आफ्नो रेकर्ड तोडेपछि पेलेद्वारा रोनाल्डोलाई बधाई र प्रशंसा : रोनाल्डोले फर्काए मिठो जवाफ

एजेन्सी, चैत ३

इटालियन क्लब युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोले ब्राजिलका महान् खेलाडी पेलेका नाममा रहेको सर्वाधिक अफिसियल गोलको रेकर्ड भंग गरेका छन् । आइतबार राति राति सिरी ए लिग फुटबलमा क्याग्लिअरीविरुद्ध अवे मैदानमा शानदार ह्याट्रिक गोल गर्दै रोनाल्डाले पेलेका नाममा रहेको ७६७ अफिसियल कीर्तिमानी गोलको रेकर्ड तोडेका हुन् । रोनाल्डोले क्याग्अिलरीवरुद्ध मात्रै २२ मिनेटको बीचमा ३ गोल गरेका थिए । उनले खेलको १०औं, २५औं र ३२औं मिनेटमै ह्याट्रिक पूरा गरेका थिए । उनकै ३ गोलको मदतमा युभेन्टसले १–३ को जित पनि निकाल्यो ।

सो खेलको ३ गोलपछि रोनाल्डोले आफ्नो करिअर दौरान सबै क्लब र पोर्चुगलको राष्ट्रिय टोलीका लागि समेत गरी सबैखाले अफिसियल प्रतियोगितामा गरेको कूल गोल संख्या ७७० पुगेको छ । पेलेका नाममा कूल ७६७ अफिसियल गोलको तथ्यांक थियो । अब रोनाल्डो पेलेको सो रेकर्ड भंग गर्दै फुटबल इतिहासकै सर्वाधिक अफिसियल गोलकर्ता बनेका छन् । तर, केही तथ्यांक र दस्तावेजले भने अस्ट्रेलिया–चेकोस्लोभाकका जोसेफ बिकानलाई अझै पनि सर्वाधिक गोलकर्ता मान्छन् । उनको नाममा कूल ८०५ गोल रहेको दाबी केही तथ्यांकहरूले गर्दै आएका छन् । तर, धेरैजसो तथ्यांक तथा दस्तावेजले भने अहिले नै रोनाल्डोलाई कूल ७७० गोलसहित फुबटल इतिहासकै सर्वाधिक गोलकर्ता मानेका छन् ।

आइतबार राति रोनाल्डोले आफ्नो ७६७ गोलको कीर्तिमान तोडेपछि पेलेले केही मिनेटमै सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् रोनाल्डोलाई बधाई दिए । आफ्नो रेकर्ड तोडेकोमा उनले रोनाल्डोको तारिफ गर्दै रोनाल्डोको करिअर कति सुन्दर भइरहेको छ भनेर प्रशंसा समेत गरे । केही समयपछि रोनाल्डोले पनि सामाजिक सन्जालमार्फत् नै आफ्नो रेकर्डबारे बोले । र, पेलेलाई पनि निकै सम्मानपूर्वक प्रेमिल सन्देश पठाए । यसअघि नै रोनाल्डोले पेलेको रेकर्ड भंग गरिएको भनेर केही रिपोर्ट आए पनि पेले र रोनाल्डोले बल्ल रेकर्डबारे बोलेका हुन् । यद्यपि, यो रेकर्ड पनि विवादरहित भने छैन ।

केही तथ्यांकहरूले भने सर्वाधिक गोलका लागि पेलेका नाममा ७५७, बिकानमा नाममा ७५९ रहेको देखाउँछन् । यसअनुसार त रोनाल्डोले केही महिनाअघि नै यो रेकर्ड भंग गरेका हुन् । तर, पेले आफैंले भने आफ्नो गोल संख्या ७६७ दाबी गरेअनुसार रोनाल्डाले सो रेकर्ड भने अहिले तोडेको मानिएको छ । आइतबार राति ३ गोल गर्नुअघि रोनाल्डोे र पेलेका समान ७६७–७६७ गोल गरेको थियो । तर, अब रोनाल्डोले पेलेलाई स्पष्ट ३ गोलले पछि छाडेका छन् । यता, केही तथ्यांकहरूले पनि अझै पनि सबैभन्दा धेरै गोल गर्नेमा चाहिँ बिकानकै नाम दाबी गरेका छन् ।

