रोनाल्डो अब इतिहासकै ‘सर्वाधिक गोलकर्ता’ खेलाडी : सन्यास लिँदासम्म कति गोल गर्लान् ?

एजेन्सी, चैत ३

इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासमा सबैभन्दा धेरै अफिसियल गोल गर्ने खेलाडी बनेका छन् । आइतबार राति सिरी ए लिगमा क्याग्लिअरीविरुद्ध शानदार ह्याट्रिक गोल गर्दै रोनाल्डो विश्वकै नम्बर वान गोलकर्ता खेलाडी बनेका हुन् । सो खेलमा रोनाल्डोले एक पेनाल्टी गोलसहित ३ उत्कृष्ट गोल गरेका थिए । सो खेलमा गरेको ३ गोलसँगै रोनाल्डोले आफ्नो करिअर दौरान चार फरक–फरक क्लब र पोर्चुगलको राष्ट्रिय टोलीका लागि गरेको कूल अफिसियल गोल संख्या ७७० पुगेको छ ।

हाल ३६ वर्ष पुगेका रोनाल्डोले ब्राजिलका लिजेन्ड खेलाडी पेलेका नाममा रहेको ७६७ गोलको रेकर्ड भंग गर्दै आफू इतिहासकै सर्वाधिक गोलकर्ता बनेका हुन् । रोनाल्डोले आजसम्म सबै टिमका लागि खेलेका अफिसियल खेलमा गरेको कूल गोल संख्या ७७० पुगेको हो । क्याग्लिअरीवरुद्धको खेलपछि रोनाल्डो स्वयंले पनि सामाजिक सन्जालमार्फत् आफ्नो रेकर्डबारे बोलेका थिए । ब्राजिलका लिजेन्ड पेलेले आफ्नो रेकर्ड तोड्दै विश्वकै सर्वाधिक गोलकर्ता बनेकोमा रोनाल्डोलाई बधाई सन्देश दिएपछि यसको जवाफ फर्काउँदै रोनाल्डोले आफू विश्व फुटबलकै सर्वाधिक गोलकर्ताको सूचीमा उक्लिन पाउँदा खुसी लागेको बताए ।

रोनाल्डो स्वयंले पनि फुटबल इतिहासमा आधिकारिक खेलहरूमा आफूले गरेको ७७० गोल संख्यालाई विश्वकै सबैभन्दा धेरै गोलका रूपमा स्वीकार र दाबी गरेका छन् । यसअघि सो रेकर्ड पेलेका नाममा थियो । पेले स्वयंले पनि आफ्नो रेकर्ड तोड्ने रोनाल्डोलाई बधाई दिँदै रोनाल्डो अब फुटबल जगत्मा सबैभन्दा धेरै आधिकारिक गोल गर्ने खेलाडी हुन् भनेर स्वीकोका छन् । र, पेलेले रोनाल्डोलाई सार्वजनिक रूपमै बधाई दिँदै रोनाल्डोको उच्च प्रशंसा पनि गरेका छन् । रोनाल्डोले आफ्नो करिअर दौरान कूल १ हजार ५४ खेलबाट ७७० अफिसियल गोल गरेका हुन् ।

तर, रोनाल्डोको ७७० गोल नै विश्व फुटबलकै सबैभन्दा धेरै अफिसियल गोल संख्या रहेकोमा एकमत भने छैन । फुटबल इतिहासका केही दस्तावेज र तथ्यांकहरूले भने अस्ट्रिया तथा चेकोस्लाभकका लिजेन्ड जोसेफ बिकानलाई सर्वाधिक अफिसियल गोल र्ने खेलाडी मानेका छन् । उनका नाममा कूल ८०५ अफिसियल गोल रहेको केही तथ्यांकहरूमा उल्लेख छ । केही समयअघि चेकोस्लोभाकको फुटबल संघले पनि बिकानले आफ्नो करिअरमा ८०५ अफिसियल गोल गरेको दाबी गर्दै रोनाल्डोको कीर्तिमान अस्वीकार गरेको बताएको थियो । तर, धेरैजसो तथ्यांक, दस्तावेजहरूमा भने बिकानको गोल संख्या ७५९ मात्रै रहेको उल्लेख छ । यसअनुसार हेर्दा रोनाल्डोले बिकानको रेकर्ड दुई महिनाअघि नै तोडेका हुन् । तर, यदि बिकानको गोल संख्यालाई ८०५ नै मान्ने हो भने चाहिँ रोनाल्डोलाई अझै पनि विश्वकै सर्वाधिक गोलकर्ता थप ३५ गोल आवश्यक पर्छ ।

यो ८०५ गोल संख्यालाई नै स्वीकार्दा पनि रोनाल्डोले यो रेकर्ड पनि अर्को सिजनमा सजिलैसित तोड्ने पक्का छ । धेरैजसो तथ्यांकअनुसार विश्व फुटबलमा सर्वाधिक गोल संख्या पेलेका नाममा ७५७ र बिकानका नाममा ७५९ गोल गरेको उल्लेख छ । तर, पेले आफैंले पनि आफ्नो कूल गोल संख्या ७५७ नभई ७६७ रहेको दाबी गर्दै आएका थिए । तसर्थ पेलेले दाबी गरेकै संख्यालाई रोनाल्डोले यसपटक भंग गरेका हुन् । रोनाल्डोले बिकानको ७५७ गोल संख्या त करिब दुई महिनाअघि नै भंग गरेको भन्दै थुप्रै रिपोर्ट तथा तथ्यांक सार्वजनिक पनि भएका थिए । केही तथ्यांकहरूले पेलेका नाममा ७५७, बिकानका नाममा ७५९ र रोनाल्डोका नाममा ७७० कूल गोल पुगेको दाबी गरेका छन् । त्यसैगरी, फुटबलको तथ्यांक संकलन गर्ने केही संस्थाहरूले भने बिकानका नाममा ८०५, रोनाल्डोका नाममा ७७० र पेलेका नाममा ७६७ गोल गरेको दाबी गरेका छन् । यता, पोर्चुगलको फुटबल संघले पनि रोनाल्डो अब फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बनेको दाबी गर्दै रोनाल्डोलाई बधाई ज्ञापन गरेको छ ।

रोनाल्डोको ७७० गोलको रेकर्ड तल हेरौं:

स्पोर्टिङ लिस्वन – ५ गोल (३१ खेल)
म्यानचेस्टर युनाइटेड – ११८ गोल (२९२ खेल)
रियल मड्रिड – ४५० गोल (४३८ खेल)
युभेन्टस – ९५ गोल (१२२ खेल)
पोर्चुगल – १०२ गोल (१०७ खेल)

प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार ११:०८
Loading...