क्वार्टरफाइनल प्रवेशका लागि आज चेल्सी र एथ्लेटिको भिड्दै : एथ्लेटिकोले गर्ला त कमब्याक ?

काठमाडौं, चैत ४

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा आज दुई खेलहरू हुँदैछन् । आज हुने एक खेलमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब एथ्लेटिको मड्रिडबीच हुनेछ । यो खेल चेल्सीको घरेलु मैदानमा हुनेछ । आजको दोस्रो खेलमा जर्मन क्लब बार्यन म्युनिख र इटालियन क्लब लाजियोबीच भिडन्त हुँदैछ । यो खेल बार्यनको घेलु मैदानमा हुनेछ । यी दुवै खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट एकसाथ सुरु हुनेछन् । यी खेलबाट २ टोली आउट हुनेछन् भने २ टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् । आज रातिका खेलपछि क्वार्टरफाइनल पुग्ने ८ वटै टोलीको टुंगो लाग्नेछ ।

यसअघि भएको पहिलो लेगको खेलमा बार्यनले लाजियोलाई उसकै घरेलु मैदानमा ४–१ ले हराएको छ । तसर्थ आज आफ्नो घरमा उत्रिँदा गत सिजनको च्याम्पियन समेत रहेको बार्यनमाथि कुनै दबाब हुनेछैन । आज घरमा उसलाई जित्नैपर्ने दबाब छैन । ऊ ०–३ ले हार्दासम्म पनि केही फरक पर्दैन । यो अन्तरमा हारे पनि खेल समग्रमा ४–४ हुन्छ । तर, बढी अवे गोलका आधारमा ऊ अघि बढ्नेछ । तर, लाजियोलाई भने आज बार्यनका घरमा कम्तीमा ०–४ को स्पष्ट जित नै चाहिन्छ । अन्यथा, लाजियो अन्तिम १६ बाटै आउट हुँदा बार्यन अर्को चरणमा जानेछ ।

आज हुने अर्काे खेलमाथि धेरैको नजर रहनेछ, जहाँ चेल्सी र एथ्लेटिको प्रतिस्पर्धा गर्दैछन् । यो खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रीजमा हुनेछ । आज आफ्नो घरमा उत्रिँदा चेल्सीलाई पहिलो अवे लेग जित्दाको फाइदा छ । यसअघि उसले एथ्लेटिकोलाई उसैको घरमा ०–१ ले हराएको थियो । सो खेलको स्पष्ट जित र १ अवे गोल चेल्सीका लागि आज निकै सहयोगी बन्न सक्छ । हाल ला लिगाको उपाधि होडमा मजबुतीका साथ लिग लिडर रहेको एथ्लेटिकोलाई आज रोक्न चेल्सीलाई सहज हुनेछैन ।

घरेलु मैदानमा चेल्सीले आज एथ्लेटिकोलाई ०–० कै गोलविहीन अवस्थामा रोक्न सके पनि अर्को चरण जान काफी हुन्छ । तर, एथ्लेटिकोले आज १–२ को जित निकाल्यो भने चेल्सी आउट हुनेछ । तसर्थ, लुइस स्वारेजको टिम एथ्लेटिको आज चेल्सीको घरमा उत्रिँदा नतिजा उल्ट्याउने लक्ष्यका साथ उत्रिनेछ । एथ्लेटिको आज सकेसम्म चाँडो गोल गरेर खेलमा पकड जमाउने रणनीतिसाथ खेल्नेछ । एथ्लेटिकोले आज कम्तीमा २ गोल गरेर खेल समग्रमा बरारी बनाए मात्रै पनि अर्को चरण जान काफी हुन्छ । दुवै आक्रामक शैलीका टोली भएकाले यो खेलमा दुवै टोलीको सम्भावना छ । तर, आज मजबुत डिफेन्स भएको एथ्लेटिकोले चेल्सीलाई सजिलै छाड्नेछैन ।

प्रकाशित मिति ४ चैत्र २०७७, बुधबार ०५:४४
Loading...