रोनाल्डोले तोडे पेलेको दुर्लभ कीर्तिमान : पेलेले दिए बधाई

काठमाडौं, चैत २

इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ब्राजिलियन महान् खेलाडी पेलेको रेकर्ड तोडेका छन् । इटालियन सिरी ए लिगअन्तर्गत गत राति युभेन्टसले अवे मैदानमा क्याग्लिअरीलाई १–३ ले हराउँदा रोनाल्डो खेलको ३२औं मिनेटभित्रै उत्कृष्ट ह्याट्रिक गोल गरेका थिए । उनले खेलको १०औं मिनेटमा हेडिङमार्फत् पहिलो गोल गर्दा २५औं मिनेटमा पेनाल्टीमार्फत् दोस्रो गोल गरे भने ३२औं मिनेटमा देब्रे खुट्टाले बुलेट सटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । यी ३ गोलको मदतमा रोनाल्डो कूल २३ गोलसहित सिरी ए लिगको एकल सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

यता, गत रातिको गोलसँगै रोनाल्डोले आफ्नो करिअर दौरान अफिसियल खेलहरूमा गरेको कूल गोल संख्या ७७० पुगेको छ । पेलेले आफ्नो करिअरमा बनाएको ७६७ अफिसियल गोलको रेकर्ड रोनाल्डोले गत राति भंग गरे । पेलेले आफ्नो करिअर दौरान कूल ७६७ अफिसियल गोल गरेको मानिँदै आएको छ । केही तथ्यांकअुनसार पेलेको कूल गोल ७६७ नभएर ७६५ भएको र सो रेकर्ड रोनाल्डोले यसअघि नै तोडेको बताइएको थियो । तर, पेले आफैंले भने आफ्नो कूल अफिसियल गोल संख्या ७६७ रहेको र अब रोनाल्डोले सो रेकर्ड भंग गरेको पेले आफैंले स्वीकार गरेका छन् ।

पेलेले आफ्नो नाममा रहेको ७६७ गोलको रेकर्ड रोनाल्डोले भंग गरेपछि सामाजिक सन्जाल इन्स्टाग्रामर्फत् तत्कालै सन्देश दिँदै रोनाल्डोलाई बधाई दिएका छन् । र, उनको उच्च प्रशंसा पनि गरेका छन् । खेल सकिएको १० मिनेटमै पेलेले रोनाल्डोलाई बधाई ज्ञापन गरेका थिए । हाल ३६ वर्षका पुगेका रोनाल्डोले सुरुको क्लब स्पोर्टिङ लिस्बनका लागि ५ गोल गर्दा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि कूल ११८ गोल गरेका थिए । स्पेनिस रियल मड्रिडका लागि ४५० गोल गरेका उनले युभेन्टसका लागि तेस्रो सिजन बिताइरहँदा ९५ गोल गरिसकेका छन् । यता, पोर्चुगलको राट्रिय टोलीका लागि उनले हालसम्म कूल १०२ गोल गरिसकेका छन् ।

यद्यपि, सर्वाधिक गोल कसका नाममा भन्ने विषयमा अझै पनि विवाद नै हुँदै आएको छ । फुटबलसबन्धी तथ्यांक संकलन गर्ने ‘सोकर फाउन्डेसन’का अनुसार फुटबल इतिहासका सर्वाधिक गोलकर्ता जोसेफ बिकन हुन् । उनले आफ्नो करिअर दौरान कूल ५३० खेलबाट ८०५ गोल गरेको उलेख छ । तर, धेरैजसो दस्तावेज र तथ्यांकले भने बिकानको कूल गोल ७५९ मात्रै रहेको बताउँछन् । त्यसपछि ब्राजिलका लिजेन्ड पेलेको ७५७ र ब्राजिलकै रोमारियोको ७४५ गोल रहेको छ । यसरी हेर्दा रोनाल्डो अहिले ७७० गोलसहित फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् । तर, यो विवादरहित भने छैन ।

जबकि, ब्राजिलका पेले आफैंले आफ्नो कूल गोल संख्या ७५७ नभई ७६७ रहेको दाबी गर्दै रोनाल्डोले सो संख्या नघाएपछि मात्रै उनलाई बधाई दिए । यसअघि रोनाल्डोले पेलेका नाममा रहेको ७५७ र बिकानका नाममा रहेको ७५९ गोलको रेकर्ड तोडेपछि नै धेरैले बधाई दिएका थिए । तर, पेलेले आफ्नो गोल संख्या ७५७ नभई ७६७ दाबी गरेका छन् । यसअघि रोनाल्डोले आफ्नो कीर्तिमानबारे केही बोलेका थिएनन् । तर, यसपटक पेले बोलेपछि रोनाल्डोले पनि सार्वजनिक रूपमा आफूले पेलेको रेकर्ड भंग गरेको कुरा बताएका छन् ।

प्रकाशित मिति २ चैत्र २०७७, सोमबार ०४:५३
Loading...