पिएसजीको कठिनाइ बढ्दै : १९औं स्थानको टिमसँग आफ्नै घरमा पराजित

काठमाडौं, चैत २

फ्रेन्च लिग वान फुटबलमा साबिक विजेता पिएसजीको कठिनाइ थप बढेको छ । गत राति भएको लिगको २९औं साताको खेलमा पिएसजी १९औं स्थानको पाहुना टोली नान्टेससँग आफ्नै घरेलु मैदानमा १–२ ले स्तब्ध बन्यो । यो हारसँगै पिएसजीलाई उपाधि होडमा अर्को झट्का लागेको छ । नान्टेससँगको हार पिएसजीका लागि यो सिजनको सातौं हार हो । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनालाई समग्रमा ५–२ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेपछिको लगत्तै अर्को खेलमा पिएसजी लिगमा पराजित हुन पुग्यो । यो सिजन घरेलु लिगमा पिएसजी लगातार संघर्ष नै गरिरहेको छ ।

पिएसजीको घरमा पाहुना टोली नान्टेसले पहिला गोल खाए पनि दोस्रो हाफमा उत्कृष्ट कमब्याक गरेर खेल जित्न सफल भयो । खेलको ४२औं मिनेटमा पिएसजीका लागि जुलियन ड्राग्स्लरले गोल गरेर १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा पिएसजीले आफ्नो पोस्ट बचाउन सकेन । खेलको ५९औं मिनेटमा नान्टेसका लागि रानडाल कोलोले गोल गरेर खेल १–१ बनाए । त्यसपछि खेलको ७१औं मिनेटमा मोसेज सिमोनले गोल गरेपछि नान्टेसले १–२ को अग्रता बनायो । त्यसपछि बाँकी समयमा पिएसजी खेलमा फर्किन सकेन । र, खेल नान्टेसले १–२ ले जित्यो ।

प्रमुख फरवार्ड केलियन एमबाप्पे, एन्जल डि मारियासहितको टिम आफ्नै घरमा पराजित भएपछि पिएसजी अब लिग लिडर लिलेभन्दा ३ अंकले पछि परेको छ । पिएसजीको खातामा २९ खेलपछि ६० अंक भएको छ । उसले पछिल्ला ५ मध्ये २ खेल हारेको छ । लिग लिडर लिलेको खातामा २९ खेलपछि ६३ अंक रहेको छ । लियोन पनि ६० अंकसहित तेस्रो स्थानमा छ । पिएसजीलाई हराउने नान्टेस २७ अंक बनाएर १८औं स्थानमा चढेको छ ।

प्रकाशित मिति २ चैत्र २०७७, सोमबार ०४:०८
Loading...