क्याग्लिअरीविरुद्ध पहिलो हाफमै रोनाल्डोले हाने शानदार ह्याट्रिक

काठमाडौं, चैत १

इटालियन सिरी ए लिग फुटबलमा अहिले युभेन्टस र क्याग्लिअरीको खेल जारी छ । क्याग्लिअरीको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा पाहुना टोली युभेन्टसले ०–३ को अग्रता लिँदा क्रिस्टियानो रोनाल्डोले शानदार ह्याट्रिक गरेका छन् । मात्रै ३२ मिनेटको बीचमा रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरेका हुन् । च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट भएपछि चर्को आलोचना खेपेका रोनाल्डोले त्यसलगत्तैको खेलमा उच्च प्रदर्शन गर्दै शानदार कमब्याक गर्न सफल भएका छन् ।

रोनाल्डोले खेलको नवौं मिनेटमै हेडिङमार्फत् बुलेट गोल गरेका थिए । बक्स भित्रबाट उनले हानेको बुलेट फ्री हेडरले जाली चुमेको थियो । त्यसछि २५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत् दोस्रो गोल गरे । बक्समा रोनाल्डोमाथि क्याग्लिअरीका खेलाडीले फउल गरेपछि युभेन्टसलाई रेफ्रीले सोझै पेनाल्टी दिएका थिए, जसमा रोनाल्डोले कडा सटमा गोल गरे । त्यसपछि खेलको ३२औं मिनेटमा रोनाल्डोले देब्रे खुट्टाले अर्को बुलेट सटमा दर्शनीय गोल गरेर टिमलाई ०–३ को अग्रता दिलाए । यी ३ गोलसँगै रोनाल्डोले सिरी ए लिगमा यो सिजन गरेको गोल संख्या पनि २३ पुगेको छ ।

प्रकाशित मिति १ चैत्र २०७७, आईतवार १७:३५
Loading...