शानदार जितसहित रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टफाइनलमा

काठमाडौं, चैत ४

स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा इटालियन क्लब एटलान्टामाथि ३–१ को प्रभावशाली जित निकाल्दै १३औं पटकको च्याम्पियन रियल क्वार्टरफाइनल पुगेको हो । नेपाली समयअनुसार बुधबार बिहान रियलको घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा भएको खेलमा रियललाई जिताउन कप्तान सर्जियो रामोस, करिम बेन्जेमा र मार्को एसेन्सियोले १–१ गोल गरे । पहिलो लेगमा एटलान्टालाई उसकै घरमा ०–१ ले हराएको रियलले आफ्नो घरमा दोस्रो लेग ३–१ ले जितेपछि सगग्रमा ४–१ को प्रभावशाली जितका साथ क्वार्टरफाइनल प्रवेश गरेको हो ।

रियलले आफ्नो घरमा खेलको ३४औं मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो । सो गोल फ्रेन्च फरवार्ड करिम बेन्जेमाले निकै सुन्दर ढंगले गरेका थिए । उनको सो गोलमा क्रोएसियन प्ले मेकर लुका मोड्रिचले बक्समा क्रस पास पास मिलाएका थिए, जसमा बेन्जेमाले वान टचमै लो सटमा बललाई सोझै जाली चुमाइदिए । त्यसपछि रियलले दोस्रो गोल भने दोेस्रो हाफमा पेनाल्टीमार्फत् हानेको थियो ।

ब्राजिलियन युवा स्टार भिनिसियस जुनियर बल लिएर बक्सभित्र प्रवेश गर्दै गर्दा एटलान्टाका खेलाडीले उनीमाथि फउल गरेर लडाएपछि रेफ्रीले सोझै घरेलु टोलीलाई पेनाल्टीको मौका दिएका थिए, जसमा कप्तान रामोसले कुनै गल्ती नगरी गोल गरेर अग्रता बढाए । सो पेनाल्टी सिर्जना गर्नुअघि भिनिसियस एक सहज अवसरमा नमिठो गरी गोल गर्नबाट चुकेका थिए । बक्सभित्र एटलान्टाका ४ जना डिफेन्डरका बीचबाट उत्कृष्ट कला देखाउँदै बल छलाएर गोलकिपर नजिक पुगेका भिनिसियस फिनिसिङमा चुकेपछि उनका नाममा एक शानदार गोल दर्ज हुन पाएन । सो अवसरमा चुक्दा भिनिसियस निकै निराश बनेका थिए ।

रियलले खेल २–० बनाएको अवस्थामा ८३औं मिनेटमा पाहुना टोली एटलान्टाका लागि लुइस फुरिएल फ्रुटोले फ्रि किकमार्फत् दर्शनयि गोल गरे । लामो दूरीबाट उनले हानको खतरनाक फ्री किक रियलका गोलकिपर थिबाउट कार्टुवाले बचाउनै सकेनन् । र, खेल २–१ भयो । तर, गोल खाएको १ मिनेटपछि ८४औं मिनेटमा सब्सिच्युट खेलाडी एसेन्सियोले मैदान छिर्नासाथ गोल गरेपछि खेल रियलले रियलले दोस्रो लेग ३–१ तथा एग्रीगेटमा ४–१ ले जित्यो । एसेन्सियाको गोलमा लुकास भासक्वेजले असिस्ट दिएका थिए ।

प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार २१:३०
Loading...