युरोपियन टप–५ लिगमा अपराजित रहने बार्सिलोना एक मात्रै टिम !

काठमाडौं, चैत ३

युरोपियन टप–५ लिगमा जारी सिजन २०२०–२१ अन्तर्गत वर्ष २०२१ मा अराजित रहने एक मात्रै टिम बार्सिलोना बनेको छ । नयाँ वर्ष २०२१ सुरु भइकन बार्सिलोनाले घरेलु लिगा ला लिगामा आजसम्म एक खेल पनि हार्नु परेको छैन । जर्मन लिग बुन्डेसलिगा, इंग्लिस प्रिमियर लिग, फ्रेन्च लिग वान र इटालिन सिरी ए लिगमा यस वर्ष हरेक टिमले कम्तीमा एक खेल हारिसकेका छन् । तर, बार्सिलोना एक मात्रै यस्तो टिम हो, जसले २०२१ को साढे तीन महिना सकिँदा लिगमा १ खेल पनि हारेको छैन । बार्सिलोना अहिले निकै राम्रो लयमा खेलिरहेको छ ।

गत राति बार्सिलोनाले आफ्नो घरेलु मैदानमा ला लिगामा २०औं स्थानमा हुएस्कालाई ४–१ ले हराएपछि बार्सिलोनाको यस वर्षको अपराजित यात्रा लम्बिएको हो । यो वर्ष हालसम्म बार्सिलोनाले ला लिगामा कूल १२ खेल खेलिसक्दा ११ खेलमा स्पष्ट जित निकालेको छ भने एक खेल बराबरी गर्दा कुनै खेलमा पनि हारेको छैन । र, हालकै अवस्थामा युरोपका शीर्ष लिगमा बार्सिलोना मात्रै अपराजित सिंगल टिम हो । भलै, सिजनको सुरुआतबाटै कुरा गर्न हो भने बार्सिलोनाले यो सिनजन २७ खेल सकिँदासम्म ४ खेल हारिसकेको छ । तर, रोनाल्ड कोम्यानको कमान्डमा पछिल्लो समय लिगमा राम्रो गरिरहेको बार्सिलोनाले लगातार हारविहीन यात्रालाई कायम राख्दै उपाधि होडमा लिग लिडर एथ्लेकिो मड्रिडसँगको अंक दूरी घटाउँदै लगेको छ ।

ताजा अवस्थामा बार्सिलोना २७ खेलपछि कूल ५९ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । लिग लिडर एथ्लेटिकोले समान खेलबाट ६३ अंक जोडेको छ । बार्सिलोना अहिले समान खेलपछि एथ्लेटिको भन्दा मात्रै ४ अंकले पछि परेको छ । यता, बार्सिलोनाले गत रातिको जितसँगै रियल मड्रिडलाई भने स्पष्ट २ अंकले पछि छाडेको छ । एथ्लेटिको, बार्सिलोना र रियल सबैले २७ खेल खेलिसकेका छन् । लिगमा अब जम्मा ११ खेल बाँकी छन् । यी खेलमध्ये बार्सिलोना र रियल मड्रिडबीचको एक खेल बाँकी नै छ भने एथ्लेटिको मड्रिड र बार्सिलोनाको दोस्रो लेगको खेल पनि बाँकी नै छ । यी दुई खेलबाट उपाधि होडमा को अघि बढ्छ भन्ने कुराको मोटामोटी दृश्य देखिनेछ । हालकै अवस्थामा अंकगणितीय रूपमा यी ३ वटै टोलीका लागि उपाधि होड खुला छ ।

प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार ०५:३५
Loading...