फराकिलो जितसहित सिटी च्याम्पियन्स लिगको क्वार्टफाइनलमा

काठमाडौं, चैत ४

इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा सिटीले जर्मन क्लब मोन्चेङ्लाडवाचमाथि २–० को जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान तय गरेको हो । नेपाली समयअनुसार बुधबार बिहान आफ्नो घरमा भएको खेलमा सिटीलाई जिताउन केभिन डे ब्रुयाने र इकाए गुन्डोगानले १–१ गोल गरे । पहिलो लेग पनि ०–२ ले जितेको सिटी क्लिन सिटसहित एग्रीगेटमा ४–० को फराकिलो जितका साथ अर्को चरण प्रवेश गर्न सफल भएको हो ।

पुस्कास एरिना रंगशालामा भएको खेलमा सिटीका लागि पहिलो गोल बेल्जियन प्ले मेकर डे ब्रुयानेले निकै शानदार गरेका थिए । खेलको १२औं मिनेटमा रियाद महारेजले बक्सबाहिर राम्रो पास दिएका थिए, मोन्चेङ्लाडवाचका कुनै पनि डिफेन्डर नरहेको अवस्थामा अनमार्क रहेका डे ब्रुयानेले बक्स बाहिरबाटै बुलेट सटमा बललाई शानदार ढंगले जाली चुमाएपछि खेलमा सिटीले अग्रता बनायो । डे ब्रुयानेको खतरनाक सट गोलकिपरले रोक्न कुनै मौका नै पाएनन् । १ गोल गर्नुका साथै खेलभरि उत्कृष्ट प्रदर्शन गरेका डे ब्रुयाने खेलको म्यान अफ् द म्याच समेत घोषित भएका थिए ।

त्यसपछि सिटीका लागि दोस्रो इकाए गुन्डोगानले खेलको १८औं मिनेटमा गरेका थिए । युवा खेलाडी फिल फोडेनले बक्स बाहिर दिएको छोटो पास गुन्डोगानले केही अगाडि लगेर बक्सभित्र पुराई गोलकिपरलाई चलाखीपूर्वक बिट गरेर हलुका प्रहारमै बललाई जाली चुमाएपछि खेलमा सिटीले दोब्बरले अग्रता बनायो । सिटीले १८ मिनेटमा २ गोल गरे पनि बाँकी समयमा दुवै तर्फबाट थप गोल नभएपछि खेल सिटीले २–० ले जित्यो । अघिल्लो लेगको समेत नतिजा जोड्दा सिटीले समग्रमा ४–० को फराकिलो जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गर्न सफल भयो ।

प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार २१:३०
Loading...