दोस्रो स्थानको एसी मिलान नापोलीसँग पराजित : युभेन्टसलाई फाइदा

काठमाडौं, चैत २

इटालियन सिरी ए लिगको उपाधि होडमा रहेको दोस्रो स्थानको टिम एसी मिलान पराजित भएको छ । गत राति भएको लिगको २७औं साताको खेलमा मिलानलाई पाहुना टोली नापोलीले उसकै घरेलु मैदानमा ०–१ गोलअन्तरले स्तब्ध बनायो । आफ्नो घरमा ९२औं मिनेटमा १० खेलाडीमा सीमित भएको मिलानले खेलमा पकड जमाए पनि गोल गर्न नसक्दा घरमै पराजय भोग्नु परेको हो । उसको यो हारले अब तेस्रो स्थानको युभेन्टसलाई दोस्रो स्थानमा उक्लिन बाटो खुला भएको छ । मिलान केही साताअघिसम्म लिग लिडर थियो । ऊ स्पष्ट रूपमा उपाधि दौडमा लिड गरिरहेको थियो ।

तर, पछिल्लो समय उसले लगातार अंक गुमाउँदा अहिले शीर्ष स्थानमा इन्टर मिलान सुविधाजनक अग्रता बनाएर बसेको छ । सान सिरोमा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । तर, खेलको ४९औं मिनेटमा नापोलीका माटेओ पोलिटानोले गोल गरेर मिलानलाई ०–१ ले पछाडि पारे । सो गोलपछि घरेलु टोली मिलान खेलमा फर्किन सकेन । र, खेल नापोलीले ०–१ ले जित्यो । खेलको इन्जुरी समयमा मिलानका फरवार्ड एन्टे रेबिचले सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए । रेफ्रीमाथि खराब व्यवहार देखाएपछि उनलाई सोझै रातो कार्ड दिइएको थियो ।

अब यो जितपछि नापोलीले २६ खेलबाट ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । यता, पराजित मिलान २७ खेलपछि ५६ अंकहित दोस्रो स्थानमा यथावत छ । उसको हारको फाइदा अब युभेन्टसले लिने भएको छ । यो हारपछि युभेन्टससँग मिलानको अंक दूरी मात्रै १ मा सीमित भएको छ । त्यसमा युभेन्टसले अझै एक खेल खेल्नै बाँकी छ । बाँकी खेलमा युभेन्टसले नापोलीलाई हराउन सके युभेन्टस एसी मिलानलाई २ अंकले पछि पार्दै दोस्रो स्थानमा चढ्नेछ । तर, नापोलीलाई हराए पनि युभेन्टस लिग लिडर इन्टर मिलानभन्दा चाहिँ ७ अंकले पछि नै रहनेछ । अहिले युभेन्टस इन्टरभन्दा ठीक १० अंकले पछि छ ।

प्रकाशित मिति २ चैत्र २०७७, सोमबार ०१:५६
Loading...