सामाजिक सन्जालमार्फत् पेलेले रोनाल्डोलाई लेखेको निकै मार्मिक र स्नेही छ, जुन सन्देश यस्तो– ‘जीवन एक उडान हो । प्रत्येकले आफ्नै यात्रा गर्दछ । र, तपाईंको यात्रा क्या सुन्दर अनि रोमाञ्चक छ । म तपार्ईंको धेरै प्रशंसा गर्छु, मलाई तपाईंको खेल हेर्न मन पर्छ । र, यो कसैका लागि गोप्य कुरा होइन । आधाकारिक खेलहरूमा मेरो गोलको रेकर्ड तोडेकोमा म तपाईंलाई बधाई दिन्छु । मेरो एउटा मात्रै पश्चाता आज म तपाईंलाई अंकमाल गर्न सक्षम छैन । तर, म तपाईंको सम्मानमा यो फोटो ठूलो स्नेहसाथ राख्छु, धेरै वर्षदेखि अस्तित्वमा रहेको मित्रताको प्रतीकको रूपमा ।’

त्यसैगरी, पेलेले आफूलाई सम्झिँदै सार्वजनिक रूपमा बधाई दिँदै तारिफ गरेपछि रोनाल्डोले पनि पेलेलाई प्रतिउत्तर फर्काएका छन् । रोनाल्डोले फेसबुक र इन्स्टाग्राममार्फत् आफ्नो सन्देश दिएका पेलेलाई ठूलो सम्मान व्यक्त गरेका छन् । सन्देशमा रोनाल्डोले पेलेप्रति सम्मान दर्शाउँदै आफ्ना सहकर्मी, आलोचक–विरोधीहरू, घर–परिवार सबैलाई नयाँ कीर्तिमानको अवसरमा याद गरेका छन् । साथै, रोनाल्डोले युभेटन्स र पोर्चुगलका लागि अझै धेरै जित्न र प्राप्त गर्न बाँकी रहेको कुरा पनि उनले सन्देशमा लेखेका छन् । रोनाल्डोले लेखेको लामो सन्देशको मुख्य अंश यस्तो छ–

‘आज व्यावसायिक करिअरको म ७७० अफिसियल गोलको आँकडामा पुग्दा मेरा पहिला शब्दहरू सोझै महान् पेलेप्रति समर्पित हुन्छन् । विश्वमा कोही यस्तो खेलाडी छैन, जो आफ्नो खेल, उसको लक्ष्य र उसको उपलब्धिहरूको कथा सुनेर उठाइएको छैन । र, म अपवाद हुन्नँ । यस कारणले गर्दा म खुसी र गर्वले भरिएको छु । किनभने, म गोल गर्दछु जसले मलाई विश्वको उच्च गोलकर्ताको सूचीमा आज कायम गरेको छ । पेलेको रेकर्डलाई पार गर्दै गर्दा यस्तो चिज जुन मैले मेडेरियाबाट बच्चाको रूपमा हुर्किंदै गर्दा कहिल्यै पनि सोचेको थिइनँ ।’

रोनाल्डोले सन्देशमा अघि लेखेका छन्, ‘ती सबैलाई धन्यवाद जसले मेरो यो रोमाञ्चक यात्रामा साथ दिए । मेरो टिमका साथीहरू, मेरा विरोधीहरू, सुन्दर खेलका प्रशंसकहरू र सबैभन्दा माथि मेरो परिवार र नजिकका मित्रहरूलाई । मलाई विश्वास गर्नुहोस्, म अहिले पनि भन्छु कि तपाईंहरूबिना म यो सबै गर्न सक्दैनथें । अब म अर्को खेल र चुनौतीहरूका लागि आतुर छु । अरू रेकर्ड र ट्रर्फीहरूका लागि । मलाई विश्वास गर्नुहोस्, थाक्ने कुरा अहिलेसम्म पनि टाढा छ । भविष्य भोलि हो । अनि, युभेन्टस र पोर्चुगलका लागि अझै धेरै चिजहरू जित्न बाँकी छ । यस यात्रामा मसँगै सामेल हुनुहोस् । आउनुहोस् ।’

प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार ०६:४८
Loading...