युभेन्टसको जितमा रोनाल्डोको शानदार ह्याट्रिक

काठमाडौं, चैत २

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै आउट भएपछिको पहिलो खेलमा इटालियन क्लब युभेन्टसले प्रभावशाली जित निकालेको छ । आइतबार राति सिरी ए लिग फुटबलमा भएको खेलमा युभेन्टसले १७औं स्थानको क्याग्लिअरीलाई उसैको घरेलु मैदानमा १–३ अन्तरले हराउन सफल भयो । अवे मैदानमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले शानदार ह्याट्रिक गरे । च्याम्पियन्स लिगबाट युभेन्टस आउट भएपछि चर्को आलोचना खेपेका रोनाल्डोले त्यसपछिको खेलमा लगत्तै ह्याट्रिक गोल गरेका हुन् । ३६ वर्षका रोनाल्डोले मात्रै ३२ मिनेटको बीचमा आफ्नो ह्याट्रिक पूरा गर्दा उनले हेडिङ, पेनाल्टी र देब्रे खुट्टाले गोल गरेका थिए ।

रोनाल्डोले खेलको नवौं मिनेटमै पहिलो गोलका रूपमा हेडिङमार्फत् बुलेट गोल गरेका थिए । बक्स भित्रबाट उनले हानेको बुलेट फ्री हेडरले सोझै जाली चुमेको थियो । सो गोलमा जुआन काउडराडोले पास दिएका थिए । त्यसछि २५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत् दोस्रो गोल गरे । बक्समा रोनाल्डोमाथि क्याग्लिअरीका खेलाडीले फउल गरेपछि युभेन्टसलाई रेफ्रीले सोझै पेनाल्टी दिएका थिए, जसमा रोनाल्डोले कडा सटमा गोल गरे । त्यसपछि खेलको ३२औं मिनेटमा रोनाल्डोले देब्रे खुट्टाले अर्को बुलेट सटमा दर्शनीय गोल गरेर टिमलाई ०–३ को अग्रता दिलाए । फेडरिको किइजाले मैदानको तल्लो भागबाट लङ रेन्जमा बक्सको माथिल्लो भागमा दिएको पासमा रोनाल्डोले देब्रे खुट्टाले हानेको कडा प्रहारले शानदार ढंगले जाली चुमेको थियो ।

आज गरेको यी ३ गोलसँगै रोनाल्डोले सिरी ए लिगमा यो सिजन गरेको गोल संख्या पनि २३ पुगेको छ । उनी अहिले लिगको एकल सर्वाधिक गोलकर्ता हुन् । उनले २३ खेलबाट २३ नै गोल र ५ असिस्ट गरेका छन् । उनीपछि इन्टर मिलानका रोमेलु लुकाकु १९ गोलसहित दोस्रो स्थानमा रहेका छन् । पहिलो हाफमा ३ गोल गरेको युभेन्टसले दोस्रो हाफमा गोल गर्न सकेन । बरु, खेलको ६१औं मिनेटमा क्याग्लिअरीका जिओभानी सिमोनीले गोल गरेपछि युभेन्टसको जित १–३ मा खुम्चिन पुग्यो ।

अब यो जितपछि युभेन्टसले लिगका २६ खेलबाट कूल ५५ अंक बनाएको छ । ऊ दोस्रो स्थानमा छ । ऊ अझै पनि लिग लिडर इन्टर मिलानभन्दा ठीक १० अंकले पछि नै छ । तर, युभेन्टसले इन्टर मिलानको भन्दा १ खेल कम खेलेको छ । युभेन्टसले अब दोस्रो स्थानको एसी मिलानसँगको अग्रता १ मा छोट्याएको छ । तर, आज (आइतबार) राति नै एसी मिलानले आफ्नो २७औं खेल नापोलीसँग खेल्नेछ । सो खेलपछि हालको अंक तालिका परिवर्तन हुन सक्नेछ । यदि नापोलीले मिलानलाई हराएर त्यसको फाइदा युभेन्टसलाई पुग्नेछ ।

प्रकाशित मिति १ चैत्र २०७७, आईतवार १८:३९
Loading...