पर्फेक्ट ह्याट्रिक : रोनाल्डोका नाममा कीर्तिमान, मेस्सीका नाममा जिरो !

काठमाडौं, चैत २

स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सी र इटालियन युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोबीच हरेक कुरामा कडा प्रतिस्पर्धा छ । प्रदर्शन, उपाधि संख्या, गोल संख्या, व्यक्तिगत रेकर्ड सबै कुरामा यी दुईबीच घमाशान प्रतिस्पर्धा दशकौंदेखि नै चल्दै आएको छ, जुन आजसम्म पनि जारी छ । आज रोनाल्डो र मेस्सीले करिअरमा गरेको ह्याटिकअन्तर्गत ‘पर्फेक्ट ह्याट्रिक’ अर्थात् पूर्ण ह्याट्रिकको विषयमा यहाँ चर्चा गरिएको छ । सिरी ए लिगमा गत राति युभेन्टसले अवे मैदानमा क्याग्लिअरीलाई १–३ ले हराउँदा रोनाल्डोले उत्कृष्ट ह्याट्रिक गोल गरेका थिए । उनको सो ह्याट्रिकपछि फुटबलको तथ्यांक संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था ‘ओप्टा’ ले एक तथ्यांक प्रकाशित गरेको छ ।

सो तथ्यांकले रोनाल्डो र मेस्सीले आफ्नो करिअरमा गरेका पूर्ण ह्याट्रिकको तुलना गरेको छ । जसअनुसार रोनाल्डो कीर्तिमानी अवस्थामा छन् । जबकि, मेस्सी भने शून्य अवस्थामा छन् । गत राति क्याग्अिरीविरुद्ध रोनाल्डोले खेलको दशौं, २५औं र ३२ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गेका थिए । उनले पहिलो गोल शानदार हेडिङमार्फत् गर्दा दोस्रो पेनाल्टी गोल दाहिने खुट्टा र तेस्रो गोल देब्रे खुट्टाले बुलेट सटमा गरेका थिए । उनले ३ वटै गोल निकै शानदार ढंगले गरेका थिए । पेनाल्टी प्रहार पनि रोनाडोले यति शक्तिशाली हानेका थिए कि, उनको बल गोलकिपरले रोक्ने कुनै चान्स नै थिएन ।

फुटबलको भाषामा तीन फरक–फरक तरिकाले ३ गोल गर्नुलाई ‘पर्फेक्ट ह्याट्रिक’ भन्ने चलन छ । जस्तो कि– एक हेडिङ, एक देब्रे खुट्टा र अर्को दाहिने खुट्टा । पेनाल्टी गोल दाहिने खुट्टाले हानेको भए त्यसलाई पनि यसैभित्र गणना गरिन्छ । यी तीन फरक–फरक तरिकाले ३ गोल कसैले एकै खेलमा गर्छ भने त्यसलाई पर्फेक्ट ह्याट्रिक भन्ने गरिन्छ । फुटबल इतिहासमा यस्ता ह्याट्रिक धेरैले गरेका छन् । गत राति रोनाल्डोले हेडिङ, दायिने खुट्टाले पेनाल्टी र देब्रे खुट्टाले गोल गरेकाले त्यसलाई पनि पर्फेक्ट ह्याट्रिक भनियो । यस्ता ह्याट्रिक यो समयका खेलाडीहरू मध्ये रोनाल्डोसँगै फ्रेन्च क्लब पिएसजीका नेइमार, जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की, इंग्लिस क्लब टोटनह्यामका ह्यारी केनलगायत खेलाडीले धेरै गरेका छन् ।

‘ओप्टा’का अनुसार युभेन्टसका रोनाल्डोले आफ्नो करिअरमा आजसम्म ९ पटक पर्फेक्ट ह्याट्रिक गरेका छन्, यो फुटबल इतिहासकै सबैभन्दा धेरै अर्थात् कीर्तिमानी पर्फेक्ट ह्याट्रिक संख्या हो । उनले आफ्नो करिअरमा गरेका कूल ५७ ह्याट्रिकमध्ये ९ ह्याट्रिक भने पर्फेक्ट ह्याट्रिक छन् । तर, यस्ता ह्याट्रिक बार्सिलोना तथा अर्जेन्टिनका लिओनल मेस्सीका नाममा भने एउटा पनि छैन । भलै, मेस्सी रोनाल्डोपछि सर्वाधिक ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् । उनले आजसम्म कूल ५४ ह्याट्रिक गरिसकेका छन् । तर, मेस्सीका नाममा यीमध्ये कुनै पनि पर्फेक्ट ह्याट्रिक नभएको ‘ओप्टा’ले आफ्नो ताजा तथ्यांकमा उल्लेख गरेको छ ।

मेस्सीले करिअरमा आजसम्म गरेको ५४ ह्याट्रिक कीर्तिमानी नै हो । उनले गरेका कतिपय ह्याट्रिक यहाँ प्रस्तुत प्रसंगबाहेक फरक प्रसंगमा कीर्तिमानी र निकै चर्चित पनि छन् । तर, खास गरी पर्फेक्ट ह्याट्रिकै प्रसंगमा भने आजसम्म मेस्सीले एक ह्याट्रिक पनि दर्ता गराउन सकेका छैनन् । मेस्सीले ५४ पटक एकै खेलमा ३ गोल गर्दा पटक–पटक तीन फरक–फरक तरिकाले गोल त गरेका छन् तर हेडिङ गोलसहितको ह्याट्रिक भने आजसम्म गर्न सकेका छैनन् । मेस्सी लेफ्ट फुटेड खेलाडी भएकाले उनका धेरै ह्याट्रिकमा लेफ्ट फुटका धेरै गोल सामेल छन् । उनका कतिपय चर्चित ह्याट्रिकमा दुई फ्रि किक गोल पनि छन् । यता, रोनाल्डोका पनि केही ह्याट्रिकमा दुई फ्रि किक र दुई हेडिङ गोल पनि छन् ।

यहाँ प्रस्तुत विषयमा रोनाल्डोले पर्फेक्ट ह्याट्रिक जतिपटक गरेका छन्, त्यसको तुलनामा त मेस्सीको नाम पनि सूचीमा आउँदैन । तर, पेनाल्टी गोलबिनाको ह्याट्रिक संख्याको कुरा गर्दा भने मेस्सी धेरै अघि छन् । पेनाल्टीबिनाको ह्याट्रिकको प्रसंगमा भने रोनाल्डोभन्दा मेस्सी ज्यादा सफल र खतरनाक रहेको तथ्यांकले नै देखाउँछ । यदि पेनाल्टी गोल मिसिएको ह्याट्रिकलाई छाडेर पेनाल्टीबाहेक गोलको मात्रै ह्याट्रिकको तथ्यांक केलाउने हो भने त मेस्सी रोनाल्डोभन्दा झन्डै दोब्बरले नै अघि देखिन्छन् ।

प्रकाशित मिति २ चैत्र २०७७, सोमबार ०६:४५
Loading...