एजेन्सी, चैत ३
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीका नाममा गत राति नयाँ इतिहास रचियो । ३४ वर्षका अर्जेन्टिनी फरवार्ड उनी अब बार्सिलोनाको इतिहासमै सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन्, पूर्वसहकर्मी जाभी हर्नान्डेजसँगै संयुक्त रूपमा । गत राति ला लिगामा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा २०औं स्थानको हुएस्कालाई ४–१ ले हराएको खेल मेस्सीका लागि कूल ७६७औं खेल थियो, जुन कीर्तिमानी हो । यसअघि बार्सिलोनामा सबैभन्दा धेरै खेल खेल्ने रेकर्ड पूर्वमिडफिल्डर तथा पूर्वकप्तान जाभीका नाममा थियो । उनले सन् १९९८ देखि २०१५ सम्म बार्सिलोनामा बिताउँदा कूल ७६७ खेल खेलेका थिए । गत राति मेस्सीले उनको रेकर्डसँग बराबरी गरे ।
सन् २०१५ मा बार्सिलोना छाडेका जाभीको एकल रेकर्ड बराबरी गरेपछि मेस्सी र उनी अब ताजा अवस्थामा समान ७६७ खेल खेल्ने खेलाडी बनेका छन् । तर, आगामी खेलबाट मेस्सीले जाभीलाई पछि छाड्दै सो रेकर्ड आफ्नो एकल नाममा लेखाउनेछन् । मेस्सीले सिजन २००४–०५ देखि हालसम्म आइपुग्दा १७ सिजन दौरान ७६७ खेल संख्या खेलेका हुन् । यस दौरान मेस्सीले बार्सिलोनाका लागि कूल ६६१ गोल र २९१ असिस्ट गरेका छन् । उनले हालसम्म कूल ३४ उपाधि जितेका छन्, जुन बार्सिलोना इतिहासमै सर्वाधिक हो ।
गत राति कीर्तिमानी खेलमा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै २ शानदार गोल र १ असिस्ट समेत गरेका थिए । सो खेलको म्यान् अफ द म्याच घोषित भएका उनले यो सिजनको कूल लिग गोल संख्या २१ पुगेको छ भने कूल असिस्ट संख्या ७ । मेस्सीकै प्रेरणमा बार्सिलोना ला लिगामा पछिल्ला १२ खेलमा लगातार नहारी अघि बढिरहेको छ । वर्ष २०२१ लागिकन युरोपका शीर्ष लिगमा अपराजित रहने बार्सिलोना एक मात्रै टिम हो । यस वर्ष उसले कूल १२ खेल खेल्दा ११ खेल जितेको छ भने मात्रै १ खेल बराबरी गरेको छ ।
मेस्सीको सम्मानमा सहकर्मी र पूर्वसहकर्मीले पठाए प्रेमिल सन्देश
मेस्सीले जाभीको ७६७ कीर्तिमानी खेलको रेकर्ड बराबरी गर्ने खेलका लागि बार्सिलोनाले विशेष तयारी गरेको थियो । उसले क्याम्प नोउ रंगशालामा जाभी र मेस्सीले अंकमाल गरेर सेलिब्रेसन गरिरहेको तस्बिर रंगशालामै कोरेको थियो भने तस्बिर पनि टाँगेको थियो । खेल चलिरहँदा पनि रंगशाला परिसरमा जाभी र मेस्सीको सेलिब्रेसन गर्दै गरेको पुरानो भिडियो प्ले गरियो । मेस्सीको खास र रेकर्ड खेलका लागि भनेर बार्सिलोनाले मेस्सीसँग विगतमा खेलेका र अहिले पनि सहकर्मी रहेका खेलाडीहरूको भिडियो सन्देश पनि प्रशारण गरेको थियो । विगतमा बार्सिलोनामा मेस्सीसँग सहकर्मी बनेर खेलेका विभिन्न खेलाडीले मेस्सीको कीर्तिमानी ७६७ खेल पुगेको अवसरमा मेस्सीको ब्रान्डेड सेलिब्रेसन कपी गर्दै उनको सम्मानमा सेलिब्रेसन भिडियो सन्देशका रूपमा पठाएका थिए ।
मेस्सीलाई रेकर्ड खेलका लागि बधाई दिनेमा जाभी स्वयं एक जना छन् भने हाल फ्रेन्च क्लब पिएसीमा रहोका नेइमार, हाल इटालियन रोमामा रहेका पेड्रो, लिजेन्ड खेलाडी कार्लेस पुयोल, अर्का लिजेन्ड डेको, लिजेन्डहरू आन्द्रेस इनिएस्टा, ब्राजिलियन रोनाल्डिन्हो, हालका सहकर्मी जेरार्ड पिके, फिलिपे कोउटिन्होलगायत खेलाडी छन् । गत समर सिजनमा बार्सिलोना छाडेर एथ्लेटिको मड्रिड पुगेका मेस्सीका खास साथी लुइस स्वारेजले पनि मेस्सीलाई सन्देश पठाएका छन् । बार्सिलोनाले सो भिडियो आफ्नो अफिसियल सामाजिक सन्जालहरूमार्फत् पनि सार्वजनिक गरेको छ । भिडियो तल हेरौं–
प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार १२:१०❝𝐎𝐧𝐞-𝐨𝐟-𝐚-𝐤𝐢𝐧𝐝.❞ ❝𝕊𝕡𝕖𝕔𝕥𝕒𝕔𝕦𝕝𝕒𝕣.❞ ❝𝑮𝒆𝒏𝒊𝒖𝒔.❞
❝Stellar.❞ ❝𝙇𝙞𝙠𝙚 𝙣𝙤 𝙤𝙩𝙝𝙚𝙧.❞ ❝𝙰𝚗 𝚘𝚞𝚝𝚕𝚒𝚎𝚛.❞
❝𝐏𝐮𝐫𝐞 𝐭𝐚𝐥𝐞𝐧𝐭.❞ ❝𝐿𝑒𝑔𝑒𝑛𝑑.❞ ❝𝗠𝗮𝗴𝗶𝗰.❞
❝𝗧𝗛𝗘 𝗕𝗘𝗦𝗧.❞ #Messi | #Messi767 | 🐐 pic.twitter.com/8hFnxfA6sA— FC Barcelona (@FCBarcelona) March 16, 2021