशिक्षक जिनेदिन जिदानले यसलाई उपाधितर्फको एक सुन्दर कदम भनेर प्रतिक्रिया दिएका छन् ।

च्याम्पियन्स लिगमा रियलको विगत यस्तो छ कि– सन् २०१५ पछि ऊ जतिपटक क्वार्टरफाइनल प्रवेश गरेको छ, ती सबैपटक उसले उपाधि जितेको छ । सिजन २०१५–१६, सिजन २०१६–१७ र सिजन २०१७–१८ मा यी तीनवटै सिजन रियल अन्तिम १६ बाट अघि बढेपछि उपाधि जितेर छाडेको छ । त्यस दौरान उसले नकआउट चरणहरूमा जर्मन क्लब बार्यन म्युनिख, इटालियन युभेन्टस, इंग्लिस क्लब लिभरपुल, स्पेनकै एथ्लेटिको मड्रिडजस्ता बलिया टोलीहरूलाई हराएर उपाधि जितेको छ । पछिल्लोपटक उसले ह्याट्रिक गर्दा एथ्लेटिको मड्रिड, युभेन्टस र लिभरपुललाई फाइनलमा हराएर उपाधि जित्यो । के यसपालि रियलले च्याम्पियन्स लिगको रौनक स्पेनमा फर्काउन सक्छ ? प्रशिक्षक जिदानले यसलाई ‘आफूहरूको चाहना’ भनेर भनेका छन् ।

स्पेनकै अर्को बलियो टोली बार्सिलोना यसपटक अन्तिम १६ बाट लज्जास्पद हार भोग्दै आउट भइसकेको छ । उसलाई फ्रेन्च क्लब पिएसजीले समग्रमा ५–२ को नमिठो हार चखाउँदै लगातार छैटौंपटक आउट गारायो । सन् २०१५ मा यो उपाधि जितेपछि बार्सिलोना ६ वर्षको बीचमा कुनै पनि सिजन फाइनल पुगेको छैन । जबकि, सोही अवधिमा बार्सिलोनाको कट्टर प्रतिस्पर्धी रियलले सनसनीपूर्ण ह्याट्रिक नै गरेर देखायो । यसअघि दुई सिजन रियल लगातार अन्तिम १६ बाटै आउट हुँदा बार्सिलोना एकपटक क्वार्टरफाइनल र एकपटक सेमिफाइनल पुग्यो । तर, गत सिजन सेमिफाइनलमा उसलाई बार्यन म्युनिखले ८–२ को नमिठो चोट दियो भने त्यसअघि लिभरपुलले ४–० को दर्दनाक पीडा दिएको थियो ।

जारी सिजन च्याम्पियन्स लिगमा स्पेनका दुई टिम मात्रै बाँकी छन् । रियल अन्तिम आठमा पुगिसक्दा एथ्लेटिको मड्रिड यो समाचार बनाउँदासम्म अन्तिम १६ मै छ । उसले आजै (बुधबार) राति अन्तिम १६ को दोस्रो लेगको खेल इग्लिस क्लब चेल्सीसँग अवे मैदानमा खेल्दै छ । यसअघि पहिलो लेग आफ्नो घरमा ०–१ ले हारेको एथ्लेटिकोले आज चेल्सीको घरमा कमब्याक जित निकाल्न नसके ऊ प्रतियोगिताबाट आउट हुनेछ । र, त्यसपछि च्याम्पियन्स लिगमा स्पेनको एक मात्रै टिम रियल बाँकी रहनेछ । ‘अपेक्षा गरेकै नतिजा लिएर हामी क्वार्टरफाइनल प्रवेश गरेका छौं । यो टिमले अहिले जुन सोच र दृढता साथ खेलिरहेको छ, त्यो राम्रो छ,’ गत राति क्वार्टरफाइनल प्रवेश गरेपछि रियलका कोच जिदानले भने, ‘उपाधितर्फ अघि बढ्न यो एक सुन्दर कदम हो । हामी यसपटक स्पेनमा च्याम्पियन्स लिगको खुसी फर्काउन चाहन्छौं ।’

प्रकाशित मिति ४ चैत्र २०७७, बुधबार ११:१७
Loading...